वर्षाका कारण भिजिबिलिटी कमजोर हुँदा आन्तरिक उडान प्रभावित

शनिबार, असार १२, २०७८

काठमाडौं । मनसुनी वायुको प्रभावले काठमाडौँ उपत्यकासहित देशका अधिकांश स्थानमा बदली र वर्षा हुँदा उडान प्रभावित भयो । काठमाडौँमा आज बिहानदेखि निरन्तर वर्षा भइरहेको छ । काठमाडौँको आकाशलाई पू्र्ण रुपमा बादलले ढाकेको छ । प्रतिकूल मौसमका बाबजुद पनि मुलुकको एकमात्र त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट हुने आन्तरिक र अन्तरराष्ट्रिय उडान सामान्य रुपमा सञ्चालन भइरहेको छ । अन्तरराष्ट्रियतर्फ कुनै पनि उडान अवरोध नभएको विमानस्थल कार्यालयले जनाएको छ । आन्तरिकतर्फ केही गन्तव्यको उडान सामान्य प्रभावित भएको छ ।
निरन्तरको वर्षा र बदलीले भिजिबिलिटी कमजोर हुँदा आन्तरिक उडानमा केही असहजता आए पनि अहिले क्रमशः सुधारोन्मुख छ । अन्तरराष्ट्रिय उडानको  कभिजिबिलिटी दुई हजार ५०० रहेको छ । त्यो उडानका लागि उपयुक्त हुन्छ । अन्तरराष्ट्रिय उडानतर्फ अधिकांश बिहानीको समयमा भएका छन् । काठमाडौँ अवतरण गर्ने जहाज बिहानै आइसकेका र साँझपखका उडान मात्र भएकाले कुनै अवरोध नभएको विमानस्थलले जनाएको छ । आन्तरिकतर्फ सीमित सङ्ख्यामा चार्टर्ड र उद्धार उडान मात्रै भइरहेको छ ।
सरकारले यही असार १७ देखि मुलुकको आन्तरिक उडान सञ्चालन गर्ने निर्णय गरेको छ । अन्तरराष्ट्रिय उडानमा पनि असार १० गते बिहीबारदेखि कतिपय गन्तव्यमा केही उडान सङ्ख्या थप गरिएको छ । कोभिड–१९ महामारी नियन्त्रणका लागि सरकारले गत वैशाख १६ गतेदेखि काठमाडौँ उपत्यकासहित मुलुकका विभिन्न स्थानमा निषेधाज्ञा जारी गरेको थियो । आन्तरिक उडान वैशाख २० र अन्तरराष्ट्रिय उडान वैशाख २३ गते रातिदेखि स्थगन गरिएको थियो ।
मनसुनी वायुका कारण देशका धेरैजसो स्थानमा सामान्यदेखि पूर्ण बदली रहनाका साथै धेरै स्थानमा अहिले सामान्यदेखि हल्का वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

पाँच प्रदेशका केही ठाउँमा भारी वर्षा

मनसुनी वायु सक्रिय रहेकाले मुलुकका विभिन्न क्षेत्रमा आज बिहानैदेखि पानी परिरहेको छ । मुख्यगरी प्रदेश १, २, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशमा मौसम पूर्ण बदली भई ठाउँठाउँमा पानी परिरहेको र थोरै ठाउँमा भारी वर्षा हुने जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
यसपालि खुल्दै, पुनः पानी पर्दै तर देशैभरि ढाक्ने गरी वर्षा भने नहुने मौसमविद् प्रतिभा मानन्धरले बताइन् । ‘ती प्रदेशका केही भागमा भारी वर्षाको सम्भावना रहेकाले दुई दिन सावधानी अपनाउनु पर्ने र त्यसपछि कर्णाली र सुदूरपश्चिम प्रदेशमा मौसम सक्रिय हुने देखिन्छ’, उनले भनिन् ।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले वर्षाका कारण जमीन गलिसकेको र विगतमा बाढी पहिरो गएको तथा भूकम्पले क्षति पु¥याएको क्षेत्रमा सानो पानीले पनि असर गर्न सक्ने हुँदा विशेष सावधानी अपनाउन अनुरोध गरेको छ ।
पानी रोकिँदै र पर्दै गर्ने भएकाले ठूलो समस्या ननिम्तिए पनि केही ठाउँमा पर्ने भारी वर्षाले असर गर्न सक्ने हुँदा सावधानी अपनाउनु पर्नेछ । अहिलेको समयमा असारे काम गर्न भने निकै सहयोग पुग्ने जनाइएको छ । देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल देशको दक्षिणी भू–भाग नजिक मनसुनी न्यून चापीय रेखा रहेको जनाइएको छ ।

 

प्रकाशित मिति: शनिबार, असार १२, २०७८  १५:५७
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार