नेपाली कांग्रेस बैठक

संगठन सुदृढीकरणदेखि महाधिवेशन तयारीसम्म गहन छलफल

बुधबार, वैशाख २, २०८३

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठकमा विभिन्न विषयमा व्यापक छलफल भएको छ । पार्टीका प्रवक्ता देवराज चालिसेले बैठकमा उठेका कतिपय विषयमा थप गहिरो छलफल आवश्यक देखिएकाले भोलि पुनः बैठक बस्ने सहमति भएको जानकारी दिए । उनका अनुसार आजको बैठकमा विशेषगरी भदौ २३ र २४ गतेको घटनाबारे जाँचबुझ गर्न सरकारले गठन गरेको गौरीबहादुर कार्की आयोगको प्रतिवेदनमाथि थप अध्ययन र विश्लेषण गर्न पार्टीले चासो दिएको छ। उक्त प्रतिवेदन अध्ययनका लागि वरिष्ठ अधिवक्ता यदुनाथ खनालको संयोजकत्वमा गठित समितिले आफ्नो सुझाव पेश गरेको र त्यसप्रति पार्टीले आभार व्यक्त गरेको छ। सो विषयमा पनि भोलि थप छलफल गरिने चालिसेले बताए । बैठकले पार्टीको नीति तथा प्रशिक्षण कार्यलाई व्यवस्थित गर्न विश्वप्रकाश शर्माको अध्यक्षतामा ‘नीति प्रतिष्ठान’ गठन गर्ने निर्णय गरेको छ । यस अन्तर्गत नेतृत्व विकास तथा प्रशिक्षण कार्यक्रम सञ्चालन गरिनेछ । त्यसैगरी निर्वाचनसम्बन्धी कामलाई व्यवस्थित गर्न उपाध्यक्ष पुष्पा भुषालको संयोजकत्वमा स्थायी निर्वाचन संरचना निर्माण गर्ने निर्णय भएको छ । पार्टी संगठनलाई प्रभावकारी बनाउन महामन्त्री गुरुराज घिमिरेको संयोजकत्वमा सहमहामन्त्री बहादुर सिंह लामा र मुक्त यादव सदस्य रहेको संयन्त्र गठन गरिएको छ। यसले केन्द्रीय कार्यालयमार्फत संगठन समन्वय गर्नेछ । त्यसैगरी क्रियाशील सदस्यता व्यवस्थापनका लागि महामन्त्री प्रदीप पौडेलको संयोजकत्वमा सहमहामन्त्री योगेन्द्र चौधरी र प्रकाश स्नेही सदस्य रहेको समिति गठन गरिएको छ, जसले १५औँ महाधिवेशनलाई लक्षित गर्दै काम गर्नेछ । पार्टीले संसदभित्र र बाहिर रहेका दलहरूसँग संवाद तथा सहकार्य गर्न वरिष्ठ नेता अर्जुन नरसिंह केसीको संयोजकत्वमा वार्ता तथा संवाद समिति गठन गरेको छ । उक्त समितिले राष्ट्रिय मुद्दामा सहकार्य र पार्टी समावेशीकरणलगायत विषयमा छलफल गर्ने जिम्मेवारी पाएको छ । त्यस्तै पार्टीका सार्वजनिक कार्यक्रमहरूलाई अझ व्यवस्थित, आकर्षक र प्रभावकारी बनाउन आवश्यक कार्यविधिहरू पारित गरिएको प्रवक्ता चालिसेले जानकारी दिए । महाधिवेशनको तयारीका क्रममा देखिएका असन्तुष्टि समाधान गर्न तथा समयमै १५औँ महाधिवेशन सम्पन्न गर्न पार्टी सभापति गगन कुमार थापालाई विभिन्न नेताहरूसँग संवाद गर्ने जिम्मेवारी दिइएको छ। बाँकी विषयमा भोलि थप छलफल गरी निष्कर्षमा पुग्ने जनाइएको छ।

प्रकाशित मिति: बुधबार, वैशाख २, २०८३  १९:१४
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार