सोसल मिडिया
Contact Us
युनिकोड
पोखरा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने विरुद्धको अनुसन्धानमा प्रहरीले प्रतिवेदन जिल्ला सरकारी वकिल कार्यालयमा बुझाइसके पनि अझै केही दिन म्याद थप्ने तयारी गरिएको छ । प्रहरीको प्रतिवेदन अध्ययन गरेर अभियोजन तयार गरिरहेकाले अझै केही दिन म्याद थप्न अनुमति मागिने जिल्ला सरकारी वकिलको कार्यालय कास्की स्रोतले बतायो । पछिल्लो पटक थपिएको ५ दिनको म्याद सकिनु अगाडि नै प्रहरीले सोमबार लामिछानेसहित गोर्खा मिडिया प्रालिका पूर्वउपाध्यक्ष तथा पूर्वडिआइजी छविलाल जोशी, नेचर हर्ब्सका सञ्चालक रामबहादुर खनाल, जीबी राइसँग मिलेर सहकारीको रकम अपचलन गरेको आरोपमा पक्राउ परेकी लिला पछाईविरुद्धको अनुसन्धान प्रतिवेदन सरकारी वकिल कार्यालयमा बुझाएको छ । ‘हामीले ३ वटै कसुरमा भएको अनुसन्धान प्रतिवेदन सरकारी वकिलको कार्यालयमा बुझाएका छौं । सरकारी वकिलको कार्यालयले सो प्रतिवेदनलाईसमेत आधार मानेर अदालतमा अभियोजन पेश गर्ने छ,’ प्रहरीका एक अनुसन्धान अधिकृतले अनलाइनखबरसँग भने, ‘सरकारी वकिलको कार्यालयले प्रतिवेदन अध्ययन गरेर १/२ दिनभित्रै अभियोजन अदालतमा लैजाने छ ।’ सहकारी ठगीमा पक्राउ परेका व्यक्तिलाई २५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न पाइने व्यवस्था छ । यसैगरी संगठित अपराधमा ६० दिन र सम्पत्ति शुद्धीकरण निवारणसम्बन्धी ऐनमा ९० दिन हिरासतमा राखेर अनुसन्धान गर्न पाइने व्यवस्था छ । अबको ४ दिनभित्र अदालतमा मुद्दा पेश गरिसक्नु पर्ने भएकाले अझै केही दिनको म्याद थप गर्ने तयारी भएको सरकारी वकिलको कार्यालय स्रोतको भनाइ छ । सहकारी ठगी प्रकरणमा गत कात्तिक २ गते काठमाडौंमा पक्राउ गरी पोखरा ल्याइएका रविलाई सम्पत्ति शुद्धीकरण र संगठित अपराधको कसुरमा कारबाही गर्न प्रहरीले सिफारिस गरेको छ ।