सोसल मिडिया
Contact Us
युनिकोड
प्रधानमन्त्री केपी ओलीले छिमेकी देशसँग उत्ताउलो नभईकन खुलस्त र मित्रतापूर्ण रूपमा आफ्ना जायज कुरा राख्नुपर्ने बताएका छन्। नेकपा (एमाले)को परराष्ट्र मामिला विभागद्वारा सोमबार आयोजित ‘नेपालको परराष्ट्र नीतिबारे सांसद संवाद’ कार्यक्रमलाई आज सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले साना र ठुला राष्ट्रको हित समान हित हो भन्ने मान्यताका साथ नेपालको सार्वभौमिकता, स्वाभिमान र भौगोलिक अखण्डताका पक्षमा नेपाल सदैव कटिबद्ध रहने जनाए । ‘हामी हाम्रो राष्ट्रिय हितका कुरा गरिरहँदा विश्वशान्ति र मानवीय हितलाई पनि सँगै राखेर हेर्ने गर्छाैँ । संयुक्त राष्ट्रसंघको बडापत्र, पञ्चशील र असंलग्नताका सिद्धान्तबाट हामी निर्देशित छौँ । हामी पारस्परिक लाभ र सहअस्तित्वमा विश्वास गर्छाैँ,’ प्रधानमन्त्री ओलीले भने, ‘हाम्रा कोही शत्रु छैनन्, सबै हाम्रा मित्र हुन् भन्ने भावका साथ हामीले वैदेशिक सम्बन्ध कायम गर्छाैँ ।’ भूराजनीतिक परिस्थितिलाई सन्तुलित रूपमा सामना गर्न नेपाल सक्षम रहेको उनले बताए । उनले भने, ‘भूराजनीतिलाई देखाएर आफ्नो कायरतालाई लुकाउने काम हामी गर्दैनौँ । राष्ट्रिय हितको रक्षा गर्न भूराजनीतिक परिस्थितिलाई हामी सन्तुलित रूपमा सामना गर्न सक्छौँ । छिमेकी देशसँग उत्ताउलो नभईकन खुलस्त र मित्रतापूर्ण रूपमा आफ्ना जायज कुरा राख्नुपर्छ । जिब्रो लट्पट्याएर नबुझिने गरी कूटनीतिक संवाद गर्नुपर्छ भन्ने छैन । बुझिने गरी संवाद गर्नुपर्छ । त्यसरी कुरा गर्दा अर्काे पक्षले पनि आफ्नो धारणा बनाउन सहजता महसुस गर्न सक्छ ।’ राष्ट्रिय स्वार्थलाई तिलाञ्जली दिएर सत्तास्वार्थका लागि घुँडा टेक्नु राष्ट्रिय हित नभएको र सानो देश हौँ भन्ने हीनताभाव पाल्नुपर्ने आवश्यकता नरहेको प्रधानमन्त्री ओलीको धारणा छ। राष्ट्रिय हितभन्दा सत्तास्वार्थ र स–साना कुराहरूलाई महत्त्व दिने प्रवृत्ति गलत भएको उल्लेख गर्दै नेपालले आर्थिक, सांस्कृतिक र कूटनीतिक हितलाई ध्यान दिएर विश्वसनीय र जिम्मेवार रूपमा आफूलाई प्रस्तुत गर्ने बताए । संसदमा हरेक विषयमा विस्तृत अध्ययन र तयारीका साथ प्रस्तुत हुन र संसद्लाई जिउँदोजाग्दो बनाउन सांसदहरूलाई उनले सुझाव दिएका छन् । कार्यक्रममा विश्व व्यवस्थामा नेपालको परराष्ट्र नीति, बदलिँदो भूराजनीतिक परिवेश, जलवायु राजनीति र कूटनीतिजस्ता विषयमा परराष्ट्र मामिलाविज्ञहरूले कार्यपत्र प्रस्तुत गरेका थिए।