साउन १५ गते ‘कोदो दिवस’ मनाउन कृषिमन्त्री अधिकारीको प्रस्ताव

बिहीबार, असार १२, २०८२
Global Ime Bank

काठमाडौं । कृषिमन्त्री रामनाथ अधिकारीले साउन १५ गते कोदो दिवस मनाउन आग्रह गरेका छन् ।  बिहीबार काठमाडौमा नेपाल डेरी एसोसिएसनद्वारा आयोजित दही चिउरा प्रबद्र्धन कार्यक्रममा बोल्दै उनले असार १५ दही चिउरामा र धान दिवस मनाए झैं श्रावण १५ गते कोदो दिवसका साथै खिर खान आग्रह गरेका हुन् ।  उनले भने, ‘हामी असार १५ दही चिउरामा रमाउने मान्छे, रोपाइमा रमाउने मान्छे, श्रावण १५ मा खिर खाने चलन छ । अब कोदो दिवस पनि मनाउन भनेर यसपाली नयाँ प्रस्ताव आउँदैछ । मैले श्रावण १५ कोदो दिवस मनाऔं भनिरहेको छु । साथै खिर पनि खाँदा हुन्छ भनेर प्रस्ताव राखेको छु ।’ उनले किसानलाई दुधको पैसा तिर्न नसक्दा दुग्ध व्यवसायीहरुले बोलाएको ठाउँमा नजान सकेको भन्दै वर्षौदेखि उधारो दुध खाइरहेको बताए ।  ‘म दुग्ध व्यवसायीहरुले बोलाएको ठाउँमा नजान पाए हुन्छ भन्ने लाग्छ । नेपाल सरकारको प्रतिनिधि मन्त्री हुँ तर किसानलाई पैसा तिर्न सकेका छैनांै । उधारो दुध वषौंदेखि खाइरहेका छौ, त्यो कहिले तिर्ने ? समस्या धेरैतिर छ । तर पनि खुशी भए जस्तो सबैको सामु उभिनु परेको छ,’ उनले भने ।  उनले बजारमा मलको हाहाकारी भइरहने भन्दै यो समस्या न्यूनीकरणका सम्भावना नभएको बताए । साथै उनले कृषि बीमामा पनि धेरै समस्या रहेको बताए । 

प्रकाशित मिति: बिहीबार, असार १२, २०८२  १५:५०
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार