आइजिपी कुँवरको अर्को योजना सफल, डिआइजी भट्टराईलाई पद सुम्पिन एआइजी केसीको राजीनामा

सोमबार, माघ २८, २०८१

काठमाडौं । नेपाल प्रहरीका प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी) रविन्द्र केसीले पदबाट राजीनामा दिएका छन् । एआइजी केसीले शुक्रबार प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवरलाई आफ्नो राजीनामा पत्र बुझाएका हुन् । ‘बिरामी र घरायसी कारणले उहाँले राजीनामा पत्र बुझाउनु भएको छ,’ प्रहरी महानिरीक्षकनिकट स्रोतल भन्यो । केसीले राजीनामा बुझाए पनि यसको अन्तरवस्तु भने 'विशिष्ट' छ । केसीलाई प्रहरी नायब महानिरीक्षक (डिआइजी) जनक भट्टराईका लागि स्थान पक्का गर्ने गरी एआइजी बनाइएको थियो । भट्टराई र केसी दुबै प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवरका ब्याचमेट हुन् । कुँवरले आफ्ना सबै ब्याचमेटलाई एआइजी बनाइसकेका थिए । बाँकी रहेका भट्टराई मात्रै एआइजी हुन बाँकी थिए । गत पुस १७ गते कुबेर कडायत र केसी एआइजी बढुवा हुँदा भट्टराई छुटेका थिए । त्यो बेला केसीलाई बीचमै पदबाट राजीनामा गर्ने 'सर्त' राखेर एआइजी बनाइएको थियो । आफू एआइजी बनेर प्रदेश समन्वय विभागमा पोस्टिङ भएको केही समयमै केसी बिरामी तथा घरायसी कारण भन्दै बिदामा बसेका थिए । ‘केसीको राजीनामा गृह मन्त्रालयमा पठाइन्छ,’ कुँवरको सचिवालयले भन्यो, ‘अब भट्टराईलाई एआइजी सिफारिस गर्ने तयारी छ ।’ यसअघि कुँवरले आफ्ना ब्याचमेट भीम ढकाल, केदार ढकाल, किरण राणा, भरतबहादुर बोहरालाई एआइजी बनाइसकेका थिए । आफ्ना ब्याचमेट सबैलाई परिस्थिति मिलाएर विशिष्ट श्रेणीको पद (एआइजी) बनाउन कुँवर लागिपरेका थिए । त्यसका लागि उनले गृहमन्त्री रमेश लेखकसँग सहमति लिइसकेका थिए । महानिरीक्षक कुँवरलाई सरुवा तथा बढुवामा राजनीतिक शक्तिकेन्द्रसँग 'नतमस्तक' भएको आरोप लाग्ने गरेको छ। केसीको राजीनामालाई त्यसैको 'उपज' ठानिएको छ।

प्रकाशित मिति: सोमबार, माघ २८, २०८१  ०८:१६
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार