सोसल मिडिया
Contact Us
युनिकोड
काठमाडौं । काठमाडौंमा हुण्डी कारोबारमाथि प्रहरीले आक्रामक कारबाही चलाएको छ ।यसक्रममा प्रहरीले दुई दिनमा ९४ लाख ५० हजार नगदसहित हुण्डी कारोबारमा संलग्न व्यक्तिहरूलाई पक्राउ गरेको छ । प्रहरीले मंगलबार राति काठमाडौं महानगरपालिका-९ सिनामंगल शम्भुमार्गस्थित सडकबाट स्रोत नखुलेको नगद ६८ लाख रुपैयाँसहित चारजनालाई पक्राउ गरेको छ । भोलिपल्ट बुधबार दिउँसो साढे २ बजे काठमाडौं महानगरपालिका-९ बत्तीसपुतलीबाट प्रहरीले साढे २६ लाख रुपैयाँ स्रोत नखुलेको रकम बरामद गरेको छ । मंगलबार राति पक्राउ पर्नेहरूमा काठमाडौं महानगरपालिका-३२ दोभानपुल बस्ने ४६ वर्षीय राजकुमार माली, सोही महानगरपालिका-१० नयाँ बानेश्वर बस्ने १८ वर्षीय किशोर, सोही महानगरपालिका-७ शान्तिगोरेटो बस्ने झापा अर्जुनधारा नगरपालिका-७ घर भएका ३२ वर्षीय प्रवेशकुमार पौडेल र झापा विर्तामोड नगरपालिका-५ घर भएका २७ वर्षीय युवराज सुवेदी रहेका छन् । प्रहरी वृत्त गौशालाका प्रहरी नायब उपरीक्षक सुकदेव खनाल नेतृत्वको प्रहरी टोलीले प्रदेश ३-०१-०२२ च १९७२ नम्बरको कारमा सवार उनीहरूलाई स्रोत नखुलेको नगदसहित पक्राउ गरेको थियो । भोलिपल्ट काठमाडौं-९ बत्तीसपुतलीबाट स्रोत नखुलेको २६ लाख ५० हजार रुपैयाँसहित चार जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ ।
पक्राउ पर्नेमा गुल्मी तम्घास नगरपालिका-४ घर भएका ५२ वर्षीय भेषराज पाण्डे छन् । उनी बत्तीसपुतलीमा श्री बालाजी इम्पोर्ट प्रालि नामक कम्पनीका सञ्चालक हुन् । प्रहरी नायब उपरीक्षक खनाल र परिसरको टोलीले कम्पनीमा छापा मार्दा भारतीय नागरिक ५२ वर्षीय बस्नतकुमार राठी, काठमाडौं - १ कमलपोखरीका ३५ वर्षीय प्रनिश थापा र काठमाडौं-१६ का ५२ वर्षीय सुरेश अधिकारी रहेका छन् । उनीहरू उक्त कम्पनीमा शंकास्पद गतिविधि गरिरहेका थिए । सूचना पछ्याउँदै गएको प्रहरी टोलीले उनीहरूलाई नगदसहित पक्राउ गरेको परिसर प्रवक्ता प्रहरी उपरीक्षक (एसपी) नवराज अधिकारीले बताए । पक्राउ परेकामाथि आवश्यक बैंकिङ कसुर तथा सम्पत्ति शुद्धीकरण ऐन अनुसार अनुसन्धान थालिएको छ । यी दुबै कारबाहीमा गौशालाका प्रहरी नायब उपरीक्षक (डिएसपी) खनालले महत्वपूर्ण भूमिका निर्वाह गरेका छन् । स्रोत नखुलेको रकम हुण्डी कारोबारमा प्रयोग हुने गरेको छ। आयस्रोत नदेखिएको त्यस्तो रकम कारोबारबाट मानिसले कालो धन आर्जन गरेको हुनसक्ने शंका बढी रहन्छ । काठमाडौंमा हुन्डी कारोबार हुने मुख्य क्षेत्र यसअघि न्युरोड कहलिन्थ्यो । अहिले त्यहाँबाट विस्तार हुँदै अन्य क्षेत्रमा पुगेको छ । भिडभाड र व्यापारिक गतिविधि हुने क्षेत्रमा हुन्डी कारोबार बढी हुने गरेको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) वसन्त रजौरे बताउँछन् । हुन्डी एक किसिमको ‘रेमिट्यान्स’ नै हो । तर यो अनौपचारिक माध्यमबाट आउने भएकाले रेमिट्यान्समा गनिँदैन । हुन्डी अन्तरदेशबीच पैसा कारोबार गर्ने अवैध माध्यम हो, दुबै देशमा सम्पर्क व्यक्तिहरू राखेर यस्तो कारोबार गरिने गरिएको छ । अनौपचारिक क्षेत्रबाट आएको रेमिट्यान्सले विदेशी मुद्राको सञ्चिति घटाउने, अनौपचारिक क्षेत्रमा लगानी हुने हुनाले अनधिकृत व्यापार, व्यवसायसँगै राजश्वसमेत घटाउँछ । प्रहरीका अनुसार हुन्डी कारोबारले बैंक तथा वित्तीय कारोबारको दायित्व पूरा गरेको हुँदैन । राष्ट्र बैंकले लागू गरेको बैंकिङ प्रणालीभित्रबाट कारोबार नहुने भएकाले यो गैरकानुनी हो । हुन्डीको प्रमुख स्रोत रेमिट्यान्स हो। कतार, दुबई, साउदी अरब, मलेसियाबाट नेपालमा रेमिट्यान्स औपचारिक र अनौपचारिक दुई तरिकाले आउने गरेका छन् । नेपालमा बस्ने तर भारतीय व्यक्तिहरू समेत यो कार्यमा देखिएको रजौरे बताउँछन् । हतार हतारमा कुनै कारोबार गर्नुपर्दा उनीहरू एजेन्टमार्फत् व्यक्ति(व्यक्तिका हातमा रकम पुर्याइदिने चाँजो मिलाउँछन् । राष्ट्र बैंकका अनुसार हुन्डी कारोबार रोक्नका लागि नेपालमा विभिन्न रेमिट कम्पनीलाई लाइसेन्स दिइएको छ । उनीहरूमार्फत् औपचारिक च्यानल प्रयोग गरी रेमिट्यान्स पठाउन सकिन्छ । परिसर प्रमुख रजौरे हुण्डी मात्रै नभएर काठमाडौंमा हुने हरेक गैरकानुनी गतिविधि छिन्नभिन्न पार्न प्रहरी सक्रिय रहेको बताउँछन् । ‘हामीले सूचना संकलन गर्ने, गैरकानुनी गतिविधि भएको ठाउँमा द्रूत कारबाही चलाइरहेका छौं,’ उनले भने, ‘अहिलेसम्म सफलता हात पारिरहेका छौं, मंगलबार र बुधबार कारबाही गरेको क्षेत्रमा सर्च अपरेशन चलाएका छौं ।’