नागार्जुनका मेयर बस्नेतविरुद्ध सम्पत्ति शुद्धीकरण र भ्रष्टाचार अभियोगमा मुद्दा दायर

आइतबार, पुस १४, २०८१

काठमाडौं । काठमाडौंको नागार्जुन नगरपालिकाका मेयर मोहनबहादुर बस्नेतविरुद्ध भ्रष्टाचार र सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुरमा दुई छुट्टाछुट्टै सजाय मागदाबीसहित विशेष अदालतमा मुद्दा दायर भएको छ । घरजग्गा कारोबारी राजुप्रसाद कँडेलबाट घुसबापत रकम लिएर त्यसलाई शुद्धीकरण गरेको अभियोगमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बस्नेतविरुद्ध सार्वजनिक पदको दुरुपयोग गरी घुस लिएको र घुसबापतको रकमलाई शुद्धीकरण गरेको अभियोगमा छुट्टाछुट्टै सजाय मागदाबीसहित आइतबार विशेष अदालतमा मुद्दा दायर गरेको हो । बस्नेत २०७४ र पछिल्लो पटक २०७९ गरी दुवै स्थानीय तह निर्वाचनमा कांग्रेसबाट मेयरमा विजयी भएका थिए । कँडेल पद्मा कोलोनी प्रालि र पद्मा मर्चेन्ट कम्पनी प्रालिका सञ्चालक हुन् । घरजग्गा कारोबारका क्रममा मेयर बस्नेतले कँडेलबाट घुस लिएको अनुसन्धानबाट खुलेको हो । विशेष अदालतमा दायर अभियोगपत्रअनुसार कँडेलबाट लिएको घुसलाई शुद्धीकरण गरी बस्नेतले अन्यत्रै लगानी गरेको पनि खुलेको छ । यही प्रकरणमा उनीविरुद्ध सम्पत्ति शुद्धीकरणको मुद्दा पनि थपेर अभियोगपत्र दायर गरिएको हो । घुसलाई शुद्धीकरण गरेको अभियोगमा मेयर बस्नेतकी पत्नी उर्मिला बस्नेतलाई पनि मेयर बस्नेतविरुद्ध मागदाबी गरिएसरह नै सजाय गर्नुपर्ने अख्तियारले विशेष अदालतमा दायर गरेको अभियोगपत्रमा उल्लेख छ । घुस दिने व्यापारी कँडेललाई पनि अख्तियारले घुसबापतको रकमलाई बिगो कायम गरी कैद र जरिवानाको सजाय मागदाबी गरेको छ ।

प्रकाशित मिति: आइतबार, पुस १४, २०८१  २१:१८
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार