पक्की पुल बगाउँदा आवतजावत बन्द

शनिबार, असार १९, २०७८

धादिङ । अविरल वर्षापछि आग्रा र महेश खोलामा आएको  ठूलो बाढीले गएराति थाँक्रे गाउँपालिका—२ र ११ जोड्ने सिम्ले महेशखोलामा भर्खरै ढलान सम्पन्न भएको पक्की पुल बगाएको छ । अविरल वर्षाका कारण आग्रा खोलामा आएको बाढीले खोला किनारमा बसेका १३४ मजदूर परिवारको विचल्ली भएको छ । सबै मजदूरलाई राति नै उद्दार गरी सुरक्षित ठाउँमा राखिएको जनजागृति माध्यमिक विद्यालयका रामचन्द्र रुपाखेतीले बताए ।  खोलामा ढुङ्गा झिक्ने, गिट्टी कुट्ने मजदूरहरू आग्राखोला किनारमा छाप्रो बनाई बस्ने गरेका थिए । अबिरल वर्षासँगै खोलामा बाढी आएपछि उनीहरूको भागाभाग भएको थियो । उनीहरूलाई स्थानीयबासीको सहयोगमा खोला किनारबाट उद्दार गरी गाउँमा सारिएको थियो । तीन दिनदेखिको अविरल वर्षाले जिल्लामा जताततै पहिरो गएको प्रहरीले जनाएको छ । राजमार्गको गल्छी, बैरेनी, जरे, गजुरी, मलेखु, बेनीघाट, जोगिमारा तिकराङ तथा मौवाखोला क्षेत्रमा पहिरोले सडकमा अवरोध पु¥याएको छ ।  सडक माथि खनिएका सहायक मार्गहरूबाट आएको लेदोले कल्भर्टहरू भरिएर भल सडकमा आएपछि राजमार्ग क्षेत्र क्षतिग्रस्त भएको र सफा गर्ने काम पहिरो रोकिएपछि गरिने जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक महेन्द्र खड्काले बताए ।

पहिराले घर पुरिँदा एकै परिवारका दुईको मृत्यु
गोरखामा पहिराले घर पुरिँदा एकै परिवारका दुईजनाको मृत्यु भएको छ । सिरानचोक गाउँपालिका–७ उपल्लो गोहोरेमा आज बिहान माथिबाट खसेको पहिराले ८० वर्षीय रमन पाण्डेको घर पुरिँदा पाण्डेसहित उनकी श्रीमती ७० वर्षीया नन्दकुमारी पाण्डेको मृत्यु भएको प्रहरीले जनाएको छ ।  पहिराले पाण्डेको भूकम्पपछि पुनर्निर्माण गरिएको टिनले छाएको एकतले कच्ची घर पूर्णरूपमा पुरिएको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी नायब उपरीक्षक  प्रकाश दाहालले जानकारी दिए । घटनालगत्तै स्थानीयवासीले उद्धारको प्रयास गरेको भए पनि करीब ४ घण्टापछि दुवैको शव पहिराबाट निकालिएको उनले बताए । इलाका प्रहरी कार्यालय जौबारीबाट गएको प्रहरीको टोलीले स्थानीयवासीको सहयोगमा शव निकालेको हो । सो घरमा पाण्डे दम्पती मात्रै बस्दै आएका थिए ।–रासस
 

प्रकाशित मिति: शनिबार, असार १९, २०७८  १८:४४
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार