बाढी–पहिरोमा ६ को मृत्यु, २७ बेपत्ता

बुधबार, असार २, २०७८

काठमाडौं । बाढीपहिरोमा परी तीन दिनमा ६ जनाको ज्यान गएको छ । २७ जना बेपत्ता भएका छन् भने ११ जना घाइते भएका छन् । बाढीपहिरोले १ सय घर बगाएको छ भने ६५ घरमा क्षति पुगेको छ । गृह मन्त्रालय, राष्ट्रिय आपत्कालीन कार्यसञ्चालन केन्द्रका अनुसार सिन्धुपाल्चोक, गोरखा, मनाङ, प्युठान, पाल्पा, स्याङ्जा, लमजुङ, अर्घाखाँची, कास्की, जुम्ला, जाजरकोट, डोटी र बाजुरामा बाढी–पहिरोका घटना भएका हुन् । मंगलबार मेलम्ची खोलामा आएको बाढीबाट बेपत्ता भएकामध्ये दुईजनाको शव फेला परेको र १६ जना अझै बेपत्ता रहेको केन्द्रको तथ्यांक छ । उक्त बाढीमा सातजनाको शव फेला परेको खबर सञ्चारमाध्यममा आए पनि पुष्टि भइनसकेको गृहले उल्लेख गरेको छ । मेलम्चीको बाढीमा हालसम्म १६ घर, दुईवटा मोटरपुल र ६ वटा झोलुंगे पुल पूर्ण रूपमा क्षतिग्रस्त बनेका छन् । बाँकी विवरण आइनसकेको जानकारी दिइएको छ । बाढीले बाजुरामा एकजनाको ज्यान गएको छ भने अर्का एकजना अझै बेपत्ता छन् । त्यहाँ दुईवटा घर पूर्ण रूपमा क्षतिग्रस्त बनेका छन् । गोरखामा बाढीमा बगेर एकजना बेपत्ता भएका छन् भने चार घर बगाएको छ । मनाङमा बाढीले ५३ घर बगाएको छ भने २६ वटा घरमा क्षति पुगेको गृहले जनाएको छ । त्यहाँ एउटा सडक, बेलिब्रिज र सामुदायिक भवन तथा पाँचवटा झोलुंगे पुल र चारवटा सरकारी कार्यालयमा बाढीले पूर्ण रूपमा क्षति पु¥याएको छ । प्युठानमा बाढीमा परी एकजना बेपत्ता भएका छन् । पाल्पामा अविरल वर्षाका कारण एकजनाको ज्यान गएको र स्याङ्जामा पहिरोमा परी एकजना घाइते भएको तथ्यांक छ । लमजुङमा बाढीले १० वटा घर बगाएको छ भने ३९ वटा घरमा क्षति पु¥याएको छ । एकएकवटा मन्दिर र भवन पनि बगाएको छ । डोटीमा पहिरोमा परी एकजनाको ज्यान गएको छ, भने जुम्लामा दुईजना घाइते भएका छन् । जाजरकोटमा अविरल वर्षापछि बाढीमा परी सातजना बेपत्ता भएका छन् । अर्घाखाँचीमा बाढीले बगाउँदा एकजना बेपत्ता भएका छन् भने १२ घर पनि बगाएको छ । यसैगरी, कास्कीमा बाढीले एकजनाको ज्यान गएको छ भने तीन घर पूर्ण रूपमा क्षतिग्रस्त बनाएको गृहको तथ्यांक छ ।

मेलम्चीमा १६ जना बेपत्ता

अविरल वर्षाका कारण मेलम्ची नदीमा आएको बाढीका कारण अहिलेसम्मको विवरणमा १६ जना बेपत्ता छन् । जिल्ला प्रहरी कार्यालय, सिन्धुपाल्चोकका प्रवक्ता प्रहरी नायब उपरीक्षक प्रकाश सापकोटाका बेपत्ताको खोजी कार्य जारी छ ।  जिल्लामा व्यवस्थापन र उद्धारका लागि आज नेपाली सेनाको तिन वटा हेलिकोप्टर आएका छन् ।  विपत्तिबारे गृह मन्त्रालयबाट  खाद्यान्न, त्रिपाल, टेन्ट र स्लिपिङ ब्यागलगायतका सामग्रीको व्यवस्थापन भएको छ । थप उद्धार र राहतका लागि प्रधानमन्त्री केपी शर्मा ओलीसँग स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री शेरबहादुर तामाङले छलफल गरेका थिए ।

मेलम्ची खानेपानी आयोजनाका संरचना डुबानमा
वर्षाले मेलम्ची नदीमा बाढी आउँदा हेलम्बु गाउँपालिका–१ अम्बाथानस्थित मेलम्ची खानेपानी आयोजनामा कार्यरत निर्माण कम्पनीका कर्मचारी घाइते भएका छन् भने आयोजनाका संरचनाहरू डुबानमा परेका छन् । बाढीका कारणले अहिले आयोजनाको संरचनामा कति क्षति पुग्यो भन्ने प्रारम्भिक अनुगमनबाट विस्तृत जानकारी आउन नसकेको आयोजनाले जनाएको छ । त्यहाँका स्थायी संरचना पानीभित्रै भएपनि आफ्नै ठाउँमा भएको र अहिलेसम्म संरचनामा धेरै क्षति भएको नदेखिएको मेलम्ची खानेपानी विकास समितिका प्रवक्ता राजेन्द्रप्रसाद पन्तले बताए । हेलिकोप्टरबाट खिचेको फोटोमा संरचना नभत्केको पाइएको छ । नदी बढेकाले ‘हेडवर्कस्’ लगायत संरचना अहिले पानी मुनि रहेका छन् । आयोजनामा निर्माणस्थलमा कार्यरत केही बेपत्ता भएको र केही घाइते भएको जानकारी आएको प्रवक्ता पन्तले बताउनुभयो । निर्माण कम्पनीका कति कर्मचारी बेपत्ता भए वा कति घाइते भन्ने यकिन नभएकाले बुझ्न प्रयास भइरहेको आयोजनाले जनाएको छ । घाइतेहरूलाई उद्धार गरी उपचारका लागि धुलिखेल र काठमाडौँ पु¥याएको छ ।  
अत्याधिक वर्षाका कारण नदीको तह बढेको भएपनि त्यहाँ रहेका संरचनाको बाढी आउनुमा भूमिका नभएको आयोजनाले जनाएको छ । कतिपय स्थानीयबासीमा सुरुङ परीक्षण शुरु गरेकै दिनबाट बाढी गएकाले पनि आयोजनाको पानी मेलम्ची नदीमा खसालेको बुझाइ छ । प्रवक्ता पन्तले भने आयोजनाको मेलम्चीपट्टिको ढोका बन्द गरिएको र सुन्दरीजलबाट पानी खाली गरिएको जानकारी दिनुभयो । अधिक वर्षाले नदीमा तह बढेकाले हेलम्बु गाउँपालिका, मेलम्ची नगरपालिका र त्यस आसपासका पालिकामा मानवीय र भौतिक क्षति भएको छ ।  

आयोजनाका आठ सम्पर्कविहीन
मेलम्ची खानेपानी आयोजनामा कार्यरत आठ जना सम्पर्कविहीन भएका छन् । तीन चिनियाँ, तीन भारतीय र दुई नेपालीसहित आठ कामदार बेपत्ता भएको मेलम्ची खानेपानी विकास समितिले जनाएको छ । नेपाल प्रहरी, सशस्त्र प्रहरी, स्थानीयबासीको सहयोगमा उनीहरूको खोजी भइरहेको छ ।  निर्माणस्थलमा रहेका ७६ जनालाई हेलिकोप्टरमार्फत उद्धार गरी काठमाडौँ र धुलिखेल ल्याइएको आयोजनाले जनाएको छ । उद्धार भएका सबैको अवस्था अहिले सामान्य छ ।
आयोजनाको मुख्य सुरुङ, पानी प्रशोधन केन्द्र र मुख्य बाँधमा क्षति नपुगेको विवरण प्राप्त भएको आयोजनाले जनाएको छ । आयोजनाको क्याम्पहरू, उपकरणहरू, निर्माण सामग्री, पहुँच सडक र पुल बाढीले बगाएको छ ।  मङ्गलबार साँझ झण्डै सात बजे आयोजना क्षेत्रमा बाढी पसेको थियो । अम्बाथानस्थित ‘हेडवक्र्स’ भन्दा माथि परिरहेको अबिरल वर्षाको कारण बाढी आएको थियो ।

 

प्रकाशित मिति: बुधबार, असार २, २०७८  २२:१०
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार