समृद्धिको एजेन्डा अघि सार्दै नेपालको विकासमा सहकार्य गर्न रविको आह्वान

बिहीबार, जेठ २१, २०८३

काठमाडौं । भारतको औपचारिक भ्रमणमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले आफ्नो भ्रमण राजनीतिक उद्देश्यभन्दा पनि नेपालको आर्थिक विकास र समृद्धि प्रवर्द्धनमा केन्द्रित रहेको स्पष्ट पारेका छन् । नयाँ दिल्लीमा प्रवासी नेपाली सम्पर्क मञ्च भारतले आयोजना गरेको विशेष कार्यक्रममा सम्बोधन गर्दै उनले नेपाललाई सम्मानित राष्ट्रका रूपमा मात्र नभई समृद्ध मुलुकका रूपमा स्थापित गर्ने लक्ष्य आफ्नो प्राथमिकता भएको बताए ।  उनका अनुसार यस पटकको भारत भ्रमण समृद्ध नेपालको अवधारणालाई अघि बढाउने उद्देश्यसहित केन्द्रित छ । लामिछानेले विगतमा भारतमा धेरै नेताहरूले राजनीतिक सहकार्यका ढोका खोल्ने प्रयास गरेको प्रसंग उल्लेख गर्दै आफू भने आर्थिक रूपान्तरण र विकासको नयाँ अवसरको खोजीका लागि आएको दाबी गरे। उनले नेपाल–भारतबीच सहकार्य विस्तार गर्न कूटनीतिक माध्यमहरू सक्रिय बनाइँदै लगिएको पनि बताए । उनले आफ्नो भारत भ्रमण कुनै व्यक्तिगत वा दलगत मागसँग सम्बन्धित नभई पूर्ण रूपमा नेपाली नागरिकको हितमा केन्द्रित रहेको उल्लेख गरे। भारतका राजनीतिक दलका निमन्त्रणामा प्राप्त सम्मानलाई व्यक्तिगत नभई सम्पूर्ण प्रवासी नेपालीको सम्मानका रूपमा लिएको उनको भनाइ थियो । नेपालले रोजगारी, शिक्षा र स्वास्थ्य क्षेत्रमा आत्मनिर्भर बन्नुपर्ने आवश्यकता औँल्याउँदै उनले देशभित्रै अवसर सिर्जना गरी नागरिकलाई स्वदेश फर्कने वातावरण निर्माण गर्नुपर्नेमा जोड दिए । लामिछानेले रास्वपाले परम्परागत राजनीतिक भागबन्डाको अभ्यास अन्त्य गर्ने लक्ष्य लिएको उल्लेख गर्दै मुलुकको भविष्य बदल्ने अभियानमा लागिरहेको बताए । उनले प्रवासी नेपालीहरूलाई आफ्नो सीप र पुँजी स्वदेशको विकासमा लगानी गर्न आग्रहसमेत गरे । कार्यक्रममा एभरेस्ट चेम्बर अफ कमर्सका प्रतिनिधिहरूले प्रवासी नेपालीका समस्या तथा सरोकार समेटिएको ज्ञापन पत्र सभापति लामिछानेलाई बुझाएका थिए । दिल्ली कार्यक्रमपछि उनी अयोध्या भ्रमणका लागि प्रस्थान गरेका छन् । 

प्रकाशित मिति: बिहीबार, जेठ २१, २०८३  २०:१६
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार