सोसल मिडिया
Contact Us
युनिकोड
मनाङ । चामे गाउँपालिका वडा नं ४ र ५ जोड्ने मस्र्याङदी नदीमा पहिरो खस्दा पूर्णरूपमा थुनिएको छ । वडा नं ४ र ५ जोड्ने मस्र्याङ्दी नदी थुनिँदा चामेबजार जाने ठूलो पुल जोखिममा रहेको प्रमुख जिल्ला अधिकारी विष्णु लामिछानेले जानकारी दिए । उनले भने, “अहिले यहाँ निरन्तर वर्षा भइरहेको छ, चामेबजार जाने ठूलो पुल नजीक पहिरो खस्दा मस्र्याङ्दी नदी थुनिएको छ, नदी थुनिँदा पानीको सतह झन्झन् बढ्दै गएको छ, जोखिम झनै बढेको छ ।” चामेको बजार क्षेत्र हुँदै झरेको घट्टेखोलाले ढुङ्गामाटो र काठदाउरा बगाएर ल्याएपछि नदी थुनिएको हो । माथिबाट झरेको पहिरो ढुङ्गामाटो र काठदाउराले मस्र्याङ्दी नदी थुनिँदा पानी जमेर ठूलो ड्याम बनेको छ । थुनिएको भागबाट मस्र्याङ्दी बगे पनि पानी निरन्तर परिरहेकाले बहाव बढेको छ । यसबाट चामेको पारिपट्टिको भाग डुबानमा छ । सिङ्गो चामेबजार जोखिममा परेको छ । बाढीले चामेबाट माथिल्लो मनाङतर्फ जाने एकमात्र बेलीब्रिजसमेत कटान गरेको छ । नदीमा बाढी बढ्दै गएकाले चामेबजार उच्च जोखिममा परेको छ । प्रजिअ लामिछानेका अनुसार नदीको बहाव बढ्दै गएको र यसले चामेबजार थप जोखिममा परेको छ । उनले नेपाली सेनामार्फत बम विस्फोट गराई मस्र्याङ्दी खुलाउने भनिएकामा पानी निरन्तर परिरहेकाले समस्या भएको बताए । सुरक्षाका सबै निकायसँग समन्वय गरी अहिले खुलाउने प्रयास भइरहेको उहाँले बताउनुभयो । लगातारको वर्षातले पानीको बहाव बढेकाले जोखिम उच्च रहेको प्रजिअ लामिछानेले बताए । त्यही कारण चामे क्षेत्रका स्थानीयवासीलाई सतर्क रहन भनिएको उनले जानकारी दिए ।
हुम्रे प्रहरी चौकीसहित पाँच घर पूर्णरूपमा विस्थापित ङिस्याङ गाउँपालिकामा रहेको हुम्रे प्रहरी चौकी बाढीपहिराको जोखिममा परेको छ । गत सोमबारदेखि परेको अविरल वर्षाका कारण पालिकाको हुम्रे प्रहरी चौकी जोखिममा परेको हो । चौकी जोखिममा परेपछि सबै सामान सुरक्षित स्थानमा सारिएको छ । चौकीका साथै पाँच घर पूर्णरूपमा विस्थापित भएका छन् । विस्थापितलाई सुरिक्षत स्थानमा राखिएको गाउँपालिकाका जनस्वास्थ्य प्रमुख श्रीनारायण यादवले जानकारी दिनुभयो । जिल्लामा प्राकृतिक प्रकोप झनै बढ्दै गएपछि अब के गर्ने भन्ने विषयमा राष्ट्रिय विपद् व्यवस्थापन समितिको आकस्मिक बैठक बसिरहेको प्रमुख जिल्ला अधिकारी लामिछानेले बताए ।
नासो गाउँपालिकाका भौतिक संरचनामा ठूलो क्षति गत मङ्गलबार मस्र्याङ्दी नदीमा आएको बाढीले मनाङको नासो गाउँपालिकाको भौतिक संरचनामा ठूलो क्षति पु¥याएको छ । पालिकाको वडा नं २ बाहेक सबै वडाहरूमा बाढीले ठूलो क्षति पु¥याएको हो । नासो गाउँपालिकाका अध्यक्ष चन्द्र घलेका अनुसार १, ३, ४, ५, ६, ७ र ८ वडा पूर्णरूपमा बाढीपहिराबाट क्षति भएका छन् । नासो गाउँपालिका–३ धारापानीमा बाढीले पुल र भवनहरू बगाएको छ । गाउँपालिकाका अध्यक्ष घलेका अनुसार ताचै जाने बेलिब्रिज, थोंचे–तिल्चेतिर जाने झोलुङ्गे पुल, नासो गाउँपालिकाको कार्यालय, सीमा प्रहरी चौकी बगेका छन् । यस्तै, प्रभु बैंक र प्राइम कमर्सियल बैंकका भवन, वडा नं ५ को कार्यालय, थोंचे स्वास्थ्य चौकी, लघु जलविद्युत् आयोजनाका साथै धारापानीका पाँचवटा होटेल बगेका छन् । वडा नं १, ताल गाउँको बस्ती डुबानमा परेको छ । मस्र्याङ्दीमा उर्लिएको बाढीले भानु माविसहित ताल गाउँको बस्ती डुबानमा परेको नासो गाउँपालिकाका उपाध्यक्ष कमलमाया गुरुङले बताइन् । करीब ५६ घरधुरी रहेको उक्त गाउँका बासिन्दा पहरामुनि गएर बसेको र केही लमजुङ सीमा क्षेत्र म्यार्दीभिरतर्फ गएको उपाध्यक्ष गुरुङले बताउनुभयो । बाढीले विस्थापित धारापानीका स्थानीय बासिन्दा नजिकैको ओडार गाउँमा गएर बसेका छन् । यहाँ अहिले बिजुली र सञ्चार क्षेत्र अवरुद्ध छ भने खाद्यान्नको अभावसमेत भएको छ । गाउँपालिकामा बाढीपहिराले अहिलेसम्म के कति क्षति पु¥याएको छ भन्ने तथ्याङ्क सङ्कलन भइनसकेको अध्यक्ष घलेले बताए ।–रासस