सोसल मिडिया
Contact Us
युनिकोड
काठमाडौँ । कीर्तिपुर नगरपालिकाको मेयरमा कांग्रेसका कृष्णमान डंगोल विजयी भएका छन् । आइतबार भएको स्थानीय तहको उपनिर्वाचनमा कांग्रेस उम्मेदवार डंगोलले ५ हजार ३ सय ३४ मत ल्याई विजयी भएका हुन् । उनी ७ सय ७९ मतान्तरले विजयी भएका छन् । डंगोलका निकटतम् प्रतिस्पर्धी माओवादीका शिवशरण महर्जनले ४ हजार ५ सय ५५ मत ल्याए । त्यस्तै नेकपा एमालेका उम्मेदवार सुरेन्द्र मानन्धरले ४ हजार ३ सय ३७ मत ल्याए । २०७९ को स्थानीय तह निर्वाचनमा कांग्रेसबाट निर्वाचित मेयर राजकुमार नकर्मीको मृगौलासम्बन्धी रोगबाट गत साउनमा निधन भएपछि कीर्तिपुरमा उपचुनाव भएको हो । २०५४ सालमा नगरपालिका बनेको कीर्तिपुरमा पहिलो पटक कांग्रेसका नकर्मी मेयरमा निर्वाचित भएका थिए । कीर्तिपुरको मेयर तथा उपमेयर मात्रै नभएर १० मध्ये ९ वडाध्यक्ष कांग्रेसका उम्मेदवारहरू विजयी भएका थिए । त्यस्तै आइतबार नै भएको उपनिर्वाचनमा कीर्तिपुर १ र कीर्तिपुर ४ मा कांग्रेसकै इच्छाकुमार महर्जन र राजेन्द्र बानियाँ विजयी भएका छन् ।