सोसल मिडिया
Contact Us
युनिकोड
हालका गृहमन्त्री रमेश लेखकले भन्नुभएकै थियो–‘निर्मला पन्तलाई म न्याय दिलाउँछु’ भनेर । उहाँ स्वयम् निर्मलाको आन्दोलमा सहभागी हुनुभएको थियो । गृहमन्त्रीज्यू, तपाईंले जनतालाई र निर्मलाको परिवारलाई जवाफ दिनुहोस् । अहिलेसम्म के गर्नुभयो ? म एक नागरिकका रुपमा प्रश्न गर्दैछु र जवाफ माग्दैछु । राजन कुईंकेल पूर्वअध्यक्ष एमनेस्टी इन्टरनेशनल नेपाल च्याप्टर
निर्मला पन्तको बलात्कारको घट्ना राज्यलाई कालो धब्बा लाग्ने एउटा कूख्यात प्रकरण हो । घटना २०७५ साउन १० गते एक बालिका जसको बलात्कार गरिन्छ र निर्ममतापूर्वक हत्या गरिएको छ । अहिले ०८२ साल भइसक्यो अर्थात सात बर्ष वितिसक्यो । नेपालमा बालिका बलात्कार र हत्याको घट्नाहरुमा यति धेरै मानिसहरु सडकमा आएको र तल्लो तहदेखि काठमाडौंका सडकसम्म तातेको घट्ना संभवत यो पहिलो होला । धेरै मानिसहरु आक्रोशको अवस्थामा सडकमा आएका थिए । घट्ना जुन खालको पृष्ठिभूमिमा छ त्यो हेर्दा कल्पना गर्न नसकिने र आङ्ग सिरिङ्ग हुने एउटा बर्बर घटनाका रुपमा लिन सकिन्छ । तर यस्तो घट्नामा सरकारको निरिहता कल्पना गर्न पनि सकिँदैन् । एक दिनको कुरा होइन, महिनाको कुरा पनि होइन्, वर्षौ वर्षको कुरा हो । यो घट्नाका भइसकेपछि ६ जना गृहमन्त्री फेरिए । गृह मन्त्रालयको कुर्सीमा तत्कालिन नेकपा माओवादी केन्द्रका राम बहादुर थापा बादलदेखि अहिलेका रमेश लेखकसम्म बसिसकेका छन् । ६ जना मन्त्रीले कुर्सी साटफेर गरे । सरकारहरु फेरबदल भए । तर जुन गम्भीरता राज्यमा हुनुपथ्र्यो त्यो विल्कुल देखिएन् । एउटा बलात्कार प्रकरणमा आजसम्म सत्यतथ्य पत्ता लाग्दैन् । राज्य कतिसम्म निरिह छ भने बलात्कार कसले गरेको हो र हत्या कसले गरेको भन्ने कुरा हामीलाई बताउँदैन् । पीडित जो न्यायको पर्खाइमा छन् उसलाई न्याय मिल्दैन् । यस्तो पनि सरकार हुन्छ, यो कुनै न्याय हो ? निर्मला पन्त भनेको एउटा बिम्ब हो । नेपालको कानुनविहीनताका लागि प्रत्येक दिन पाँचदेखि सातजना बालिका वा महिला बलात्कृत र हत्या भइरहेका छन् । या मुलुकमा हामी त्यसको सङ्ख्या गनेर बसिरहेका छौं । प्रत्येक वर्ष त्यो सङ्ख्या उजागर गर्ने, मिडियामा सार्वजनिक गर्ने काम गरिरहेका छौं । राज्य बलात्कार भएको महिला वा बालिकाको हत्या गर्नेको सख्या गनेर बसिरहेको छ । सरकारको यो भन्दा सरमपूर्ण घट्ना अरु हुन्छ जस्तो लाग्दैन् । कुर्सीमा जो पुग्छ उ भूपि शेरचनले भन्नुभएको जस्तो,‘घुम्ने मेचमाथि पुगेपछि मानिस अन्धो हुन्छ ।’ सायद उहाँहरु त्यहाँ पुगेपछि केही देख्नुहुन्न । राज्य साँचिकै इमान्दार हुन्थ्यो भने एक बालिकालाई त्यो ढंगको निर्मम हत्या भएको घट्नाको लागि न्याय दिलाउन सक्दैन् ? के त्यति कमजार भइसक्यो नेपालको न्याय प्रणाली, के त्यति कमजोर भइसक्यो नेपालको प्रहरी प्रशासन ? ६ जना त आइजीपी नै फेरिसके । त्यो घटना भएका बेलाका आइजीपीले त पद छाडेर पार्टीमा आबद्ध भएर दुई पटक चुनाव पनि लडिसक्नुभयो । हालका गृहमन्त्री रमेश लेखकले भन्नुभएकै थियो–निर्मला पन्तलाई म न्याय दिलाउँछु भनेर । उहाँ स्वयम् निर्मलाको आन्दोलमा सहभागी हुनुभएको थियो । गृहमन्त्रीज्यू तपाईंले जनतालाई र निर्मलाको परिवारलाई जवाफ दिनुहोस् । अहिलेसम्म के गर्नुभयो ? म एक नागरिकका रुपमा प्रश्न गर्दैछु र जवाफ माग्दैछु । तर मलाई थाहा छ, जवाफ दिँदैन यो राज्य । हामी निरन्तर बोलिरहन्छौं, आवाजहरु बाहिर ल्याउने काम गरिरहन्छौं । यस्ता घट्नाहरु भइरहेको छ भनेर नदेखेको भए देखाउने काम गरिरहेका छौं । तर निर्मलाका बारेमा हेर्न बाँकी के छ, सुन्न बाँकी के छ र खोज्न बाँकी के छ र ? पाँच–छ वटा त समिति नै बनिसके । त्यसको लागि ती समितहरुले के गरे ? मेरो प्रश्न यही हो । मलाई लाग्छ निर्मला नेपालको न्यायप्रणालीमा एउटा ठूलो कालो धब्बा हो । नेपालको शासन प्रशासन चलाउछु भन्नेहरुको लागि एउटा ठूलो तमासा हो । तर उहाँहरुलाई त्यो चड्कनले वा तमासाले कतै छोएको छैन् । तर प्रश्नहरु गरिहनुपर्छ । जब हामी प्रश्नबाट भाग्छौं वा प्रश्नबाट डराउँछौं चाहे मिडिया होस् या नागरिक हुन् प्रश्न गर्न डराउनु हुँदैन् । हामीले प्रश्न गरेनौं भने सत्ता निरकुंश र अधिनायकवादी हुन्छ । सत्तालाई उसले चाहेजस्तो गर्नका लागि बाटो खुल्छ । त्यसकारण हामी सबैले प्रश्न गर्नपर्छ । र प्रश्नबाट भाग्नेहरुले शासन गर्ने अधिकार पनि राख्दैनन् । म फेरि पनि आग्रह गर्न चाहन्छु की राज्य फेरी पनि जिम्मेवार बनोस् । एउटा बालिकामाथि जुन खालको अपराध भएको छ त्यो अपराध एउटा व्यक्तिको होइन । राज्यले अपराधिलाई सार्वजनिक गर्न सक्दैन भने त्यो अपराधको भारी राज्य बन्नुपर्छ । कुनै दिन राज्य अपराधी भयो भनेर कसैले औंला ठड्याउने ठाउँ नबनोस् । आशंकका सुईहरु अब धेरै ठाउँमा घुमेका छन् । आशंका गरेकै भरमा फलानो भनेर त भन्न सकिँदैन । धेरैले आशंका गरेका छन् जसमा कठित भीआइपीहरुसँग सम्बन्धित पक्ष नै जोडिएका कारणले घटनालाई यसरी दबाउन खोजिएको छ भनेर अशंका गर्नेहरु प्रशस्तै छन् । चाहे जोसुकै होस् माथिल्लो या तल्लो तहको व्यक्ति होस् तर अपराध भनेको अपराधा नै हो । यो अपराधको न त लिङ्ग नै हुन्छ, न त कुनै दल हुन्छ, न कुनै जात हुन्छ । अपराध न सानो हुन्छ न ठूलो । अपराध भनेको अपराध नै हो । लाखौं करोडौंको गाडी चढ्नेहरुले पनि अपराध गरेका छन् भने त्यो अपराधी नै हो । राज्यले त्यो अपराधमा को संलग्न छ भनेर हेर्ने हो । अपराधमा संलग्न भएको मान्छेको जात, वर्ण, थर, धर्म, लिङ्ग र दल के हो भनेर हेर्ने होइन । त्यसकारण राज्यले निर्मम भएर यसको खोजनीति गर्नुपर्छ । अपराधी पत्ता लगाउने दिशामा अगाडि बढ्नुपर्छ । नेपालका बालिका बलात्कार र हत्या घटनाको सन्दर्भमा पहिला पनि यस्ता घटना भएका देखेका छौं । दैनिक पाँचदेखि सातवटा घटनाहरु हुँदै आइरहेका छन् । सात वर्ष यताको तथ्यांक हेर्नुभयो भने यसको भयावह एवम कहालीलाग्दो तथ्यांक तयार भइसकेको छ । निर्मला प्रकरण एउटा विम्ब भएकाले नेपालको न्याय प्रणालीमा, अपराध कर्ममा, फौजदारी न्याय प्रणालीमा हामीले के गरिराखेका छौं र हैसियत के रहेछ कति पीडितलाई न्याय दिन सक्ने रहेछौं त भन्ने एउटा विम्बका रुपमा लिन सकिन्छ । यही घट्नाले बारम्बार हामीलाई गिज्याइरहेको छ ।
निर्मला पन्तजस्ता सयौं हजारौं बालिकाहरुले हामीलाई प्रश्न गरिरहेका छन्, गिज्याइरहेका छन् । राज्यलाई कुरिरहेका छन् । त्यसैले निर्मला पन्तको घटनाबाट राज्यले सुरुवात गरोस् न्याय दिने पहल कदमी चालोस् । प्रहरीले चाहेको खण्डमा जटिल प्रमाणहरु सहित कठघरामा ल्याउने काम थुप्रै गरेको छ । तर निर्मला पन्तको बलत्कारपछिको हत्याको घटनामा जे जस्ता प्रमाणहरु संकलन गरिएको थियो त्यसका आधारमा पनि अपराधीसँग पुग्न सकिन्छ भन्ने कुरा अपराध विज्ञहरुले भनिरहेका छन् । नेपाल प्रहरीमै अवकाश प्राप्त भएका, अपराधका विषयमा अनुसन्धान गर्ने विशेषज्ञ पूर्वअधिकारीहरुले यो कुरा पटक पटक सार्वजनिक रुपमा नै भनेका छन् । त्यस कारण प्रमाण नभएर वा अपराधीसम्म पुग्ने प्रमाण नै फेला नपरेर पुग्न नसकेको हो की भनेर भन्न सक्ने ठाँउहरु छैन् । उहाँहरुको कुरा सुन्दा हामी यस विषयको विशेषज्ञ होइनौं, जसले विशेषज्ञता हासिल गरेका छन् । उनीहरुको कुरा सुन्ने हो भने यसमा नहुनुपर्ने र नसकिने कुनै आधार छैन् । तर भइरहेको छैन्, यहाँ एउटा सरकार, गृहमन्त्री, प्रहरी प्रमुखको इच्छा शक्ति भएन । अर्थात सकेनन् भने ठिक छ तर ६ जना परिवर्तन भइसक्दा पनि काम नहुनु दुर्भाग्यपूर्ण छ । त्यसकारण सरकारले आफूमाथि लागेको जुन आक्षेप र शंका छ त्यो हटाउनका लागि पनि यसलाई एकदमै गम्भीर भएर अनुसन्धान हुनुपर्छ । र अपराधीसम्म पुगेर उसलाई दण्डको घेराभित्र ल्याउन जरुरी छ । यसमा थुप्रै व्यक्तिहरुको डिएनए परीक्षण गरिएको भनिएको छ । झण्डै ६ सयभन्दा बढि मानिसलाई अनुसन्धानको दायराभित्र ल्याइएको भनेर प्रहरीले बताएको छ । प्रमाण नै नष्ट भएको कारण कसैलाई न्याय दिन सकेनौ भनेर राज्यले हात ठडाउन मिल्छ र ? तत्कालिन समयमा जो जो व्यक्तिलाई शंकाको घेराभित्र ल्याइएको छ र जो व्यक्ति अपराधमा संलग्न छ भनेर एकदमै नजिक पुगेको भनिएको छ । तर ति मान्छेलाई पछि छाडिएको छ । त्यही मान्छेप्रति फेरि सार्वजनिक रुपमा शंका गरिएको छ । त्यसैले सुरुदेखि नै अनुसन्धान गर्नुपर्छ । सँगै जोडिएका अरु आशंकित पक्षहरु वा व्यक्तिहरु छन् त्यतातिर पनि अनुसन्धानको सुइ घुमाउनुपर्छ । अनुसन्धानको दायरा बढाउनुपर्छ । र प्रमाण भेटिएन, प्रमाण नष्ट गरियो भनेर उम्कने ठाँउ राज्यले पाउँदैन् । निर्मलाले न्याय पाउनैपर्छ । पाउलिन् त भनेर प्रश्न गर्ने नै होइन, पाउनैपर्छ । निर्मला पन्त एउटा बिम्ब हो । त्यसैले अरु थुप्रै मान्छेहरुको मुख बन्द हुने संभावना छ । निर्मला घटनालाई बन्द गर्नु वा उनको फाइल बन्द गर्नु भनेको अन्य थुप्रै बालिकाहरुलाई बलात्कृत हुनका लागि बाटो खोल्नु हो । थुप्रै वलात्कारीलाई मैदान खुला गर्नु हो । के हामी त्यस्तै समाज बनाउन चाहन्छौ, के हामीले खोजेको समाज त्यस्तै हो ? हाम्रा बालिका, महिला, दिदिबहिनीहरु बलात्कृत भइरहुन् भन्न खोजेको हो । हाम्रो राज्यको अनुहार त्यस्तै बनाउन खोजेका छौ ? निर्मलालाई न्याय नदिनु भनेको राज्यमाथि यस्ता हजार प्रश्नहरु उठ्न सक्नेछन् भनेर बुझनपर्छ । त्यसकारण त्यति निर्मम बाटोतिर, दण्डहीन समाजतिर र राज्य कालो धब्बा बोकेर हिड्नेतर्फ प्रशासन लाग्दैँन् । निर्मलासँगै थुप्रै घटना छन् जो अनुसन्धानको दायरामा रही रहेका छन् । कुनै अनुसन्धान सकिएर अदालती प्रक्रियामा छ र त्यो भन्दा पनि ठूलो कुरा बलात्कारका घटनाहरु कति सार्वजनिक भएर आउछन्, कति अदालती प्रक्रियासम्म पुग्छन् र त्यो प्रक्रियासम्म पुग्दा समाजले एउटा पीडितलाई अझ बढि पीडित बनाउने र पीडक भने स्वतन्त्र भएर हिड्ने खालको समाज सिर्जना गरिरहेका छौ । त्यसैले न्यायका लागि जो लडिरहेका छन् उनीहरुलाई न्याय प्राप्त हुन्छ भनेर आशावादी गराउनका लागिपनि नेपालको न्याय प्रशासन, प्रहरी र मिडिया जगतले त्यस्ता आवाजहरुलाई बलियो बनाउनुपर्छ र उनीहरुलाई हिम्मत भर्नुपर्छ यसको लागि पनि निर्मलाजस्ता बलात्कृत भएका घटनाहरुमा न्याय प्रदान गर्नुपर्छ ।