सोसल मिडिया
Contact Us
युनिकोड
काठमाडौं । सहकारीको रकम अपचलन प्रकरणमा जोडिएकाहरूमध्ये एक चर्चित नाम हो– गीतेन्द्रबाबु राई (जीबी राई) । ओखलढुंगाका राईले सहकारीको सञ्जाल नै बनाएर विभिन्न जिल्लाका बचतकर्ताबाट संकलन गरेको रकम अपचलन गरेको आरोप छ । यही कसुरमा संलग्न रहेको आरोपमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने दुई महिनादेखि कास्की प्रहरीको हिरासतमा छन् । जीबी राई १६ महिनादेखि फरार छन् । १४ भदौ २०८० मा बचतकर्ताको रकम हिनामिना गरेको भन्दै जाहेरी परेपछि जिल्ला प्रहरी कार्यालय कास्कीले राईसहित १९ जनाविरुद्ध पक्राउ पुर्जी जारी गरेको थियो । त्यसमध्ये कुमार रम्तेलसहित केही पक्राउ परे तर, जीबी राईलाई सरकारले नियन्त्रणमा लिन सकेको छैन । यसरी राज्यले चाहँदा समेत कुनै व्यक्तिलाई नियन्त्रणमा लिएर अनुसन्धान गर्न नसक्ने अवस्था कसरी बन्यो र भविष्यमा यस्तो हुन नदिनका लागि के गर्न सकिन्छ भनेर संसदीय समितिमा छलफल भएको छ । ‘जीबी राईको अहिलेको आरोपबारे अनुसन्धान अख्तियारको क्षेत्राधिकारमा छैन । तर, अख्तियारको अनुसन्धान दायरामा रहेको कुनै व्यक्ति जीबी राई जस्तै लामो समयसम्म फरार रहन सक्ने अवस्था आयो भने के गर्ने ?,’ अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन संशोधन विधेयकमाथिको छलफलमा एक सांसदले भने । छलफलमा सहभागी अख्तियार दुरुपयोग अनुसन्धान आयोगका एक उच्च अधिकारीले पनि यो प्रश्न आफूहरूको समेत रहेको भन्दै समर्थन जनाए ।