सोसल मिडिया
Contact Us
युनिकोड
रामेछाप । सुनापति गाउँपालिका–३ हिलदेवीको केउरेनी, साउने र च्यामदुङ बस्ती खानीखोलाबाट सुरु भएको ठुलो पहिरोले भासिएका छन् । जमिन चिराचिरा भई घर भत्किँदा ३० भन्दा बढी घर बस्नै नहुने भएका छन् भने झण्डै ८० घर पहिरोको जोखिममा परेका छन् । स्थानीय तेज तामाङका अनुसार दशैंअघि खनिएको गाउँको सडक वर्षासँगै धसिएर अहिले मान्छे समेत हिँड्न नसक्ने अवस्था आएको छ । घरहरू धमाधम चर्किने र भत्किने क्रममा छन् । ‘असोज र तिहारपछि परेको लगातारको वर्षाले जमिन अझ चर्कियो, जमिन धसिने र घर चर्किने तथा भत्कने क्रम बढ्दै गएको छ’ उनले भने, ‘२०–३० वटा घरमा मान्छे पस्नै नहुने अवस्था छ ।’ स्थानीय लोकमाया खड्काले घर मुनिबाट पहिरो आइपुग्दा बारी र पाखो दुवै बगेको बताइन् । ‘घरको ढोका बन्द हुन छाडेको छ, रातमा निन्द्रा छैन, दिनमा भोक छैन, कतैबाट सहयोग पाइएन, ज्यान जोगाउन मात्रै पाए हुन्थ्यो’, उनले भनिन् । पहिरो पीडित नारायण पाठकले पहिरोले खेतबारी र घर दुवै नष्ट गरेको बताउँदै अब अस्थायी आवासको व्यवस्था गर्न सरकारसँग माग गरे । ‘घर छाडेर टहरोमा बस्ने अवस्था पनि छैन, जमिन नै छियाछिया भएको छ, सरकारले कम्तीमा बस्ने ठाउँको व्यवस्था गरिदियोस्’, उनले भने । स्थानीय रुपा खड्काले आफ्नो घरको माथिबाट माटो झरिरहेकाले डरै डरमा दिन काटिरहेको बताइन् । ‘जग्गा जमिन त छ, तर बस्ने ठाउँ छैन, मझेरी धसिएको छ, घर कोल्टिसक्यो, अरू केही चाहिएको छैन, सुरक्षित आवास भए हुन्थ्यो,’ उनले भने । स्थानीय दुर्गाबहादुर खड्काको घर गत वर्षकै वर्षामा चर्किएको थियो । अहिले भने घर पूरै बस्नै नहुने भएको छ, भत्किन लागेको घरमै बसिरहेका छौँ,’ अन्त जाने ठाउँ छैन, बाध्यताले त्यहीँ बस्नुपरेको छ’, उनले भने । देवीमाया खत्रीको भने घर र मतान दुवै भत्किएका छन् । उनले भनिन्, ‘प्रहरी आएर सामान निकालिदियो, घर ढल्यो, बास बस्ने ठाउँ छैन ।’ त्यस्तै, फत्तबहादुर खड्काले गत वर्ष भन्दा अहिले पहिरो अझ ठुलो आएको बताए। ‘अब अर्को वर्ष झन् बढी होला,’ उनले चिन्ता व्यक्त गरे, ‘कतिपयका घर ढलेका छन्, कसैले सहयोग गरेको छैन ।’ नेपाल रेडक्रस सोसाइटी सुनापति शाखाका सचिव राज मैनालीका अनुसार गाउँ भासिएर बस्नै नहुने अवस्था आएको छ । ‘सबैभन्दा पहिले ज्यानको सुरक्षा गर्नुपर्ने अवस्था छ,’ उनले भने । रामेछाप रेडक्रसले ३५ भन्दा बढी प्रभावित परिवारलाई त्रिपाल, म्याट, कम्बललगायत राहत सामग्री वितरण गरेको छ । राहत वितरण कार्यक्रममा रामेछाप शाखाका सभापति शिवकुमार कार्कीले गाउँ नै बगेको हुँदा स्थानीयले अब सो बस्तीमा नबस्न अनुरोध गरे । ‘यो बेला सबैले सहयोगका हात अघि बढाउन जरुरी छ, तपाईँहरू यस्ता घरमा नसुतिइदिनुस्, मेरो यहाँहरूलाई बिन्ती छ,’ उनले भने । वडाध्यक्ष कूलबहादुर थिङका अनुसार साउने–केउरेनी क्षेत्रमा २०३५ सालमा पनि ठुलो पहिरो गएको थियो । ‘त्यतिबेला बस्ती स्थानान्तरण गरिएको रहेछ,’ उनले भने, ‘तर पहिरो रोकिएपछि मानिस फेरि त्यहीँ बस्न लागे, अहिले फेरि बस्ती बग्न थाल्यो ।’ उनका अनुसार अहिले बस्ती बस्न लायक छैन । ‘६५ घरपरिवारलाई अस्थायी स्थानान्तरणका लागि सिफारिस गरेर पठाएका छौँ, केन्द्र सरकारले ५० हजार र गाउँपालिकाले १५ हजार दिने निर्णय गरेको छ, खाता खुलेपछि रकम वितरण सुरु हुन्छ’, उनले भने । वडाध्यक्ष थिङका अनुसार स्थायी रूपमा करिब ७८ घर सार्नु पर्ने अवस्था आएको छ । ‘घाम लाग्दा पनि जमिन सारिरहेको छ, अब सबै जना सुरक्षित ठाउँमा सर्ने तयारी गर्नुपर्छ’, उनले भने । यो क्षेत्र पहिरोको दृष्टिले अति संवेदनशील मानिन्छ । सन् १९७८ (विसं)२०३५० सालमा यसै क्षेत्रमा ठुलो पहिरो जाँदा ४० भन्दा बढी घर परिवार अन्यत्र सारिएको थियो । त्यसपछि केही वर्ष पहिरो रोकिएपछि पुनः बस्ती बसालिएको थियो । तर पछिल्ला दुई वर्षयता खानीखोला किनारबाट सुरु भएको नयाँ पहिरोले सिङ्गो गाउँलाई फेरि बगाउँदै लगेको छ । पीडित स्थानीयले अब अस्थायी राहतभन्दा दीर्घकालीन पुनर्वास नीति आवश्यक भएको बताएका छन् । ‘त्रिपाल र कम्बलले मात्रै राहत हुँदैन, अब सरकार र प्रदेशले सुरक्षित ठाउँमा नयाँ बस्ती बसाल्ने योजना ल्याउनुपर्छ’, नारायण पाठकले भने । हाल प्रभावित क्षेत्रको विस्तृत अध्ययन गर्न प्राविधिक टोली पठाउने तयारी भइरहेको गाउँपालिकाले जनाएको छ । पहिरो अझै सक्रिय रहेकाले स्थानीय प्रशासनले जोखिम क्षेत्रमा प्रवेश नगर्न आग्रह गरेको छ ।