राजमार्गमा पुल नहुँदा समस्या

बिहीबार, असार ३, २०७८

तम्घास । गुल्मीको मालिका गाउँपालिका–७ घमिरका एक दम्पत्तीलाई जेठ २८ गते कोरोना पुष्टि भयो । श्रीमानको अक्सिजन कम हुँदा अवस्था जटिल भयो । चारदिनसम्म स्थानीय स्वास्थ्य संस्थामै उपचार गराएका दम्पत्तीलाई स्वास्थ्यकर्मीको सल्लाहअनुसार पाँचौँ दिनमा मङ्गलबार तम्घास पठाउने तयारी भयो ।
घमिरबाट अर्जै हुँदै तम्घास जाने सडकमा पहिरो गएकाले तम्घास पुग्न सम्भव भएन । घमिरकै एम्बुलेन्स प्रयोग गरी सङ्क्रमित सिलादीसम्म झरे पनि घमिरबाट आएको खोला बढेका कारण एम्बुलेन्स तर्न सकेन । उनीँहरूलाई ल्याउन नेपाली सेनाको ट्रक तम्घासबाट सिलादीतर्फ गयो तर इस्माको गुर्बा खोलामा अर्को ट्रक अड्किएको कारण सेनाको ट्रक बिरामी भएको ठाउँसम्म पुग्न सकेन । बिरामी भने मङ्गलबार सिलादीमै बस्नु प¥यो ।
बुधबार बिहान बर्षा अलि कम भएपछि बिरामी बोकेर गुडेको एम्बलेन्स घमिर खोला तरेपनि रोदी खोलाको बीचमा फस्यो । स्थानीयवासी र सुरक्षाकर्मीको सहयोगमा एम्बलेन्सलाई खोलाबाहिर निकालियो । अहिले सङ्क्रमित बुल्मको एक होटलमा बसेका छन् भने गाउँपालिकाको अर्को पिक अप गाडी सङ्क्रमित भएको ठाउँसम्म जाँदै गरेको गाउँपालिकाका स्वास्थ्य संयोजक बसन्तराज भुसालले बताए । भुसालका अनुसार लगातार परेको वर्षाले खोलामा बाढी आएका कारण बिरामीलाई अस्पताल पु¥याउन सकिएको छैन । अहिले बिरामीको अवस्था झन गम्भीर हुँदै गएको छ । घमिरबाट आउने बिरामी मात्र होइन, अहिले जिल्लाका अधिकांश ठाउँको हालत यस्तै छ । तम्घासबाट सिमलटारीसम्म २३ किलोमिटर बाटो कालोपत्रे गरिए पनि यस सडकको बीच भागमा पर्ने खोलामा पुल नबन्दा यात्रु भने मर्कामा परेका छन् ।
राजमार्गमा इस्मा गाउँपालिकाको गुर्बामा गुर्बा खोला, इस्मामै रोदी खोला, चौरासी नजिककैको खोला, हुलाके खोला र घमिर खोला पर्दछन् । अहिलेसम्म कुनै पनि खोलामा पुल नहुँदा यातायात सञ्चालन हुन सकेको छैन । राजमार्गमा गुर्बा खोलामा कल्भट बनेपनि गत वर्ष ठूलो बाढी आउँदा कल्भर्ट थुनिएर वरपरका घर डुबेपछि स्थानीयवासीले कल्भर्ट नै भत्काइदिएकाले अहिले त्यहाँको आवाज–जावत बन्द छ । रोदी खोला, चौरासी नजिकैको खोला, हुलाके र घमिर खोलामा पुल छैनन् । राजमार्ग बनेपनि पुल नबन्दा विपत्मा राजमार्गको उपयोग हुन सकेको छैन । गुर्बादेखि नै पुल नबन्दा इस्माको हस्तीचौर, धुर्कोटको वस्तु, मदाने र मालिका गाउँपालिकाका वासिन्दा तम्घास आवत–जावत गर्न नसक्ने भएका छन् । मदन भण्डारी राजमार्ग गुल्मीका प्रमुख शशांक मिश्रले राजमार्गमा पर्ने खोलामध्ये चार ठाउँमा पुलको डिपिआर भइरहेको जानकारी दिनुभयो । गुर्बाखोलामा पानीको सतह कम हुँदाबित्तिकै ह्यूमपाइप राखेर तत्काल यातायात सञ्चालन गर्ने तयारी भएको मिश्रले बताउनुभयो । प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले वर्षायाम बढेकाले अत्यावश्यक काम नपरी यात्रा नगर्न आग्रह गरिन् । तत्कालको लागि पुल र आवश्यक वैकल्पिक व्यवस्था गर्न सम्बन्धित निकायलाई निर्देशन दिइएको पनि शर्माले बताइन् ।

बाढीले पक्की पुलमा क्षति

केही दिनको निरन्तरको वर्षात्का कारण बागलुङको मालढुङ्गास्थित पक्की पुलमा ठूलो क्षति पु¥याएको छ ।  काठेखोलामाथि निर्माण गरिएको पक्की पुलमा बाढीले क्षति पु¥याएपछि बागलुङको दक्षिण भेगको जैमिनी नगरपालिका र बरेङ गाउँपालिकाको सडक सञ्जाल विच्छेद भएको छ । राष्ट्रिय गौरवको आयोजनाको रूपमा रहेको कालीगण्डकी करिडोरअन्तर्गत रहेको सो पुलमा बाढीले ठूलो क्षति पु¥याएको हो । मङ्गलबार राति काठेखोलामा आएको बाढीले पुलको छेउछाउको ग्याबिन बगाएपछि पुल उच्च जोखिममा परेको हो । तत्कालै मर्मत नगरे बाढीले पुल नै बगाउन सक्ने बागलुङ नगरपालिका—१ का वडा सदस्य सूर्य लामिछानेले बताए ।
उनका अनुसार पुलमा यात्रा गर्नै नमिल्ने गरी भत्किएको छ । पुल भत्किएपछि बागलुङ नगरपालिका वडा नम्बर १२, १३, १४, जैमिनी नगरपालिका र बरेङ गाउँपालिका नागरिकलाई बागलुङ बजार आउजाउमा समस्या परेको छ । जिल्ला विपद् व्यवस्थापन समितिका संयोजक तथा प्रमुख जिल्ला अधिकारीसहितको टोलीले पुलको स्थलगत निरीक्षण गरेको थियो । पुल तत्काल मर्मतका लागि सडक डिभिजन कार्यालयलाई निर्देशन दिइएको र थप क्षति हुनबाट जोगाइने प्रजिअ शिवकुमार कार्कीले बताए ।
 
सात परिवार विस्थापित
निरन्तरको वर्षातका कारण बागलुङमा दुई घर भत्किएका छन् भने सात घर परिवार विस्थापित भएका छन् । वर्षापछि जिल्लाका विभिन्न स्थानमा आएको पहिराले दुई घर पूर्णरूपमा क्षति भएको र सात घर पहिराको उच्च जोखिममा परी परिवारलाई सुरक्षित स्थानमा सारिएको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार बागलुङ नगरपालिका–७ पैरावारीमा घरमाथिबाट आएको पहिराले एक घर भत्काएको छ  भने एक घर उच्च जोखिममा पारेको छ । यस्तै नगरपालिका–४ स्थित नन्दलाल पौडेलको  घर भत्केको र अन्य दुई घर उच्च जोखिम परेपछि विस्थापित भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी इकवाल हवारीले जानकारी दिनुभयो । वडा नं १३ फर्सेडाडा बस्ने पार्वती पौडेलको घरमा पहिरो आई उच्च जोखिममा परेको छ । यस्तै बरेङ  गाउँपालिका–१ भ्युडाडा वस्ने विशाल विक र गलकोट नगरपालिका–४ चमुवास्थित  चन्द्रकला क्षेत्रीको घरको घर पनि जोखिममा रहेकाले विस्थापित भएका छन् ।

 

प्रकाशित मिति: बिहीबार, असार ३, २०७८  ०५:४५
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार