जाजरकोटको कुशे पाटनमा बेपत्ता सात जनाको सकुशल उद्धार

शुक्रबार, असार ४, २०७८

जाजरकोट । प्रहरीले जाजरकोटको कुशे पाटनमा बेपत्ता भएका गोठालाहरूको सकुशल उद्धार गरेको छ । हावाहुरीका कारण ४ दिनदेखि कुशे हिमालको जलजला पाटनमा हराइरहेका कुशे गाउँपालिका ८ र ९ का ७ जनालाई प्रहरीले उद्धार गरेको हो । बेपत्ताको खोजी गर्नको लागि प्रहरी निरीक्षक शिवकुमार क्षेत्रीसहित ७ जनाको प्रहरी टोली २ दिन पैदल हिँडेर जलजला पाटन पुगेको थियो । शुक्रबार बिहान मौसम खुलेपछि प्रहरी टोली जलजला पाटनमा पुगेर बेपत्तालाई फेला पारेको जाजरकोटका प्रहरी प्रमुख डीएसपी मधुकुमार थापाले बताए । गोठालाहरू पाटनमा रहेको रित्तो भेडीगोठमा अर्धचेत अवस्थामा भेटिएको डीएसपी थापाले बताए । चिसो र ४ दिनदेखि भोकै रहेका कारण उनीहरूको स्वास्थ्यमा समस्या देखिएकाले प्राथमिक उपचार सुरु गरिएको उनले बताए । भेडा, बाख्रा, गाईभैंसी पाटन छाड्न गएका उनीहरु ठूलो हावाहुरी पानीका कारण सम्पर्कविहीन भएका थिए ।
कुशे ८, औलरिजाका ३५ वर्षीय डिलबहादुर खड्का, २५ वर्षीय विक्रम खड्का, २८ वर्षीया चन्द्रा खड्का, १८ वर्षीय भविन्द्र खड्का, १२ वर्षीय मीमबहादुर खड्का, १० वर्षीया धनसरा खड्का र कुशे ९ का ४० वर्षीय कृष्ण रोकाय बेपत्ता भएका थिए । हावाहुरीका कारण पाटनमा दर्जनौं पशुचौपाया मरेको डीएसपी थापाले जानकारी दिए । मौसम प्रतिकुल भएकाले पाटन पुगेको प्रहरी टोलीले के कति क्षति भयो भन्नेचाहिँ यकिन गर्न नसकेको उनको भनाइ छ ।
पाटनमा हराएकाको हवाई उद्धारका लागि जिल्ला प्रशासन कार्यालय जाजरकोटले गृह मन्त्रालयलाई बिहीबार अनुरोध गरेको थियो । हेलिकप्टरद्वारा खोजी गर्न तयारी गरिरहेका बेला उनीहरूलाई पैदल नै गएको प्रहरी टोलीले उद्धार गरेको हो ।

निरन्तर हावाहुरी, पानीका कारण बेपत्ताको खोजी समस्या
भैँसी, गाई र बाख्रा लिएर चरिचरन क्षेत्र जलजला पाटनमा गएर बेपत्ता भएकाको खोजीमा हावा हुरीले समस्या पारेको छ । हावाहुरी, पानीसहित आएको बहुकाले उडाएर बेपत्ता भएका उनीहरूको खोजीका लागि प्रहरी टोली र स्थानीयवासी परिचालन गरिएको थियो ।
हावाहुरीले जलजला पाटनमा २२ गाई, १० भैँसी र ५० बाख्रा मरेको प्रहरीले बताएको छ । बुधबार बिहान मात्र घटनाका विषयमा जानकारी आएपछि प्रहरी र स्थानीयवासीलाई घटनास्थलतर्फ पठाएको थियो । घटनास्थल समुद्र सहतदेखि चार हजार ८०० मिटर उचाइमा छ ।
सदरमुकामदेखि बाहिर फोन सेवा अवरुद्ध
सदरमुकामदेखि बाहिर टेलिफोन सेवा अवरुद्ध भएको छ । सौर्य ऊर्जा प्रणालीले काम नगर्दा फोन सेवा अवरुद्ध भएको हो । सदरमुकामदेखि बाहिरका सबै टावर सौर्य उपकरणको भरमा सञ्चलन हुँदै आएका कारण लगातारको वर्षाले चार्ज नहुँदा टावर बन्द भएको नेपाल टेलिकम जाजरकोटले जनाएको छ । स्थानीय सडकसमेत अवरुद्ध भएको छ । जुनिचाँदे गाउँपालिकामा सबै सडक अवरुद्ध भएको गाउँपालिकाका कावाध्यक्ष शिवा आचार्यले जानकारी दिए ।

 

प्रकाशित मिति: शुक्रबार, असार ४, २०७८  १२:३९
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार