सोसल मिडिया
Contact Us
युनिकोड
लमजुङ । लमजुङमा रातभरि खोलामा फसेका सात जनाको उद्धार गरिएको छ । मिदिम खोलाको बाढी बढेपछि रातभरि खोलामा फसेका मध्यनेपाल नगरपालिका—७ रातामाताका सात जनालाई बुधबार दिउँसो डोजरको सहायताबाट उद्धार गरिएको हो । उद्धार गरिएकाहरूमा लक्ष्मी परियार, पुष्पा परियार, रतिमाया परियार, आइतबहादुर परियार, कृष्ण परियार, सन्दिप परियार र अर्जुन परियार रहेका छन् । मङ्गलबार दिउँसो खेत रोपाइँ गर्न गएका उनीहरू मिदिम खोलामा बाढी आएपछि आउन नसकेर रातभर खोलाको बीचमै रोकिएका थिए । नगरपालिका प्रमुख रमेशकुमार पाण्डेले भने, “खोलामा पानी घटेको छैन, खोलाको केही पानी अन्यत्र लगाएर डोजरमार्फत उद्धार ग¥यौँ ।” खोलाले सो क्षेत्रका खेतहरू धेरै बगाएको छ । नगरप्रमुख पाण्डेले नगरवासीलाई सुरक्षितसँग बस्न आग्रह गर्नभएको छ ।
सरकारी कार्यालय, पानी उद्योग बगायो मस्र्याङ्दी नदीमा आएको बाढीले लमजुङ मस्र्याङ्दी गाउँपालिका—८ भुलभुलेमा रहेको एक सरकारी कार्यालय, पानी उद्योग, एक रेष्टुरेण्ट बगाएको छ । आइतबारदेखि निरन्तर वर्षासँगै आएको बाढीले सव—डिभिजन वन कार्यालय, लेकबेँसी पानी उद्योग र हामखोला रेष्टुरेन्ट एण्ड लज बगाएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । जिल्ला प्रहरी कार्यालय लमजुङका प्रहरी नायब उपरीक्षक गङ्गाबहादुर थापाका अनुसार ती कार्यालय, उद्योग तथा रेष्टुरेण्टमा रहेका कागजात, विभिन्न सामग्री, तथा मेशिन बगाएको छ । त्यस्तै, जिल्लाको दोर्दी गाउँपालिका–६ ढोडेनीमा निर्माणाधीन ५४ मेगावाट क्षेमताको आयोजनामा दोर्दी खोलाको बाढीले विभिन्न सामग्री बगाउनुका साथै विभिन्न मेशिन पुरेको आयोजनाका लेखा अधिकृत रामबहादुर काफ्लेले बताए । आयोजनाको विद्युत् गृहमा बाढी छिरेर सिरुङभित्र रहेको सिमेन्टहरू, त्यहाँ रहेका विभिन्न मेशिन तथा सामग्रीहरू पुरेको छ भने सानो हेडबक्समा समेत केही क्षति पुगेको आयोजनाले जनाएको छ । प्रमु खोला र दोर्दी खोलाको बीचमा रहेको सो हेडबक्समा काम गर्ने कामदारहरू दिउँसो खाना खानका लागि क्याम्पमा आएकाले मानवीय क्षति हुन पाएन । पुल तथा बाटो नहुँदा त्यस साइटमा काम गर्ने २०० जना कामदार त्यही रोकिएको र उनीहरू सुरक्षितका साथ त्यहाँ रहेका ३÷४ वटा क्याम्पमा बसिरहेका छन् । आयोजनाको प्रमुख क्याम्पमा समेत आउने जाने बाटो भत्किएकाले त्यहाँ रहेका साढे दुई सय जना सोही स्थानमै रोकिरहेको आयोजनाले जनाएको छ । निर्माणको अन्तिम चरणमा पुगेको यस आयोजनाको सबै काम ठप्प भएको छ ।
बाढीले चार घर बगायो, सात घर जोखिममा गोरखाको चुमनुव्री गाउँपालिका-२ स्थित सल्लेरीमा बुढीगण्डकी नदीले ४ घर बगाएको छ । आइतबार रातिदेखि परेको अबिरल वर्षापछि नदीमा आएको बाढीले सल्लेरी गाउँमा पसेर घर बगाएको प्रहरीले जानकारी दिएको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक प्रकाश दाहालका अनुसार नदीले स्थानीयबासी सूर्यबहादुर गुरुङ, सुन्दर गुरुङ, थरपती गुरुङ र लक्ष्मण गुरुङको घर बगाएको छ । विस्थापित चारै परिवारलाई स्थानीय आमा समूहको भवनमा राखिएको छ । नदीमा आएको बाढीले सल्लेरी गाउँका थप सात घर उच्च जोखिममा परेको उहाँको भनाइ छ । त्यस्तै सल्लेरीमा रहेको नेपाली सेनाको निर्माण कार्यदलको बेस क्याम्पसमेत बाढीको उच्च जोखिममा परेको छ ।