लौरो चुनाव चिन्ह दुरुपयोग भएको आरोप

बिहीबार, पुस २४, २०८२

काठमाडौं । लौरो अभियान, स्वतन्त्र अभियान तथा जेन–जी अभियानले संयुक्त रूपमा विशेष भेला तथा पत्रकार सम्मेलन गर्दै ‘लौरो चुनाव चिन्ह’ को दुरुपयोग भएको गम्भीर आरोप लगाएका छन् । बिहीबार आयोजित पत्रकार सम्मेलनमा स्वतन्त्र उम्मेदवार तथा अभियन्ताहरूले केही सीमित व्यक्तिहरूले लौरो चुनाव चिन्हलाई व्यक्तिगत र समूहगत राजनीतिक स्वार्थका लागि सौदाबाजीको माध्यम बनाएको दाबी गरेका हुन् । वक्तव्यमा जनाइएअनुसार गत निर्वाचनमा देशभर संघ र प्रदेश तहमा गरी ३६७ जना स्वतन्त्र तथा वैकल्पिक राजनीतिक शक्तिका उम्मेदवारहरूले साझा चुनाव चिन्हका रूपमा लौरो प्रयोग गरेका थिए । उनीहरूको भनाइमा लौरो चुनाव चिन्ह कुनै व्यक्ति वा समूहको निजी सम्पत्ति नभई दलगत राजनीतिबाट दिक्क भएका नागरिकहरूको आशा, विकल्प र प्रतिरोधको प्रतीक भएको जनाएका छन् । पत्रकार सम्मेलनमा तत्कालीन ‘हाम्रो नेपाली पार्टी’ लाई केवल कानुनी प्रयोजनका लागि अस्थायी रूपमा प्रयोग गरिएको संरचना भएको दाबी गरिएको छ । सबै स्वतन्त्र उम्मेदवारहरूले साझा चुनाव चिन्ह प्रयोग गर्न सकून् भन्ने उद्देश्यले निर्वाचन आयोगमा दर्ता गरिएको उक्त पार्टीलाई राजनीतिक दलको रूपमा विकास गर्ने कुनै सहमति नरहेको वक्तव्यमा उल्लेख छ । तर सोही पार्टीका अध्यक्ष अनन्तराज घिमिरे र प्रवक्ता रोहन कार्कीले कुनै छलफल वा सहमति बिना नै पार्टीको नाम परिवर्तन गरी ‘देश विकास पार्टी’ बनाउँदै लौरो चुनाव चिन्हलाई राजनीतिक बार्गेनिङको साधन बनाएको आरोप लगाइएको छ । उनीहरूले दुई जना केन्द्रीय सदस्य पद प्राप्त गर्ने उद्देश्यले यस्तो कदम चालेको दाबी पनि गरिएको छ । यस्तै, काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहले समेत उक्त अवस्थालाई राजनीतिक सौदाबाजीको हतियारका रूपमा प्रयोग गरेको देखिएको भन्दै स्वतन्त्र अभियन्ताहरूले आपत्ति जनाएका छन् । वक्तव्यमा भनिएको छ, ‘ निजी स्वार्थका आधारमा, दुई जना केन्द्रीय सदस्य पद प्राप्त गर्ने उद्देश्यले लौरो चुनाव चिन्ह नै सौदाबाजी गरी पार्टीको नाम परिवर्तन गर्दै ‘देश विकास पार्टी’ बनाएको गम्भीर तथ्य हाम्रो सामु आएको छ । यसपछि कालान्तरमा काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहले समेत उक्त अवस्थालाई राजनीतिक बार्गेनिङको हतियारका रूपमा प्रयोग गरेको देखिएकाले, हामी स्वतन्त्र व्यक्ति तथा लौरो अभियानका अभियन्ताहरूको गम्भीर ध्यानाकर्षण भएको छ । यस सन्दर्भमा हामी स्पष्ट रूपमा भन्न चाहन्छौं– काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मा प्रवेश नगर्दासम्म स्वतन्त्र लौरो अभियानका एक स्टेकहोल्डर थिए । तर जब उनी र उनको टिमले दलगत राजनीतिमा प्रवेश गरे, त्यस क्षणदेखि ‘लौरो चुनाव चिन्ह’ उनको वा उनको समूहको रहन सक्दैन । किनकि लौरो भनेको स्वतन्त्रहरूको प्रतीक मात्र होइन, यो आस्था, धरोहर र स्वतन्त्र राजनीतिक आन्दोलनको मन्दिर हो । त्यसैले, वर्तमान अवस्थामा बालेन्द्र शाह र उनको टिमले लौरो चुनाव चिन्ह स्वतन्त्र समूहलाई सुरक्षित, सम्मानजनक र आधिकारिक रूपमा फिर्ता गर्नुपर्दछ भन्ने हाम्रो स्पष्ट माग छ ।’ स्वतन्त्र समूहले लौरो चुनाव चिन्ह एक हप्ताभित्र स्वतन्त्र उम्मेदवार तथा समूहलाई आधिकारिक रूपमा फिर्ता गर्न अल्टिमेटम दिएको छ । तोकिएको समयभित्र चिन्ह फिर्ता नगरिए देश विकास पार्टीको कार्यालय तथा काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहको घर वा कार्यालय अगाडि विरोध तथा धर्नाका कार्यक्रम गर्ने चेतावनी दिइएको छ । त्यसैगरी निर्वाचन आयोगले तत्कालीन हाम्रो नेपाली पार्टीका पदाधिकारी तथा केन्द्रीय सदस्यहरूको हस्ताक्षर सनाखत नगरी पार्टीको नाम परिवर्तन गरिएको भन्दै उक्त प्रक्रिया अवैधानिक भएको दाबी गरिएको छ ।

प्रकाशित मिति: बिहीबार, पुस २४, २०८२  १६:४५
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार