आधा घण्टाका लागि ओली–सी वार्ता तय

सोमबार, मंसिर १७, २०८१

प्रधानमन्त्री केपी ओली र चिनियाँ उच्च नेतृत्वबिच मंगलबार बेइजिङमा औपचारिक तथा शिष्टाचार वार्ता हुँदै छ। प्रधानमन्त्री ओली र चीनका राष्ट्रपति सी जिनपिङबिच जम्मा आधा घण्टा भेटवार्ता तय भएको छ। चिनियाँ कार्यकारी प्रमुखसँग मंगलबार चिनियाँ समयअनुसार अपराह्न ४ देखि ४ः३० बजेसम्म भेटवार्ता तय भएको परराष्ट्र मन्त्रालयले तयार गरेको कार्यतालिकामा उल्लेख छ। त्यसअघि प्रधानमन्त्री ओली र चिनियाँ प्रधानमन्त्री ली छ्याङबिच औपचारिक वार्ता र द्विपक्षीय समझदारीमा हस्ताक्षर भइसक्नेछ। मंगलबारै ओलीले  चिनियाँ जनकंग्रेसका अध्यक्ष झाओ लेजीसँग भेटवार्ता गर्ने कार्यक्रम छ । प्रधानमन्त्री ओलीको सम्मानमा चिनियाँ प्रधानमन्त्रीले दिवाभोज आयोजना गर्नेछन् । चिनियाँ जनमुक्ति सेनाको गार्ड अफ अनरसहित प्रधानमन्त्री ओलीलाई चिनियाँ प्रधानमन्त्रीले ग्रेट हल अफ दी पिपुलमा स्वागत गर्नेछन्। जानकारहरूका अनुसार कार्यकारी राष्ट्रपति सीसँग आधा घण्टा शिष्टाचार वार्तामा ठोस विषयमा छलफल हुन नसक्ने र शिष्टाचारमा सीमित हुनेछ। ओली बुधबार नेपाली राजदूतावासद्वारा आयोजना हुने स्वागत समारोहमा सहभागी हुने कार्यक्रम छ । प्रधानमन्त्री ओलीले नेपाली तथा चिनियाँ उद्योगी–व्यवसायीद्वारा आयोजित सम्मेलनलाई त्यही दिन सम्बोधन गर्नेछन् । पेकिङ विश्वविद्यालयमा उनले नेपाल–चीन सम्बन्धबारे प्रवचन दिने कार्यक्रम छ । उनी बिहीबार स्वदेश फर्किनेछन् ।

प्रकाशित मिति: सोमबार, मंसिर १७, २०८१  १४:०१
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार