एकीकृत समाजवादीले तत्काल कुनै पार्टीसँग एकता नगर्ने

मंगलबार, पुस २, २०८१

एकीकृत समाजवादीले ‘आन्दोलनद्वारा पार्टी निर्माण’ कार्ययोजना पारित गरेको छ । पार्टी कार्यालय मीनभवनमा सोमबार बसेको स्थायी कमिटी बैठकले कार्ययोजना पारित गरेको हो । आन्दोलनकै बिचबाट पार्टी निर्माण गर्नुपर्नेमा जोड दिएर महासचिव घनश्याम भुसालले कार्ययोजना प्रस्तुत गरेका थिए । जनताको घरघरबाटै जनसंघर्षको माध्यमबाट पार्टी निर्माण गर्ने निष्कर्षमा पुगेको उपाध्यक्ष जगन्नाथ खतिवडाले बताए । आगामी निर्वाचनमा पार्टीलाई सशक्त रूपमा उभ्याउने र गठबन्धन नगरी निर्वाचनमा जाने गरी तयारी गर्ने उनले बताए । बैठकले तत्काल कुनै पनि पार्टीसँग एकता नगर्ने निष्कर्ष निकालेको पनि खतिवडाले बताए । ‘आगामी निर्वाचनमा एकीकृत समाजवादीलाई सशक्त प्रतिस्पर्धी पार्टीको रूपमा उभ्याउने र कलम चिह्नका उम्मेदवारलाई देशभर स्थापित गर्ने गरी छलफल भयो । हालको अवस्थामा अन्य कुनै पनि कम्युनिस्ट पार्टीहरूसँग एकीकरण हुँदैन । तर, सहकार्यको सम्भावना भने सधैँ जीवितै रहेको हुँदा विभिन्न राष्ट्रिय एजेन्डामा सहकार्य गर्न तयार छौँ,’ खतिवडाले भने । गत शुक्रबारदेखि बैठक जारी छ ।

प्रकाशित मिति: मंगलबार, पुस २, २०८१  ११:४७
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार