सोसल मिडिया
Contact Us
युनिकोड
काठमाडौं । हमास अतिवादी समूहको नियन्त्रणमा रहेका नेपाली युवा विपिन जोशीको रिहाइका लागि परराष्ट्र मन्त्री डा. आरजु राणा देउवाले आज साँझ इजरायलका विदेशमन्त्री गिडियन सारसँग पनि फोनवार्ता गरकी छन् । हमासले आफ्नो नियन्त्रणमा रहेकामध्ये केहीलाई मुक्त गर्न लागेको समाचार आएपछि परराष्ट्रमन्त्री डा राणाले विपिनको रिहाइका लागि पहल गरिदिन विदेशमन्त्री सारमार्फत् इजरायल सरकारसँग आग्रह गरेकी छन् । फोनवार्तामा मन्त्री डा.राणाले इजरायल सरकारले विपिन सहित सबै बन्दीका पक्षमा निर्वाह गरिरहेको भूमिकाका लागि धन्यवाद दिँदै नेपाली युवा विपिनलाई हमासको नियन्त्रणबाट मुक्त गराउन पहल गर्नका लागि विशेष आग्रह गरेकी हुन् । त्यस अवसरमा मन्त्री सारले विपिनको सकुशल रिहाइका लागि इजरायल सरकारले अधिकतम प्रयास गरिरहेको जानकारी मन्त्री डा राणालाई गराएका थिए । साथै विदेशमन्त्री सारले आज बिहान परराष्ट्रमन्त्री डा. राणाले कतारका मन्त्रीसँग कुराकानी गरेकोमा खुसी पनि व्यक्त गरेका थिए । कतारका मन्त्री हमाससँगको शान्तिवार्ताका प्रमुख वार्ताकार एवं मध्यस्थकर्ता भएकाले उनको भूमिका महत्वपूर्ण रहेको इजरायली विदेशमन्त्रीको भनाई थियो । आज बिहान नै मन्त्री डा राणाले कतारका विदेश राज्यमन्त्री डा. मोहम्मद बिन अब्दुलाजिज अल‐खुलाइफीसँग फोनवार्ता गरी सोही आग्रह गरेकी थिइन् । हमास समूहले केही बन्दी रिहा गर्न लागेको समाचारपछि मन्त्री डा. राणाले इजरायल सरकार र हमाससँग सम्पर्कमा रहेर युद्धविरामका लागि मध्यस्थता गरिरहेका कतार र इजिप्टसँग सम्पर्क गरी विपिनको रिहाइका लागि अपिल गरिरहेकी छन् । गत हप्तामात्र उनले इजिप्ट सरकारसँग पनि यस्तै आग्रह गरेकी थिइन् । विपिनको रिहाइका लागि सरकारले कूटनीतिक प्रयासलाई जारी राखेको छ । मन्त्री डा. राणाले संयुक्त राष्ट्रसंघ, अन्तर्राष्ट्रिय एवं क्षेत्रीय मञ्चहरु र बैठकहरुमार्फत विपिनको रिहाइका लागि आग्रह गर्दै आएकी छन् ।