निजी क्षेत्रको बिमान चार्टर्ड गरेर प्रधानमन्त्री प्रस्थान चीन

सोमबार, मंसिर १७, २०८१

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली चार दिने औपचारिक भ्रमणका लागि सोमबार बिहान चीन प्रस्थान गरेका छन् । हिमालयन एयरलाइन्सको चार्टर्ड विमानबाट प्रस्थान गरेको प्रधानमन्त्री ओली नेतृत्वको प्रतिनिधिमण्डल सोमबार साँझ चीनको राजधानी बेइजिङ पुग्नेछ । सरकारी भ्रमण टोलीले राष्ट्रिय ध्वजाबाहक विमान चढेर सरकारी वायुसेवालाई प्रोत्साहन गर्नुपर्नेमा ओलीको भ्रमणले निजी क्षेत्रको विमान चार्टर्ड गरेको हो । भ्रमणले नेपाल-चीन सम्बन्धलाई थप गाढा बनाउने अपेक्षा गरिएको छ । भ्रमणका क्रममा उच्चस्तरीय भेटवार्ता, द्विपक्षीय समझदारी पत्रहरूमा हस्ताक्षर, र बहुपक्षीय सहकार्यका विषयमा छलफल हुने परराष्ट्र मन्त्रालयले जनाएको छ । भ्रमणका क्रममा नेपाल र चीनबीच "बेल्ट एण्ड रोड इनिसिएटिभ" (बिआरआई) अन्तर्गत सहकार्यलाई औपचारिक बनाउन समझदारीपत्रमा हस्ताक्षर गर्ने तयारी भएको छ । चीनसँग मस्यौदाका दुई वटा प्रस्ताव बनाइएको छ- एक हस्ताक्षरका लागि र अर्को थप छलफलका लागि ।

भ्रमणका क्रममा विभिन्न पूर्वाधार परियोजनाहरू अघि बढाउने सहमति हुने सम्भावना छ ।

काठमाडौँ रिङरोडको स्तरोन्नति ।
टोखा-छहरे सुरूङमार्ग निर्माण ।
जिलुङ-केरुङ-काठमाडौँ रेलमार्ग अध्ययन ।
खाँदबारी-किमाथांका सडकमा मितेरी पुल निर्माण ।

चीनले मदन भण्डारी विश्वविद्यालय निर्माणका लागि सहयोग गर्नेछ। साथै, नेपाली र चिनियाँ जनताबीच सांस्कृतिक आदानप्रदानलाई प्रोत्साहन गर्न भाषा विकासका कार्यक्रम अघि बढाइनेछ । चीनले २० मिलियन अमेरिकी डलर नगद अनुदान र ३०० मिलियन आरएमबी बराबरको आर्थिक तथा प्राविधिक सहायता उपलब्ध गराउने सहमति हुनेछ ।

प्रधानमन्त्री ओलीको निर्वाचन क्षेत्र झापा-५ मा स्पोर्ट्स कम्प्लेक्स ।
पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाको निर्वाचन क्षेत्र डडेलधुरामा सभाहल निर्माण ।

मंगलबार प्रधानमन्त्री ओलीले चिनियाँ राष्ट्रपति सी चिनफिङ, प्रधानमन्त्री ली छ्याङ र जनकंग्रेसका स्थायी कमिटी सदस्य झाओ लेजीसँग भेटवार्ता गर्नेछन् । बुधबार उनले पेकिङ विश्वविद्यालयमा सम्बोधन गर्ने कार्यक्रम छ । चीन भ्रमणको टोलीमा सरकारी टोलीमा ३९ जना र निजी क्षेत्रबाट ४८ जना रहेका छन् । 

प्रकाशित मिति: सोमबार, मंसिर १७, २०८१  १८:४४
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार