पार्टी एकता र १५ औं महाधिवेशनका लागि शेखर कोइरालाको पाँचबुँदे प्रस्ताव शतप्रतिशत स्वीकार : सभापति थापा

बिहीबार, असोज १, २०८३

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले गत वर्षको घटना र असहज परिस्थितिबाट गुज्रिएर पार्टीलाई पुनः लयमा फर्काउन र बलियो बनाउन निरन्तर प्रयास भइरहेको बताएका छन् ।  बिहीबार बसेको पार्टीको केन्द्रीय कार्यसमितिको बैठकलाई सम्बोधन गर्दै सभापति थापाले १४ औं महाधिवेशन र विशेष महाधिवेशनबाट आएका नेता तथा सदस्यहरूलाई समेटेर पार्टीलाई एकीकृत रूपमा अगाडि बढाइएको बताए । बैठकको सुरुमा उनले भदौ २८ गतेको कार्यसम्पादन समितिको निर्णयअनुसार पहिलोपटक बैठकमा सहभागी भएका केन्द्रीय सदस्यहरूलाई स्वागतसमेत गरे ।  गएको साल भदौ २३ र २४ गतेका अकल्पनीय घटनाहरूको स्मरण गर्दै सभापति थापाले त्यसले मुलुक र पार्टीको राजनीतिक जीवनमा गहिरो प्रभाव पारेको उल्लेख गरे । ‘नेपालको जननिर्वाचित सरकार पदच्युत भयो, संसद् भवन ध्वस्त भयो र हाम्रो पार्टी कार्यालयसहित नेताहरूको भौतिक शरीरमाथि नै आक्रमण भयो,’ उनले भने, ‘इतिहासमै पहिलोपटक बहालवाला प्रधानमन्त्रीले यसरी सरकार छाड्नुपर्ने स्थिति बन्यो । यो घटनाले पुराना राजनीतिक दलहरूको कार्यशैलीमाथि ठूलो प्रश्न उठाएको छ ।’ निर्वाचनमा पार्टीले प्राप्त गरेको परिणाम अपेक्षाअनुसार नभए पनि कांग्रेसलाई समाप्त हुनबाट बचाउन र ‘भुइँभन्दा मुनिबाट’ यात्रा प्रारम्भ गरेर खरानीबाट पार्टीलाई उठाउने प्रयास भइरहेको उनको भनाइ थियो । कम्युनिष्ट पार्टीलगायत अन्य दलहरू पनि ठूलो मतबाट घटेर खुम्चिएको वर्तमान राजनीतिक यथार्थ औंल्याउँदै उनले पार्टीभित्रको असहमतिको कुरालाई स्वाभाविक रूपमा लिनुपर्ने बताए । नेता डा. शेखर कोइराला र कार्यवाहक सभापति पूर्णबहादुर खडासँग भएको संवादको प्रसंग कोट्याउँदै सभापति थापाले भने, ‘पार्टीभित्र बृहत्तर एकता निर्माण गर्न र आगामी १५ औं महाधिवेशनलाई व्यवस्थित बनाउन हामी गम्भीर छौं । डा. शेखर कोइरालाले अगाडि सार्नुभएको उच्चस्तरीय संयन्त्र बनाउने, छानबिन तथा निर्वाचन समितिमा सबै पक्षलाई समाविष्ट गर्ने र क्रियाशील सदस्यता अद्यावधिक गर्नेलगायतका प्रस्तावलाई पार्टीको हितमा शतप्रतिशत स्वीकार गरिसकेका छौं ।’ पार्टीभित्र देखिएका वैचारिक भिन्नता र चुनौतीलाई चिर्दै कांग्रेसलाई एकताबद्ध रूपमा अगाडि बढाउन र राष्ट्रको मुद्धामा स्पष्ट दृष्टिकोणसहित उभिन सबै नेता तथा कार्यकर्ताहरू जिम्मेवार बन्नुपर्नेमा उनले जोड दिए ।

प्रकाशित मिति: बिहीबार, असोज १, २०८३  २०:४३
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार