सोसल मिडिया
Contact Us
युनिकोड
भैँसीपाटीस्थित स्नेहा केयरमा अहिले अव्यक्त सुनसान छ । त्यहाँ अरु जनावर नभएर सुनसान भएको छैन । मैचाले छोडेर गएपछि त्यहाँ व्यक्त गर्न नसक्ने गरी सुनसान भएको हो । त्यसो त स्नेहा केयरमा रहेका सबै प्राणीको आ आफ्नै पहिचान र विशेषता त छँदैछ । मैचा, पाडी मात्रै थिइनन् । उनी मान्छेको क्रुरता र पाखण्डपनको चक्रव्यूहलाई जितेर बाँच्न सफल प्राणी थिइन् । मैचा धेरै जनाको माया र स्नेहको साथ हुर्किरहेकी थिइन् । तर, केही दिनअघि मैचाको स्वास्थ्यमा अचानक समस्या देखियो । मैचाले चर्न जाने क्रममा खोला किनारमा फालिएका खानेकुरासँगै प्लास्टिक र फलामका टुक्राहरू पनि खाएकी रहेछिन् । जसले गर्दा उनको पेटमा समस्या भएको रहेछ । तुरुन्तै सर्जरी गरेर मैचाको पेटभित्रका प्लास्टिक र फलामका टुक्राहरू निकालियो । तैपनि मैचालाई बचाउन सकिएन । मैचाको मृत्युपछि स्नेहा केयरकी सञ्चालिका स्नेहा श्रेष्ठले मैचाको मृत्युमा शोक व्यक्त गर्दै फेसबुकमा लेखेकी छिन् ‘ प्रिय मैचा, तिम्री आमालाई मृत्युको मुखबाट खोसेर ल्याएथेँ अनि तिमीलाई पाएर मेरो खुसी दोब्बर भएथ्यो । हिजो जस्तो लाग्छ तिमी जन्मिँदा मैले उत्सव मनाएको, अनि आज तिम्रो वियोगमा छाती पोलिरहेछ, म कसरी पत्याउँ यो खबर, कसरी तिम्रो वियोगमा शोक मनाउ ? शायद हाम्रो मिलन यत्ति नै थियो होला, भावीको लेखान्त यस्तै थियो होला, मुटुभरिको माया दिएर, दुई दिनको रामछायाँ बनी तिमी गइहाल्यौ । यदि मिल्थ्यो भने तिम्रा लागि मेरो आयु दिने थिएँ, मात्र एक पटक फर्केर आईदेउन प्रिय । तिमीलाई अँगालो हालेर रुनेछु, तिम्रा लागि गर्न बाँकी सबै सेवा सुसार गर्नेछु, अन्तिम घडीमा कति खोज्यौ होला मलाई, मेरी आमा आउँछे भनी कति पर्खियौ होला मलाई, निष्ठूरी दैवले तिमीलाई खोसेर लगिहाल्यो, अब म कहाँ भेटौँ तिमीलाई ? अब मात्र बाँकी छन् तिम्रा स्मृतिहरू, तिम्रा पदचापहरू, तिमीलाई सदैव देख्न पाउँ इन्द्रेणी रङ्गहरूमा, तिमीलाई महसुस गर्न पाउँ हावाका झोक्काहरूमा, मेरा सपनाहरूमा बेलाबेला आइदिनु है, तिम्रो सन्चो बिसन्चो थाहा दिनु है, तिम्रो स्वर्ग बासको कामना गर्दछु प्रिय मैचा । अलबिदा !’