कोरियाको सिप, श्रम र सम्पत्ति नेपालमा सदुपयोग गर्न मन्त्री भण्डारीको आग्रह

बुधबार, पुस ३, २०८१

काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले दक्षिण कोरियामा रहेका गैरआवासीय नेपालीलाई त्यहाँ सिकेको सिप, गरिरहेको श्रम र आर्जन गरेको सम्पत्तीको नेपालमा सदुपयोग गर्न आग्रह गरेका छन् । नेपाल र कोरिया बिच दुई देशीय सम्बन्ध कायम भएको ५० बर्ष पुगेको अवसरमा कोरियाको पाँच दिने औपचारिक भ्रमणमा रहेका मन्त्री भण्डारीले गैरआवासीय नेपाली सङ्घ राष्ट्रिय समन्वय परिषद्द्धारा आज आयोजित स्वागत तथा भेटघाट कार्यक्रममा नेपालमा ढुक्क भएर लगानी गर्न आग्रह गरेका हुन् । सो कार्यक्रममा उनले आग्रह गर्दै भने ‘तपाइँहरुले सिकेको सिप, गरिरहेको श्रम र आर्जन गरेको सम्पत्ती ढुक्क भएर नेपालमा सदुपयोग गर्नुस्, नेपाल सरकार पूँजीको संरक्षण र प्रवद्र्धन गर्न प्रतिबद्ध छ ।’ साथै विदेशी लगानी भित्र्याउनका लागि सरकारले कुनै कसर बाँकी नराख्ने जानकारी गराउँदै मन्त्री भण्डारीले लगानी भित्र्याउन र लगानी सुरक्षाका लागि कानुनमा भएका सबै असहजतालाई सरकारले संशोधन तथा पुनरावलोकन गर्ने प्रतिबद्धता जनाए ।  गैरआवासीय नेपालीहरुले मन्त्री भण्डारी समक्ष नेपालमा लगानी भित्र्याउन आफुहरु तयार रहेको र नेपाल सरकारले लगानी संरक्षणको ग्यारेन्टी गर्नुपर्नेमा जोड दिएको उनको भ्रमण दलमा रहेका स्वकिय सचिव आनन्द भट्टले जानकारी दिए ।

प्रकाशित मिति: बुधबार, पुस ३, २०८१  २०:३९
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार