सोसल मिडिया
Contact Us
युनिकोड
धरान । लगातारको वर्षा भएपछि सुनसरीका दक्षिण क्षेत्रका अधिकांश गाउँ बाढीको उच्च जोखिममा परेका छन् । सुनसरीको भोक्राहा, इनरुवाको वडा नं ४ को मरिक बस्ती ढुवानमा परेका छन् । यस्तै ट्याङ्ग्रा खोला पसेर इटहरीको खनारलाई डुबाएको छ । अहिलेसम्म ठूलो समस्या नभए पनि यही अवस्थामा निरन्तर वर्षा भइरहेमा जिल्लाका धेरै स्थानका बासिन्दा विस्थापित हुन सक्ने सुनसरीका प्रहरी उपरीक्षक सञ्जय सिंह थापाले बताए । बुढी खोला, टें्यग्रा खोला, खेती खोलामा आएको बाढीले बस्तीमा पसेपछि इटहरीका वडा नं ८, १० र ११ डुबानमा परेका छन् । नदी तथा खोला किनारका स्थानीवासीलाई सतर्कता अपनाउन स्थानीय प्रशासनले अनुरोध गरेको छ । निरन्तर वर्षाका कारण सप्तकोसी नदीमा बहाब उच्च भएको छ । आज बिहान ९ बजे गरिएको मापनअनुसार कोसी ब्यारेजमा दुई लाख ३१ हजार ६५५ क्युसेक पानीको बहाव छ । यसअघि शुक्रबार राति १२ बजे एक लाख ५५ हजार ७७५ क्युसेकभन्दा बढी पानीको बहाव मापन गरिएको ब्यारेजस्थित नियन्त्रण कक्षले जनाएको छ । नदीमा पानीको बहाव बढ्दो क्रममा रहेकाले कोसी ब्यारेजका ५६ मध्ये २९ वटा ढोका खुला गरी पानीलाई निकास दिएको सुनसरीका प्रहरी उपरीक्षक थापाले बताए । कोशी ब्यारेजमा एक लाख ५० हजार क्यूसेकसम्म पानीको बहावलाई सामान्य मानिन्छ । नदीमा पानीको बहाव बढिरहेकाले आसपास क्षेत्रका बासिन्दालाई सतर्कता अपनाउन स्थानीय प्रशासनले सूचित गरेको छ । २०६५ भदौ २ गते एक लाख ६८ हजार क्यूसेक पानीको बहाव हुदाँ सप्तकोशी नदीले पूर्वी तटबन्ध भत्काएको थियो । पूर्वी तटबन्ध भत्काउँदा ७ हजार ५६३ परिवार विस्थापित भएका थिए ।
सप्तरीको आधा दर्जन गाउँ बाढीको उच्च जोखिममा
केही दिनदेखि लगातार वर्षा भएपछि आएको बाढीले सप्तरीको दक्षिणी क्षेत्रका आधा दर्जन गाउँ डुबानको उच्च जोखिममा परेका छन् ।बाढीका कारण तिलाठी कोइलाडी, लोनीयाँ, सकरपुरा, रम्पुरामल्हनीयासहित आधा दर्जन गाउँ डुबानको उच्च जोखिममा रहेको तिलाठी कोइलाडी गाउँपालिकाका अध्यक्ष सतिश सिंहले जानकारी दिए । चुरे क्षेत्र हुँदै बग्ने खाँडो नदीको बाढीले प्रत्येक वर्ष सप्तरीको दक्षिण भेगका अधिकांश गाउँ डुबान र कटानमा पर्ने गरेको उनले बताए । नदीमा पानीको बहाव बढिरहेकाले आसपास क्षेत्रका बासिन्दालाई सतर्कता अपनाउन पनि उनले आग्रह गरे । खाँडो नदी तटवन्धको काम केही ठाउँमा अधुरो रहेकाले कुनै पनि बेला बाढी तिलाठी कोइलाडीमा आउन सक्ने र गाउँपालिकाका अधिकांश घर डुबानमा पर्न सक्ने जोखिम रहेको स्थानीयवासीको भनाइ छ । २०७३ सालको बाढीले तिलाठी कोइलाडी गाउँपालिका—४ का एक बालकको ज्यान लिएको थियो भने हजारौं घरमा क्षति पु¥याएको थियो । त्यस्तै महुली, जिता, त्रियुगा, बलान, अमाहा, सुन्दरीलगायत दर्जनौं खोलामा आउने बाढीले हरेक वर्ष सप्तरीको अधिकांश गाउँ डुवानमा पर्दा ठूलो धनजानको क्षति हुने गरेको पाइएको छ । यस्तै सप्तरीको सप्तकोशी, कञ्चनरूप, हनुमाननगर कंकालिनी, राजविराज नगरपालिकाका साथै अग्निसाईर कृष्णासवरण, महेदवा, तिरहुत, रुपनी गाउँपालिकाका दर्जनौं गाउँबस्ती प्रत्येक वर्ष वर्षाको समयमा बाढी आउँदा डुवानमा पर्ने गरेको पाइएको छ ।–रासस