देशभरका अतिक्रमित जग्गा खाली गर्दै सरकार 

सुरक्षा प्रबन्ध मिलाउन ७७ जिल्लाका प्रजिअलाई गृहको निर्देशन
बिहीबार, वैशाख १७, २०८३

काठमाडौं । गृह मन्त्रालयले देशभरका अतिक्रमित सरकारी तथा सार्वजनिक जग्गा खाली गराउने प्रक्रिया अघि बढाउँदै ७७ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारी (प्रजिअ) सँग विस्तृत कार्ययोजना माग गरेको छ । मन्त्रालयले बुधबार परिपत्र जारी गर्दै जिल्लाभित्र रहेका अतिक्रमित सरकारी, सार्वजनिक, गुठी तथा ऐलानी जग्गाको पहिचान गरी सम्बन्धित निकायसँग समन्वयमा हटाउने योजना तयार पारेर मन्त्रालयमा पठाउन निर्देशन दिएको हो । गृह प्रवक्ता आनन्द काफ्लेले परिपत्रमार्फत उक्त विवरण माग गरिएको जानकारी दिएका छन् ।
सचिवस्तरीय निर्णय अनुसार अतिक्रमण हटाउने कार्य अघि बढाउँदा आवश्यक सुरक्षा प्रबन्ध मिलाउन र सम्बन्धित निकायबीच सहजीकरण गर्न पनि निर्देशन दिइएको छ । मन्त्रालयको स्वीकृति पश्चात् मात्रै अतिक्रमण हटाउने कार्य अगाडि बढाइने उल्लेख गरिएको छ । यसअघि गृह मन्त्रालयले गत चैत २० गते नै सरकारी तथा सार्वजनिक जग्गाको संरक्षण र अभिलेख व्यवस्थापनसम्बन्धी परिपत्र जारी गरेको थियो। त्यसअनुसार जिल्ला प्रशासन कार्यालयहरूले स्थानीय तहहरूसँग समन्वय गरी सरकारी, गुठी, संस्थागत तथा ऐलानी जग्गामा रहेका संरचना र बसोबासको विवरण संकलन गरेका थिए । प्रहरीमार्फत समेत प्रशासनलाई विवरण उपलब्ध गराउन पत्राचार गरिएको थियो । सरकारले अतिक्रमण हटाउने अभियानलाई थप तीव्र बनाउने तयारी गरेको छ । सोही क्रममा काठमाडौँ उपत्यकाभित्र नदी किनार क्षेत्रमा बनेका अतिक्रमित संरचना हटाउने कार्य पनि सुरु हुने तयारी छ। यसका लागि सम्बन्धित क्षेत्रमा सूचना प्रवाह तथा माइकिङ गर्ने कार्य अघि बढाइएको जनाइएको छ । अतिक्रमण हटाउने कार्यलाई समन्वित र व्यवस्थित बनाउन केन्द्रबाट निर्देशनसहित योजना संकलनको प्रक्रिया अघि बढाइएको मन्त्रालयले जनाएको छ ।

प्रकाशित मिति: बिहीबार, वैशाख १७, २०८३  २१:१४
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार