धरौटीमा छुटेपछि रविको प्रतिक्रिया, न्यायालयप्रति विशेष आभारी छु, समय आएपछि बोलुँला

शुक्रबार, पुस २६, २०८१

काठमाडौं । रास्वपा सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछाने सहकारी ठगी अभियोगमा ६५ लाख रुपैयाँ धरौटी बुझाएर कास्की जिल्ला अदालतबाट रिहा भएपछि संक्षिप्त प्रतिक्रिया दिएका छन् । उनले न्यायप्रणालीमा विश्वास गर्ने ठाउँ प्राप्त गरेको र बाँकी समय आएपछि बोल्ने बताएका छन् । उनले आफ्ना सहयोगीहरुसँगको फेसबुक लाइभमा संक्षिप्त प्रक्रिया दिँदै भने, ‘सबै जनालाई धेरैधेरै धन्यवाद । म बोल्ने समय आएपछि नबोल् भने पनि बोलुँला । धेरै लडाइँ बाँकी नै छ। जजसले माया गर्नुभयो, सबैलाई धन्यवाद । न्यायालयप्रति म विशेष आभारी छु । न्यायप्रणालीमा विश्वास गर्ने ठाउँ प्राप्त गरेकोमा धन्यवाद भन्न चाहन्छु ।’
कास्की जिल्ला अदालतका न्यायाधीश नितिज राईको इजलासबाट भएको आदेश अनुसार रवि ८४ दिनको हिरासत बसाइँपछि रिहा भएका हुन् । सूर्यदर्शन सहकारीको रकम संगठित तवरले ठगी गरेको र गैरकानुनी सम्पत्ति शुद्धीकरण गरेको आरोपमा अनुसन्धानका गर्न प्रहरीले गत कात्तिक २ गते काठमाडौँबाट पक्राउ गरी पोखरा लगेको थियो। यसबीचमा उनीमाथि रुपन्देही, काठमाडौँ, चितवन र पर्साका अन्य सहकारी ठगी गरेको आरोपमा पनि मुद्दाको तयारी भइरहेको छ । काठमाडौँ जिल्ला अदालतमा स्वर्णलक्ष्मी सहकारी ठगी प्रकरणमा उनका विरुद्ध मुद्दा दायर भइसकेको छ। उनले काठमाडौँ जिल्ला अदालतमा आफै उपस्थित हुने कागज गरेपछि प्रहरीले उनकी पत्नी निकिता पौडेलको जिम्मा लगाएको हो। अब उनी काठमाडौँ जिल्ला अदालतमा हाजिर हुनुपर्नेछ । आज शुक्रबार उनी काठमाडौँ जिल्ला अदालतमा हाजिर हुने उनका सहयोगीले फेसबुक लाइभमै बताएका छन् । 
 

प्रकाशित मिति: शुक्रबार, पुस २६, २०८१  ०६:१८
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार