सोसल मिडिया
Contact Us
युनिकोड
पर्वत । जिल्लाको कुश्मा नगरपालिका–८ मा पर्ने सुन्दरे खोलाले गाडी बगाउँदा गाडीमा सवार तीन जना बेपत्ता भएका छन् । गए रातिको भीषण वर्षाले बढेको खोला तर्ने क्रममा मध्यपहाडी लोकमार्गको पर्वत खण्ड निर्माण कम्पनी लामा कन्स्ट्रक्सनको गाडी र त्यसमा सवार तीन जना बेपत्ता भएका हुन् । बेपत्ता हुनेमा कन्स्ट्रक्सनका साइट इन्चार्ज इञ्जीनियर राजाराम आचार्य र गाडी चालक इन्द्र थारु छन् । अर्का एक जनाको नाम खुल्न नसकेको प्रहरी निरीक्षक राजेन्द्र अधिकारीले जानकारी दिए । प्रहरीले राति १२ बजेदेखि नै खोजी गरिरहे पनि अवस्था पत्ता लाग्न सकेको छैन । अहिले पनि सुन्दरेखोला र मोदीखोलामा खोजी भइरहेको प्रहरी निरीक्षक अधिकारीले जानकारी दिए । बाढीले तीन वटा घर पनि बगाएको छ । खोला किनारमा रहेका घर बाढीले बगाए पनि घरभित्रका मानिसहरू घर छोडेर भागेपछि बाँच्न सफल भएको प्रहरीले जनाएको छ ।
बाढीले बगाउँदा युवा बेपत्ता, दर्जनौँ पशुचौपाया बगायो बागलुङको ताराखोलामा वर्षापछि आएको बाढीले बगाउँदा एक युवा बेपत्ता भएका छन् । मङ्गलबार साँझदेखि निरन्तर परेको वर्षासँगै आएको हिलो लेदोसहितको बाढीले ताराखोला गाउँपालिका–१ हिल घुस्मेलीका १८ वर्षीय राजेन्द्र कार्कीलाई बगाएको हो । खोला छेउमा रहेको बाख्राफार्म बाढीबाट जोगाउने प्रयास गर्दागर्दै उनलाई खोलाले बगाएको स्थानीयवासीले बताएका छन् । ‘रातको समयमा बाख्रा जोगाउन खोला छेउमा पुगेका रहेछन्, त्यत्तिकैमा बाढी आएर खोरसँगै उसलाई बगाएको कुरा छ’, ताराखोलाका पुराना पत्रकार महेन्द्र घर्तीले भने, ‘राताखोलाका सबै ठाउँमा पहिराले वितण्डा मच्चाएको छ ।’ पहिरामा परी सम्पर्कविहीन रहेका कार्कीको खोजी भइरहेको इलाका प्रहरी कार्यालय ताराखोलाका प्रहरी प्रमुख लक्ष्मण न्यौपानेले जानकारी दिए । बाढीले स्थानीयवासी चन्द्र कार्कीको ४१ वटा बाख्रा पुरेको छ । वर्षाका कारण ताराखोला–१ हिलको इदिटोलमा केही परिवार विस्थापित छन् । विवरण आउन बाँकी छ । वडा नं २ अर्गलमा एक घर पुरिएको छ । मानवीय क्षति भने नभएको प्रहरीले जनाएको छ । बाढीसँगै खोलामा पानीको बहाव बढेर घुस्मेली बजार क्षेत्रमा पस्न थालेपछि स्थानीयवासी त्रसित छन् । बजार क्षेत्रका २५ परिवारलाई गए राति नै सुरक्षित स्थानमा सारिएको छ । उद्धारका लागि इलाका प्रहरी कार्यालय गलकोटबाट प्रहरी निरीक्षकको नेतृत्वमा प्रहरीको थप टोली घटनास्थलमा पुग्दै गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।–रासस