जेन–जी आन्दोलनमा अत्यधिक बल प्रयोग : प्रहरी प्रतिवेदन

शुक्रबार, असोज १०, २०८२

काठमाडौँ । गत भदौ २३ र २४ गते भएको जेन–जी पुस्ताको प्रदर्शन दबाउन अत्यधिक बल प्रयोग भएको प्रहरीको प्रतिवेदनले देखाएको छ । प्रहरीको प्रारम्भिक प्रतिवेदनअनुसार दुई दिनमा देशभर १३ हजार १ सय ८२ पटक फायरिङ गरिएको थियो ।  धातुका गोलीमध्ये अधिकांश घातक हतियार इन्सास, एसएलआर र पिस्तोलबाट चलेका थिए । त्रिवि शिक्षण अस्पताल, महाराजगन्जमा गरिएको मृतकको पोस्टमार्टम प्रतिवेदनमा समेत मृत्युको कारण ‘हाई भेलोसिटी आर्म्स’ (तीव्र गतिको हतियार) बाट प्रहार भएको गोली रहेको उल्लेख छ । दुई दिनमा २ हजार ६ सय ४२ ‘लाइभ एम्युनिसन’ (धातुका गोली) प्रहार गरिएको प्रहरीको आन्तरिक प्रतिवेदन छ । यही क्रममा १ हजार ८ सय ८४ रबर गोली प्रहार गरिएको थियो । त्यस्तै २ हजार ३ सय ७७ पटक हवाई फायर र ६ हजार २ सय ७९ सेल अश्रुग्यास प्रहार गरिएको थियो । सबैभन्दा धेरै फायरिङ काठमाडौं उपत्यकामा गरिएको प्रहरीको प्रारम्भिक विवरणमा उल्लेख छ । काठमाडौंमा १ हजार ३ सय २९ लाइभ बुलेट प्रहार गरिएको थियो । त्यस्तै १ हजार ४ सय २० रबर बुलेट र १ हजार ४६ हवाई फायर गरिएको प्रहरी प्रतिवेदनमा उल्लेख छ । ३ हजार ९६ सेल अश्रुग्यास प्रहार गरिएको थियो । काठमाडौं उपत्यकामा मात्रै ६ हजार ८ सय ९१ पटक फायर गरिएको थियो । उपत्यकापछि बढी बल प्रयोग मधेश प्रदेशमा भएको थियो । मधेशमा १ हजार ९ सय २१, कोशीमा १ हजार ५ सय ६८, कर्णालीमा ९ सय ३२, सुदूरपश्चिममा ७ सय ६३, लुम्बिनीमा ६ सय १९, गण्डकीमा ३ सय ६ र बागमती प्रदेशका अन्य जिल्लामा १ सय ८१ पटक फायरिङ भएको थियो । ‘यो प्रहरीले तयार पारेको प्रारम्भिक विवरण मात्र हो, संख्या अझै बढ्न सक्छ,’ गृह मन्त्रालयका एक अधिकारीले भने । नेपाल प्रहरीका प्रवक्ता विनोद घिमिरे भने कति गोली चल्यो, कति लुटिए भन्ने विषयमा अझै छानबिन भइरहेको बताउँछन् । यसमा प्रहरी प्रधान कार्यालयका प्रहरी नायब महानिरीक्षक (डीआईजी) दीपक रेग्मी नेतृत्वको समितिले काम गरिरहेको छ ।  प्रदर्शनकारीले उपत्यका प्रहरी कार्यालय, रानीपोखरीमा समेत तोडफोड र आगजनी गरेकाले हतियार र गोलीसम्बन्धी विवरण नष्ट भएको अधिकारीहरू बताउँछन् ।

७५ जनाकाे मृत्यु

सामाजिक सञ्जालमाथि लगाइएको प्रतिबन्ध र भ्रष्टाचारविरुद्ध जेन–जीले २३ भदौमा सडक प्रदर्शन गरेका थिए । डिस्कर्ड र रेडिटबाट संगठित भएका युवा माइतीघरमा भेला भएर अघि बढेका थिए । उनीहरूले दिउँसो १२ः३५ बजे ब्यारिकेड भत्काएर लम्किएका थिए । बानेश्वरको आकाशे पुलमा ‘वेक अप नेपाल’ लेखिएको ब्यानर झुन्ड्याएर संसद् भवन घेर्न थालेपछि प्रहरीले गोली चलाउन सुरु गरेको थियो । पूर्वएआईजी सुवेदी संसद् भवनभित्र रहेको प्रहरीको एसटीएफ (स्पेसल टास्क फोर्स) ले गोली चलाएको देखिएको बताउँछन् । तर प्रहरी स्रोतअनुसार त्यो दिन प्रहरीका अरू टोलीलाई समेत संसद् भवनभित्रै राखिएको थियो भने आन्दोलनकारीले ब्यारिकेड तोडेपछि बाहिर भएका बाँकी प्रहरीसमेत भित्रै प्रवेश गरेका थिए । त्यसपछि संसद् भवनभित्रबाट एसएलआर, इन्सास, पेस्तोललगायतका घातक हतियारबाट गोली चलाइएको थियो । पहिलो दिन प्रहरीको अत्यधिक दमनबाट १९ जनाको मृत्यु भएपछि झन् आक्रोश बढ्यो र २४ भदौमा अझ बढी प्रदर्शनकारी सडकमा उत्रिए । दुवै दिनको घटनामा मृत्यु भएकाको संख्या ७५ पुगेको प्रहरीले जानकारी दिएको छ । । नेपालगन्जस्थित बाल सुधार गृहमा ५ बालबन्दी, धादिङमा २ र रामेछापमा ३ कैदीको समेत मृत्यु भयो । २० जनाको भाटभटेनी सुपरमार्केटमा जलेर ज्यान गयो । प्रदर्शनकारीको कुटपिटबाट तीन प्रहरीको मृत्यु भएको थियो । ज्यान गुमाएका अन्य अधिकांशलाई प्रहरीको गोली लागेको थियो । स्थानीय प्रशासन ऐन, २०२८ ले शान्ति कायम गर्न नसकिने परिस्थितिमा अन्तिम विकल्पका रूपमा मात्र सुरक्षाकर्मीले गोली हान्न मिल्ने परिकल्पना गरेको छ । तर त्यसका लागि समेत ‘भीडलाई हट्दैनौ भने गोली चलाइनेछ’ भनेर बुझ्ने गरी पहिल्यै चेतावनी दिनुपर्छ । चेतावनी दिँदासमेत भीड नहटे घुँडामुनि लाग्ने गरी गोली चलाउन आदेश दिन सकिने भनिएको छ । तर त्रिवि शिक्षण अस्पतालको फरेन्सिक विभागले गरेको पोस्टमार्टम रिपोर्टमा अधिकांशको कम्मरभन्दा माथि गोली लागेको स्पष्ट उल्लेख छ ।
 

प्रकाशित मिति: शुक्रबार, असोज १०, २०८२  ११:१८
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार