सरकारका कामलाई गति दिनेबारे उच्चस्तरीय संयन्त्र बैठकमा छलफल

शनिबार, फागुन ३, २०८१

काठमाडौं । सत्तारुढ कांग्रेस–एमाले उच्चस्तरीय संयन्त्रको बैठकमा संसद्‌मा पेस हुने अध्यादेश, सरकारका कामकारबाहीलगायत विषयमा छलफल भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा शुक्रबार बेलुका भएको बैठकमा सरकारले पेस गर्ने अध्यादेशबारे छलफल भएको हो । सरकारले सहकारीसम्बन्धी, आर्थिक तथा व्यावसायिक वातावरण सुधार र लगानी अभिवृद्धिसम्बन्धी, सुशासन प्रवर्द्धन तथा सार्वजनिक सेवा प्रवाहसम्बन्धी, भूमिसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने, निजीकरण (पहिलो संशोधन), आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व (पहिलो संशोधन) अध्यादेश ल्याएको थियो । तर राष्ट्रिय सभाबाट भूमिसम्बन्धी अध्यादेश पारित हुने संभावना नभएपछि संसद्‌मा अध्यादेश पेस हुन सकेको छैन । जनता समाजवादीले भूमिसम्बन्धी अध्यादेश अस्वीकार गरेपछि सरकारले संसद्‍मा अध्यादेश पेस गर्न हच्किएको छ । उच्चस्तरीय संयत्र बैठकमा सरकारका कामकारबाहीलाई प्रभावकारी बनाउने विषयमा पनि छलफल भएको छ । सरकारका निकायबाट अपेक्षित रुपमा काम हुन नसकेको अवस्थामा दुई दलबीच उच्चस्तरमा छलफल भएको हो । प्रधानमन्त्री केपी शर्मा ओली, कांग्रेस सभापति शेरबहादुर देउवा, उपसभापति पूर्णबहादुर खड्का, एमाले वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, महासचिव शंकर पोखरेल, कांग्रेस महामन्त्री गगन थापा, गृहमन्त्री रमेश लेखक र प्रधानमन्त्रीका प्रमुख सल्लाहकार विष्णु रिमाल सहभागी थिए । 

प्रकाशित मिति: शनिबार, फागुन ३, २०८१  ०८:०४
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार