सोसल मिडिया
Contact Us
युनिकोड
काठमाडौं । स्थानीय तहका रिक्त विभिन्न ४१ पदका लागि मतदान सुरु भएको छ । नगरपालिका प्रमुख एक, उपप्रमुख एक, गाउँपालिका अध्यक्ष दुई, उपाध्यक्ष चार र वडाध्यक्ष ३३ गरी ४१ पदका लागि उपनिर्वाचन हुन लागेको हो । उपनिर्वाचनमा विभिन्न २० राजनीतिक दल र स्वतन्त्र गरी तीन सय ७६ उम्मेदवार प्रतिस्पर्धामा छन् । मतदाता नामावलीमा नाम समावेश भएका मतदाताले मतदाता परिचयपत्र, नेपाली नागरिकताको प्रमाणपत्र, राष्ट्रिय परिचयपत्र, राहदानी, स्थायी लेखा नम्बर परिचयपत्र वा सवारी चालक अनुुमतिपत्रको सक्कल प्रमाणका आधारमा मतदान गर्न पाउनेछन् ।
मतदान केन्द्रमा के गर्न हुन्छ, के गर्नु हुदैँन
आज मतदान हुने ४१ पदको उपनिर्वाचनका लागि बिभिन्न कुरामा निषेध गरिएको छ । निर्वाचन आयोगका अनुसार राजनीतिक दल वा उम्मेदवारको प्रतिनिधिले निर्वाचन चिन्ह वा मत सङ्केत भएको पहिरन वा व्याज नलगाउन अनुरोध गरेको छ , यदी लगाएको भेटिएमा कारवाही गरिने उसको भनाइ छ । साथै, आयोगले मतदान केन्द्रमा कुनै राजनीतिक दल वा उम्मेदवारको पहिचान देखिने एकै किसिमको साङ्केतिक पोशाक र चीजवस्तु लगाउन, बोक्न वा देखाउन नहुने पनि प्रस्ट पारेको छ । आयोगले सबै राजनीतिक दल, उम्मेदवार प्रतिनिधि र मतदातालाई मतदानका दिन पालना गर्नुपर्ने आचरण सम्बन्धमा निर्देशन पालना गर्नु पर्ने पुनः स्मरण गराएको छ । आयोगकी सह सचिव एवम प्रवक्ता निता पोखरेलका अनुसार मतदाता तथा आयोगले अनुमति दिएका व्यक्ति वा अधिकारी बाहेक अन्य कुनै पनि व्यक्तिलाइ मतदान केन्द्रमा प्रवेश निषेध गरिएको छ । आयोगले मतदानको दिन आचारसंहिता विपरितका कार्य भए गरेको पाइएमा मतदान केन्द्रमा खटिएका कर्मचारी तथा सुरक्षाकर्मीले तत्काल कारवाही गर्न र मतदान केन्द्रको परिसर भित्र आचारसंहिता विपरित कुनै कार्य वा अन्य अवाञ्छित गतिविधी हुन नदिन सम्बन्धित सबै सरोकारवालालाई आग्रह गरेको छ ।