मनसुनजन्य विपद्मा परी १७ को मृत्यु

शनिबार, असार ५, २०७८

काठमाडौँ ।  मनसुनजन्य विपद्मा परेर पछिल्लो एक सातामा १७ जनाको मृत्यु भएको छ । अविरल वर्षापछि आएको बाढी, पहिरो र डुबानमा परी जेठ ३० यता १०  पुरुष, ४ महिला, २ बालक र १ बालिकाको ज्यान गएको प्रहरी प्रधान कार्यालयले जनाएको छ । मृत्यु हुनेमा सिन्धुपाल्चोकका ३, डोटीका ३, सप्तरी, काभ्रे, गोरखा, जुम्ला, अर्घाखाँची, पाल्पा, कास्की, कालिकोट, बाजुरा, बझाङ र प्युठानका १÷१ जना रहेका छन् ।   यस्तै बाढी, पहिरो र डुबानमा परी १७ जना घाइते भएका छन् । घाइतेमध्ये १० पुरुष, ४ महिला, १ बालक र २ बालिका रहेका छन् । बाढी, पहिरोमा परी अहिलेसम्म २२ बेपत्ता भएका छन् । तीमध्ये १५ पुरुष, ५ महिला र २ बालक छन् । उनीहरूमध्ये सिन्धुपाल्चोकका मात्रै २० र बाजुरामा १ र रुपन्देहीमा १ जना छन् । वेपत्ताको खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ । बाढी तथा पहिरोमा परेका सिन्धुपाल्चोकमा ९४ सल्यानमा ८, दाङका ४ र कञ्चनपुरका ३ गरी १०९ जनाको उद्दार गरिएको छ । उक्त घटनाबाट प्रभावित स्थानमा भएको क्षति न्यूनीकरण र उद्दारमा सम्बन्धित प्रहरी कार्यालयबाट प्रहरी कर्मचारी उद्धारमा सक्रिय रूपमा संलग्न छन् । बाढी पहिरोको जोखिममा रहेका विभिन्न जिल्लाका विभिन्न घर परिवारलाई सुरक्षित स्थानमा राख्ने, पहिरोमा पुरिएका धनमाल निकालेर सुरक्षा गर्ने, अवरोध सडक हटाउने काम जारी रहेको  छ । गएको वैशाख यता भने विपद्जन्य घटनामा ७१ जनाको मृत्यु भएको छ भने २४ जना वेपत्ता भएका छन् । ती घटनाबाट ४१ करोड बढीको क्षति भएको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ ।  

सभामुख सापकोटाद्वारा जोखिम बस्ती स्थानान्तरण गर्न माग
सभामुख अग्निप्रसाद सापकोटाले भौतिक पूर्वाधार तथा यातायात मन्त्री वसन्तकुमार नेम्बाङलाई तातोपानी कोदारी क्षेत्रमा बाढी कटानबाट भइरहेको क्षति न्युनिकरण एवम् जोखिममा परेका स्थानीबासीको सुरक्षित स्थानान्तरण गर्न ध्यानाकर्षण गराएका छन् । शुक्रबार रातिको अविरल वर्षात्ले भोटेकेशी गाउँपालिकास्थित सो क्षेत्रको अरनिको राजमार्ग र लिपिङ पुलमा क्षति पु¥याएको थियो । उहाँले टेलिफोन मार्फत् जोखिममा परेका स्थानीबासीको उद्धार, सुरक्षित बसोबास एवम् बन्द सडक तत्काल सञ्चालनमा ल्याउन मन्त्री नेम्बाङको ध्यानाकर्षण गराएका थिए ।
यसपछि आज नै सडक विभागका महानिर्देशक अर्जुनजंग थापासहितको टोलीले कटान क्षेत्रको स्थलगत अवलोकन गरेको थियो । सो अवसरमा महानिर्देशक थापाले  केही दिनभित्रै  सडक सुचारु गरिने जानकारी दिनुभयो । भोटेकोशीको कटानले लिपिङ पुलमा क्षति पुगेको र अरनिको राजमार्ग अन्तर्गतका सडक ठाउँ ठाउँमा भासिएको छ ।

पहिरो र बाढीको अझै जोखिम रहेको भन्दै सतर्कता अपनाउन आग्रह
हेलम्बु गाउँपालिकाले अझै पहिरो र बाढीको जोखिम  रहेको जनाएको छ । आज एक सूचना जारी गर्दै सो गाउँपालिकाले यही असार १ गते साँझ मेलम्ची खोलामा आकष्मिक बाढी आउनुको कारण  वडा नं १ मा अवस्थित सेमेसिदाङ हिमाल मुनि रहेको भेमाथाङ्ग चौरमा पहिरो गएको जनाएको  छ । सूचनामा सो ठाउँको चौरको हाल २५ प्रतिशत भाग पहिरो गएको र बाँकी मध्ये के कति भागमा पहिरो जान सक्ने भन्ने हालसम्म एकीन नभएकोले थप बाढी जान सक्ने जनाउँदै उच्च साबधानि तथा सतर्कता अपनाउन गाउँपालिकाले आग्रह गरेको छ ।

प्रकाशित मिति: शनिबार, असार ५, २०७८  २०:१५
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार