सोसल मिडिया
Contact Us
युनिकोड
सुदूरपश्चिम । सुदूरपश्चिम प्रदेशमा आइतबार र सोमबार कोराना सङ्क्रमितको सङ्ख्यामा वृद्धि भएको छ । पछिल्लो समय निरन्तर घट्दै गइरहेकामा पछिल्ला दुई दिनमा सङ्क्रमित बढेको जनाइएको छ । स्वास्थ्य निर्देशनालय दिपायलको तथ्याङ्कअनुसार सोमबार एक हजार ५५ जनाको स्वाबको नमूना परीक्षण गर्दा ४३ जनामा सङ्क्रमण पुष्टि भएको थियो । मङ्गलबार ८४७ जनाको नमूना परीक्षण गर्दा ६१ जनामा सङ्क्रमण देखिएको छ । पछिल्लो २४ घण्टामा प्रदेशमा सबैभन्दा बढी कैलाली जिल्लामा ४२ जनामा सङ्क्रमण देखिएको निर्देशनालयले जनाएको छ । दुई दिनमा मृत्युदर भने शून्य छ । यो अवधिमा ४७जना उपचार पछि घर फर्किएका छन् । प्रदेशमा पहिलो पटक गत जेठ २५ गते पनि मृत्युदर शून्य थियो । प्रदेशमा अहिलेसम्म ४३ हजार ९९३सङ्क्रमित पुगेका छन् । दुई लाख ६८ हजार९९५ जनाको नमूना परीक्षण गरिसकिएको छ । गत जेठ ७ गते एकै दिनमा प्रदेशमा सबैभन्दा बढी नौ सय ८४ नयाँ सङ्क्रमित थपिएका थिए । प्रदेशमा सबैभन्दा बढी एकै दिन ३१ सङ्क्रमितको मृत्यु भएको थियो । यसैबीच कोरोना भाइरस रोकथामका लागि कैलाली जिल्लामा जारी निषेधाज्ञा आगामी साउन १गतेसम्म थप गरिएको छ । जिल्ला प्रशासन कार्यालयले आज सूचना जारी गर्दै होटेल, रेष्टुरेण्ट, चियापसल बिहान ५बजे देखि राति आठ बजेसम्म सञ्चालन गर्न सकिने, तालीम, गोष्ठी ,सेमिनारका लागि २५जना मात्र सहभागी हुन पाउने, सार्वजनिक यातायातका साधन जिल्ला प्रशासनको स्वीकृति लिएर सञ्चालन गर्न पाइने जनाएको छ । यस्तै कार, भ्यान, जीप, ट्याक्सीमा चालकसहित चार र अटोमा चालकसहित तीन जना मात्रै यात्रा गर्न पाइने,जिल्लाभरीका यात्रुवाहक सवारी साधनको जोरबिजोर प्रणाली हटाउँदै जनस्वास्थ्यका मापदण्ड पालना गरेर सञ्चालन गर्न दिइने निर्णयसमेत भएको सूचनामा उल्लेख छ ।–रासस