सोसल मिडिया
Contact Us
युनिकोड
मकवानपुर । वागमती प्रदेश विपद् व्यवस्थापन तथा उद्दार निर्देशक समितिको आजको बैठकले प्रदेशको १३ वटै जिल्लामा बाढीपहिरोबाट प्रभावित परिवारको उद्दार, उपचार र राहत कोषको लागि १० करोड प्रदेशको आर्थिक मामिला तथा योजना मन्त्रालयमा यथाशिघ्र उपलब्ध गराइदिन माग गर्ने निर्णय गरेको छ । समितिका अध्यक्ष तथा मुख्यमन्त्री डोरमणि पौडेलको अध्यक्षतामा बसेको बैठकले हिजो राति प्रदेशको सिन्धुपाल्चोक जिल्लामा गएको बाढीबाट भएको धनजनको क्षतिप्रति दुःख प्रकट गर्दै प्रदेश सरकारकोतर्फबाट पीडित परिवारलाई तत्काल खाद्यान्न सामग्रीहरु जिल्ला प्रशासन कार्यालयमार्फत वितरण गर्न निर्देशनसहित रकम उपलब्ध गराउने निर्णय गरेको छ । यसैगरी सो बैठकले कोभिड अस्पताललाई गुणस्तरीय उपचार सेवा वृद्धि गर्न आर्थिक अनुदान उपलब्ध गराउने सिलसिलामा दोलखाको स्मृति कोभिड अस्पताललाई २० लाख, नुवाकोट कोभिड अस्पताललाई ३० लाख, भक्तपुरको कोभिड अस्पताललाई ३५ लाख र मनमोहन स्मृति कोभिड अस्पताल काठमाडौंलाई ५५ लाख उपलब्ध गराउने निर्णय गरेको छ । सोही बैठकले धादिङ, नुवाकोट, रुसुवा, सिन्धुपाल्चोक, दोलखा र रामेछाप जिल्लालाई बाढीपहिरोबाट पीडित परिवारलाई तत्काल उद्दार गर्ने कार्यलाई सहजीकरण गर्न विपद् व्यवस्थापनको सामाग्रीहरु जिल्ला प्रहरी कार्यालयलाई यथाशिध्र उपलब्ध गराउने निर्णय गरिएको समितिका सूचना अधिकारी सुरेन्द्र कार्कीले बताए । बैठकले प्रदेशको १३ वटै जिल्ला प्रशासनलाई तत्काल बाढीपहिरोबाट प्रभावितको उद्दार गर्ने कार्यको लागि सुरक्षा निकाय, जिल्ला समन्वय समिति र रेडक्रसहरुलाई सर्तक राखी अघि बढाउने निर्देशन दिएको पनि उल्लेख गरिएको छ ।
बाढी पीडितको उद्धार, राहतमा एकजुट हुन आग्रह नेकपा (एमाले) बाग्मती प्रदेश कमिटीका अध्यक्ष आनन्दप्रसाद पोखरेलले प्राकृतिक प्रकोपपीडित जनताको उद्धार, राहत तथा घाइतेको उपचारमा एकजुट हुन आग्रह गरेका छन् । अध्यक्ष पोखरेलले आज विज्ञप्ति जारी गरी प्राकृतिक विपद्बाट सिन्धुपाल्चोक जिल्लाको मेलम्ची, हेलम्बु र चौतारामा चपेटामा परेकाहरुको उद्धार, राहत र घाइतेको उपचारमा जुट्न आग्रह गरेका हुन् । मङ्गलबारको वर्षा र बाढीका कारण सिन्धुपाल्चोक जिल्लाको हेलम्बु मेलम्ची क्षेत्रका, मेलम्ची बजार, लिम्बु, कुईल, चनौटेलगायत क्षेत्रमा करिब ५० जना भन्दा बढी बेपत्ता भएका अवस्था छ । सयौं घर, गोठ, पशु चौपाय, जमिनलगायत भौतिक पूर्वाधारमा खानेपानी, सडक, मोटर तथा झोलुंगे पुल, विद्युत प्रशारण लाइन, सार्वजनिक भवन, निजी सम्पतिको क्षति भएको छ ।