सोसल मिडिया
Contact Us
युनिकोड
धादिङ । पहिरोले अबरुद्ध पृथ्वीराज मार्गको धादिङ् खण्ड सञ्चालनमा आएको छ । बेनीघाट रोराङ गाउँपालिका –१० तिकराङ र मौवाखोला क्षेत्र लगायतका स्थानमा आज बिहान पहिरो खस्दा सो राजमार्ग अबरुद्ध भएको थियो । सडक विभाग र ट्राफिक प्रहरी कार्यालयको डोजरले सडकमा थुप्रिएका पहिरो हटाएपछि सवारी साधन सञ्चालनमा आएको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक महेन्द्र खड्काले जानकारीदिनु भयो । निरन्तर वर्षा भइरहेकोले राजमार्गका ठाउँ ठाउँमा पहिरो झर्न क्रम रोकिएको छैन ।
तनहुँ खण्ड पनि एकतर्फी सञ्चालन पहिरोले अबरुद्ध पृथ्वीराजमार्ग एकतर्फी सञ्चालनमा आएको छ । व्यास नगरपालिका–१२ स्थित छिर्कनेमा आज बिहान पहिरो खस्दा सो राजमार्ग अबरुद्ध भएको थियो । निरन्तरको प्रयासपछि पहिरो हटाएपछि राजमार्ग एकतर्फी सञ्चालनमा आएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक युवराज तिमिल्सिनाले जानकारी दिए । “साना सवारी सञ्चालन भएका छन्, ठूला सवारी सञ्चालनका लागि केही समय लाग्ने देखिएको छ,” उनले भने । मङ्गलबारदेखिको अबिरल वर्षात्का कारण बन्दीपुरस्थित डुम्रेमा पनि आज बिहान पहिरो खसेको थियो । यसैबीच सोही राजमार्ग अन्तर्गत शुक्लागण्डकी नगरपालिका–७ कुम्लेखोला नजिक आधा भाग सडक भासिएको छ । सडक भासिएपनि सवारी साधन सञ्चालन भइरहेको प्रहरीले जनाएको छ । खैरेनीटारतर्फबाट नालामा बगेको पानी सडकबाटै बगिरहेको बताइएको छ । नारयणगढ–मुग्लिन सडक खण्ड पुनः अवरुद्ध नारायणगढ–मुग्लिन सडक खण्ड पुनः अबरुद्ध भएको छ । सो सडक खण्डका केराबारीमा आज दिउँसो पहिरो खस्दा सडक पुनः अबरुद्ध भएको हो । जिल्ला प्रहरी कार्यालयका अनुसार आज बिहान खसेको पहिरो बिहान ११ वजे पन्छाएर सडक दुईतर्फी सञ्चालनमा ल्याइएको थियो । पुनः पहिरो खसे पछि सडक अपराह्न ३ ः १५वजेदेखि अबरुद्ध भएको हो ।
पूर्वी चितवनमा पहिराले दुईको मृत्यु , तीन बेपत्ता पूर्वी चितवनको राप्ती र कालिका नगरपालिकामा पहिरोले बगाएर दुई जनाको मृत्यु र तीन जना बेपत्ता भएका छन् । जिल्ला प्रहरी कार्यालयका अनुसार राप्ती– १२ को पर्खाल भन्ने स्थानमा माथिबाट पहिरो खस्दा दुई घर बगाउँदा घर भित्र रहेका चार जनालाई पहिरोले बगाएको थियो । ती मध्ये एक जना पुरुषको शव घटना स्थलबाट ५० मीटर तल फेला परेको प्रहरी नायव उपरीक्षक सूर्यबहादुर थापाले जानकारी दिए । मृतकको सनाखत हुन सकेको छैन । हराएकाको खोजी भइरहेको छ । यसैगरी कालिका नगरपालिका– ११ दानेटारका ५२ वर्षीय ज्ञानबहादुर चेपाङको पहिरोले बगाएर मृत्यु भएको छ । आफन्तकहाँ जाने क्रममा उहाँलाई पहिरोले बगाएको जनाइएको छ ।