सोसल मिडिया
Contact Us
युनिकोड
काठमाडौं । श्रम तथा सामाजिक सुरक्षामन्त्री शरत्सिहं भण्डारीले घरेलु कामदारका रुपमा खाडी गएका सबै महिलाहरुसँग दुव्र्यवहार हुन्छ भन्ने गलत भाष्य निर्माण भएको बताएका छन् । काठमाडौंमा बिहीबार आयोजित श्रमिकहरुको सुनुवाइ कार्यक्रममा बोल्दै उनले घरेलु कामदारका रुपमा काम गर्ने धेरैको राम्रो अवस्था रहेको भएता पनि खाडीमा सबै महिलाहरुसँग दुव्र्यवहार हुन्छ भन्ने गलत भाष्य निर्माण हुनु उचित नरहेको बताए । उनले भने, ‘घरेलु कामदारको विषयमा जुन भाष्य परिभाषित गरिएको छ । जे कुरामा पनि सकारात्मक र नकारात्मक दुबै कुरा हुन्छन् । तर नकारात्मक कुरालाई मात्र किन अगाडि ल्याउने ? १०–२५ वर्ष नै घरेलु कामदारका रुपमा रहेकाहरुको अवस्था राम्रो पनि छ नि । धेरै सङ्ख्यामा राम्रो नै भएको देखेको छु । नेपालमा चाँही सबै दिदी बहिनीहरुको अवस्था राम्रो छ त ? काठमाडौंमा पनि केही ठाउँको केही घट्नालाई हेरे खाडीमा सबै महिलाहरुसँग दुव्र्यवहार हुन्छ भन्ने खालको भाष्य कत्तिको उचित हुन्छ ? फर्केर आएका महिलालाई पनि यसले बदमासी ग¥यो होला भन्ने खालको भाष्य अनि कसरी समाज बन्छ ।’ उनले वैदेशिक रोजगारमा जाने नेपालीहरुले सिप र ज्ञान सिकेर नजाँदा धेरै दुख पाइरहेको अवस्था रहेको पनि बताए ।
'बैदेशिक रोजगारीबाट फर्किएर आएकाहरुले मुलक बनाउने हो' यसैगरी ललितपुरमा बिहीबार नै आयोजित कार्यक्रममा श्रम मन्त्री भण्डारीले बैदेशिक रोजगारीबाट फर्किएर आएकाहरुले मुलक बनाउने बताएका छन् । अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस २०२४ का अवसरमा पौरखी नेपाल र राष्ट्रिय महिला आयोगको संयुक्त आयोजनामा ललितपुरमा आज भएको श्रमिकहरुको सुनुवाई कार्यक्रममा मन्त्री भण्डारीले भने, विदेशबाट फर्केका श्रमिकहरुले काम गर्ने संस्कारसंगै केही न केही पूँजी लिएर आएका हुन्छन् । त्यसलाई उपयोग गर्न सक्नुपर्छ । 'वैदेशिक रोजगारमा जाँदा उनीहरुले केही न केही ज्ञान, सीप, संस्कार र लगनशीलता सिकेर आएका हुन्छन्, श्रम र समयको मुल्य बुझेर आएका हुन्छ, उनीहरुमा भएको सीप, क्षमता दक्षतालाई प्रयोगमा ल्याउनु राज्यको चुनौती हो, यसलाई मुलुकको समस्टिगत समृद्धिमा कसरी जोड्ने भन्ने कुरालाई ध्यान दिएर प्रविधिको प्रयोग गर्दै हामीले केही गर्ने खोजिरहेका छौं।ू उनले भने । सीप सिकेर मात्रै बैदेशिक रोजगारमा जाने वातावरण तयार गर्नु आजको अनिवार्य सर्त हो, अहिलेको परिवर्तित सन्दर्भमा घरेलु कामदार र महिला कामदारलाई नकारात्मक कुरालाई उछालेर अफवाह फैल्याइनु हुँदैन, केही एकाध घटनालाई लिएर इमानदारीपूर्वक काम गर्नेलाई असर पर्ने गरी नकारात्मक ढंगले हेरिनु हुँदैन, हरेक समस्या समाधानमा कठोर भएर निर्णय गरिनुपर्छ', मन्त्री भण्डारीले भने । राष्ट्रिय महिला आयोगका अध्यक्ष कमलाकुमारी पराजुलीले वैदेशिक रोजगार बाध्यता र परिस्थितिजन्य अवस्थाको आवश्यक भएको बताइन् । सुरक्षित आप्रवासनका लागि राष्ट्रिय सञ्जालका अध्यक्ष चिरञ्जीवी बरालले बैदेशिक रोजगारबाट फर्किएकाहरुलाई नेपालम मेहनत प्रतिफल पाउन र लागत उठाउन समस्या भएको जानकारी गराए । कार्यक्रममा सरोकारवालाहरुले बैदेशिक रोजगारबाट फर्किएकाहरुलाई रोजगारी सृजना गर्दा कर छुट दिनुपर्ने, उद्यम सञ्चालनका विनाधितो ऋण प्रवाहको व्यवस्थापन गरिनुपर्ने, अनुदान दिने पद्धतिलाई निरुत्साहित गरिनुपर्नेमा जोड दिएका छन् । पौरखी नेपाल वैदेशिक रोजगारमा गएर स्वदेश फर्किएका महिला श्रमिकहरु संगठित भएर गठन भएको संस्था हो । बैदेशिक रोजगारमा संलग्न महिला श्रमिकहरुको अधिकार सुनिश्चित गर्न स्थापना गरेको यो संस्थाले आफ्नो स्थापना कालदेखि नै वैदेशिक रोजगारमा संलग्न भएका आप्रवासी महिला श्रमिक तथा तिनका परिवारको हक र हितका लागि सहयोग गर्दै आइरहेको जानकारी गराइएको छ । आप्रवासी श्रमिकहरुको अधिकारलाई कानूनी तथा व्यवहारीक रुपमा सुनिश्चित गर्न हरेक वर्ष डिसेम्बर १८ लाई अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस मनाइँदै आएको छ ।