सोसल मिडिया
Contact Us
युनिकोड
मनाङ । अविरल वर्षासँगैको बाढीपहिरोबाट जिल्लाको नासोँ गाउँपालिकामा जलविद्युत् आयोजना र सडक भत्किँदा एक अर्ब रुपैयाँ भन्दा बढीको भौतिक क्षति भएको छ । गत जेठ १४ गतेदेखि परेको अविरल वर्षाका कारण आएको बाढीपहिरोबाट गाउँपालिकामा एक अर्ब एक करोड ८३ लाख बराबरको सार्वजनिक भौतिक सम्पत्तिमा क्षति भएको गाउँपालिकाले जनाएको छ । गाउँपालिकाका सूचना अधिकारी गोविन्द रानाभाटका अनुसार सबैभन्दा धेरै सडकमा रु ८३ करोड ६५ लाख बराबरको क्षति भएको छ । नासोँ क्षेत्रभित्र रहेका कच्ची तथा पक्की गरी सडकमा मात्र सो रकम बराबरको क्षति भएको सूचना अधिकारी रानाभाटलले बताए । बाढीपहिरोबाट गाउँपालिकाकै प्रशासनिक भवनमा रु पाँच करोड बराबरको क्षति भएको छ । यहाँका सात पुलमध्ये चार वटा पुल बाढीले बगाएको र तीन वटा पुलमात्र मर्मत गर्न सकिने अवस्थामा रहेको पालिकाले जनाएको छ । पुलमा पूर्ण तथा आशिंक गरी पाँच करोड २० लाख बराबरको क्षति भएको छ ।तीनवटा जलविद्युत् आयोजनामा चार करोड ५० लाख रुपैया बराबरको क्षति भएको सूचना अधिकारी रानाभाटले बताए । यस्तै तीन लाख रुपैयाँ बराबरको एउटा मोटरसाइकल पनि बाढीले बगाएर लगेको छ । यही असार ४ गते मस्र्याङ्दी नदीमा आएको बाढीले मनाङको गाउँपालिकाको भौतिक संरचनामा ठूलो क्षति पु¥याएको हो । पालिकाको वडा नं २ बाहेक सबै वडामा बाढीले ठूलो क्षति पु¥याएको छ । गाउँपालिकाका अध्यक्ष चन्द्र घलेका अनुसार १, ३, ४, ५, ६, ७, ८ र ९ वडा पूर्णरूपमा बाढीपहिराबाट क्षति भएका छन् । वडा नं ३ मा सबैभन्दा धेरै भौतिक संरचनामा क्षति पु¥याएको छ । अध्यक्ष घलेका अनुसार वडा नं १ को ताल गाउँ अहिले बगरमा परिणत भएको छ । मस्र्याङ्दीमा उर्लिएको बाढीले मनाङका विभिन्न स्थानमा ठूलो क्षति पु¥याएको छ ।–रासस