सोसल मिडिया
Contact Us
युनिकोड
सीमाक्षेत्रबाट हुने अवैध कारोबार नियन्त्रण गर्न सुरक्षाकर्मीलाई गृहमन्त्री रमेश लेखकले निर्देशन दिएका छन् । लुम्बिनी प्रदेशस्तरीय सुरक्षा गोष्ठीकोे भैरहवामा उद्घाटन गर्दै गृहमन्त्री लेखकले लुम्बिनी प्रदेश खुला सीमाक्षेत्रमा जोडिएका जिल्लाहरू रहेकाले सीमाक्षेत्रबाट हुने अवैध कारोबार नियन्त्रण गर्न सबै निकायका सुरक्षा प्रमुखहरूलाई निर्देशन दिएका हुन् । मुलुकको दिगो विकासका लागि शान्ति सुरक्षा आवश्यक भएको बताउँदै सुरक्षा निकायले विशेष ध्यान दिनुपर्ने बताए । मुलुकमा दिगो शान्ति, विकास र समृद्धि कायम गर्न अनैतिक कार्य, ठगी, लुटपाट, तस्करी, चेलीबेटी बेचबिखन, लागुऔषधजस्ता कानुनविपरीतका कामहरूलाई निस्तेज पार्नुपर्ने बताए । शान्तिसुरक्षा भएन भने दिगो विकास हुँदैन । नागरिकलाई म सुरक्षित छु भन्ने अनुभूति हुनुपर्छ । कार्यक्रममा लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले मुख्यमन्त्रीको स्कर्टिङका लागि आवश्यक अगुवा–पछुवा गाडीहरू हटाउन सुझाव दिए । ‘मैले हेरिरहेको छु, मेरो अगुवा र पछुवामध्ये पछुवा गाडी हटाइसकेको छु, आज सुरक्षा निकायसँग अगुवा गाडीका विषयमा पनि छलफल गरौँ । मुख्यमन्त्रीले पाउने अगुवा गाडीका सुरक्षा निकायलाई अन्यत्र सुरक्षामा लगाउन सकिन्छ,’ उनले भने । उनले प्रदेशका मन्त्रीहरूलाई खर्च कटौतीका लागि आफ्नाे जिल्लामा जाँदा सकेसम्म टिएडिए नलिन सुझाव दिए । होटेलभन्दा पनि सकेसम्म गेस्ट हाउसको प्रयोग गर्न सुझाव दिए । ‘फजुल खर्च कटौती गरौँ,’ मुख्यमन्त्री आचार्यले भने ।