फस्टाउँदै छ भक्तपुरको जुजु धौ व्यवसाय

मंगलबार, असार १५, २०७८

भादगाउँ । असार १५ को अवसरमा रोपाइँमा मात्र होइन, घरघरमा दही चिउरा खाने लोक परम्परा रहेको छ । केही वर्षदेखि असार १५ लाई सरकारले राष्ट्रिय धान दिवसको रुपमा पनि मनाउँदै आएको छ । दही चिउरा खाने परम्पराले असार १५ मा बजारमा दहीको अत्याधिक माग हुने गरेको छ । भक्तपुर दहीको लागि प्रसिद्ध छ । यहाँको जुजु धौ विश्वप्रसिद्ध रहेको छ । दहीका पारखीहरु मात्र होइन, सर्वसाधारण जोसुकैलाई यहाँको दहीले मन लोभ्याउने गर्दछ । जुजु धौको लोकप्रियताले नै यसको व्यवसाय पनि फस्टाएको छ । भक्तपुरको मौलिक उत्पादन जुजु धौको स्वाद र गुणस्तरका कारण यसको माग बढेसँगै व्यवसाय पनि फस्टाएको हो । नेवारी परम्परा अनुसार जन्मोत्सव, शुभकर्म, यात्रा, सफलता र ठूलो दुर्घटना पार लागेको अवस्थामा दिइने सगुन होस् या भोज दहीको उपयोग अनिवार्य मानिन्छ । पछिल्लो समय भोजभतेरलगायत दैनिक उपभोगमा समेत दहीको प्रयोग बढ्दै गएको छ । भक्तपुरको जुजु धौले काठमाडौँ उपत्यकालगायत काभ्रेको बनेपा, पनौती, धुलिखेल, नुवाकोटको त्रिशुलीजस्ता छिमेकी शहरमा समेत माग रहेको भक्तपुर जुजु धौ व्यवसायी सङघका अध्यक्ष कृष्णगोपाल सैंजुले बताए । ‘‘दहीको प्रयोगको दायरा फराकिलो बन्दै गएसँगै जुजु धौको माग समेत दिनदिनानु बढ्दो छ’’, उनले भने, ‘‘झन् विवाहको समयमा त माग धान्न नै धौधौ हुने गर्दछ ।’’
    ठूला विवाह, ब्रतवन्धजस्ता भोजमा डेरीको दही प्रयोग गर्ने पार्टी प्यालेस तथा क्याटरिङ व्यवसायीहरुले समेत अचेल जुजु धौ नै प्रयोग गर्न थालेको सैंजुले बताए । कोरोना महामारीले ठूला भोज आयोजना नहुँदा यो बेलामा भने दहीको मागमा पनि कमी आएको उनले बताइन । भक्तपुरको स्थानीय दहीलाई मल्लकालदेखि जुजु धौको उपमा दिएको संस्कृतिकर्मीहरु बताउँछन् । मल्लकालमा दरबारमा उपयोग गर्ने दहीलाई जुजु धौ भन्ने गरेको संस्कृतिकर्मी ओम धौभडेलले बताए । 
    ‘‘मल्लकालीन समयमा अत्यन्त स्वादिलो, बाक्लो र मसलायुक्त दही दरवारमा मात्र प्रचलनमा थियो । त्यसैले सो गुणस्तरयुक्त दहीलाई जुजु धौको उपमा दिएको हो’’, धौभडेलले भने, ‘‘अचेल यो सर्वसाधारणले पनि उपयोग गर्दछन् ।’’ जुजु धौ भक्तपुरको पहिचानको रुपमा स्थापित भएको छ ।  जुजु धौको स्वाद र गुणस्तर नेपालमा मात्र होइन विदेशमा समेत प्रख्यात रहेको छ । भक्तपुर घुम्न आउने स्वदेशी र विदेशी पर्यटक दहीको स्वाद चाखेर मात्रै जाने गर्दछन् . भक्तपुरको यही जुजु धौको मौलिकता जोगाउन, यसको उपयोगिता, बनाउने विधि, यसको महत्वलाई संरक्षण गर्न भक्तपुर नगरपालिकाले यसलाई स्थानीय पाठ्यक्रममा समावेश गरेको छ । भक्तपुर नगरपालिकाको स्थानीय पाठ्यक्रम ‘ख्वपको पहिचान’ मा जुजु धौलाई पनि समावेश गरिएको छ । जुजु धौ भक्तपुरको मौलिक उत्पादन भएकाले यसको संरक्षणका लागि पाठ्यक्रममा समावेश गरेको नगरपालिकाले जनाएको छ । 

प्रकाशित मिति: मंगलबार, असार १५, २०७८  १४:०७
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार