सांसद् सिंहले पाेखे सर्लाहीमा नदीकटानको पीडा

बिहीबार, माघ २४, २०८१

काठमाडौं । प्रतिनिधिसभाका सांसद डा. अमरेशकुमार सिंहले नदी कटानले वर्षौंदेखि सर्लाहीका जनता पीडामा रहेको बताएका छन् । प्रतिनिधिसभाको आजको बैठकमा आकस्मिक समय लिएर बालेका सिंहले बागमती नदीको कारण सर्लाहीका जनताको बिजोक हुँदै आएको बताएका हुन् । ‘बागमती नदीको कारणले सर्लाही बरथहवा नगरपालिकाका वडा नम्बर १, २, ४, १३ र १४ कटान हुँदै आएको छ । नदी कटानले गाउँलेको बिजोक छ,’ उनले भने, ‘वर्षौंदेखि सरकारको ध्यानाकर्षण गराइरहेको छु, तर, अहिलेसम्म सुनिएको छैन ।’ सरकारको ध्यान जनताका दूःख अन्त्य गर्न भन्दा मन्त्रीक्वार्टर बनाउनेतिर रहेको उनले टिप्पणी गरे । कांग्रेसका पूर्वनेता रहेका सिंहले ११ वर्ष बितिसक्दा पनि सर्लाहीको धनकौलमा नदीको ब्यारेज नबनेको भन्दै सरकारको ध्यानाकर्षण गराए । ‘२०७० सालमा पनि सरकार कांग्रेसको थियो । प्रधानमन्त्री सुशील कोइरालाले सर्लाही क्षेत्र नम्बर ४ धनकौल गाविसमा रहेको नदीमा ब्यारेज शिलान्यास गर्नुभएको थियो । जम्मा १०, १२ करोडको लागत रहेको ब्यारेज ११ वर्ष बितिसक्दा पनि पूरा भएको छैन । अहिले पनि कांग्रेसकै मन्त्री हुनुहुन्छ,’ उनले भने ।

प्रकाशित मिति: बिहीबार, माघ २४, २०८१  १५:२७
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार