पत्रकार महासंघको नयाँ नेतृत्वका लागि निर्वाचन सम्पन्न

शुक्रबार, मंसिर २८, २०८१

काठमाडौं । नेपाल पत्रकार महासंघको निर्वाचन सम्पन्न भएको छ । सदस्यता विवादका कारण  पटक पटक स्थगित हुँदै आएको पत्रकार महासंघको आज निर्वाचन भएको हो ।  आगामी तीन वर्षको लागि निर्मला शर्मा, रमेश बिष्ट, देवीप्रसाद सापकोटा मुख्य प्रतिस्पर्धीको रूपमा मैदानमा उत्रिएका थिए ।   प्रेस चौतारी र नेपाल प्रेस युनियनको संयुक्त प्यानलबाट शर्माले अध्यक्षमा उम्मेदवारी दिएकी हुन भने बिष्ट प्रेस सेन्टर, समाजवादी प्रेस संगठनलगायत समूहबाट उम्मेदवारी दिएका हुन् । सापकोटा भने स्वतन्त्र उम्मेदवारको रूपमा प्रतिस्पर्धामा उत्रेका हुन् ।  यसैगरी, बरिष्ठ उपाध्यक्षका लागि युनियन र चौतारीबाट दिपक आचार्य तथा सेन्टर र समाजवादी प्रेसवाट रोशन पुरी मैदानमा उत्रिएका थिए ।   महिला उपाध्यक्षमा नीत पण्डित र गंगा बराल पौडल मैदानमा थिए भने समावेशी उपाध्यक्षमा उमेशचन्द्र बागचन्द, मोहन सिंह र सुवास साह बीच प्रतिस्पर्धा भएको छ ।  उता, महासचिवमा चौतारी र युनियनबाट रामप्रसाद दाहाल, सेन्टर र समाजवादीबाट लेखनाथ न्यौपाने र स्वतन्त्र उम्मेदवारको रूपमा जन्मदेव जैसी मैदानमा उत्रिएका थिए ।   यसपटक महासंघमा चौतारी र युनियन तथा सेन्टर र समाजवादी संगठनका उम्मेदवार बीचमा प्रतिस्पर्धा हुने ठानिएको छ ।
 

प्रकाशित मिति: शुक्रबार, मंसिर २८, २०८१  १८:२०
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार