सोसल मिडिया
Contact Us
युनिकोड
काठमाडौं । बूढानीलकण्ठ नगरपालिकाले एक हजार ४०९ जनालाई कोरोना भाइरसविरुद्धको चाइनिज भेरोसेल खोपको पहिलो मात्रा उपलब्ध गराएको छ । नगरपालिका क्षेत्रका ६०–६४ वर्ष उमेर समूहका ७१८ महिला र ६९१ पुरुषलाई मंगलबार कोरोना भाइरसविरुद्धको खोप दिइएको नगरपालिकाका प्रवक्ता नवराज भट्टराईले जानकारी दिए । वडा नं २ स्थित गणेश माध्यमिक विद्यालय, वडा नं ९ स्थित नेशनल आइडियल बोर्डिङ स्कूल मण्डिखाटार र वडा नं १० कपनस्थित बालउद्धार माध्यमिक विद्यालयलाई नगरपालिकाले खोप केन्द्र तोकेको छ । खोप बुधबार र बिहीबार पनि लगाइने कार्यक्रम छ । यसअघि नगरपालिकाका दुई हजार ९०७ महिला र दुई हजार ६१३ पुरुष गरी कुल पाँच हजार ५२० जनालाई कोभिशिल्डको पहिलो मात्रा उपलब्ध गराइएको थियो । भारतले कोभिशिल्डको निर्यात बन्द गरेपछि दोस्रो मात्रा दिनेबारे अन्योल छ । नगरपालिकाको जनस्वास्थ्य महाशाखाका अनुसार अहिलेसम्म यहाँका दुई हजार २८४ जनामा कोरोना पुष्टि भइसकेको छ । ामज मात्रै कोरोनाका ६३ नयाँ केस भेटिएका छन् । यद्यपि संक्रमितमध्ये एक हजार ८३७ जनाले स्वास्थ्यलाभ गरिसकेका छन् । अब नगरपालिकामा सक्रिय संक्रमितको संख्या ४२८ छ । तीमध्ये ३९० जना होम आइसोलेशन र ३८ जना विभिन्न अस्पतालमा उपचाररत रहेको नगरपालिकाको नियमित बुलेटिनमा उल्लेख छ । कोरोनाबाट नगरपालिकामा हालसम्म १९ जनाको मृत्यु भइसकेको वडा नं १० का वडाध्यक्ष भट्टराईले जानकारी दिनुभयो । नगरपालिकाको जनस्वास्थ्य महाशाखाका अनुसार ज्यान गुमाउनेमा आठ महिला र ११ पुरुष छन् ।
गोकर्णेश्वरका दुई केन्द्रमा भेरोसील खोप गोकर्णेश्वर नगरपालिकाका दुई केन्द्रमा भेरोसील खोप ६० देखि ६४ वर्षसम्मका वृद्धलाई दिन शुरु गरिएको छ । नगरपालिकाको वडा नं.–४ स्थित सहयोगी माध्यमिक विद्यालय र वडा नं.–६ स्थित चामुण्डा माध्यमिक विद्यालय परिसरमा ६० देखि ६४ वर्षसम्मकालाई खोप लगाउन शुरु गरिएको स्वास्थ्य शाखा प्रमुख हरिप्रसाद उपाध्यायले जानकारी दिए । नगरपालिकामा हालसम्म पाँच हजार ४९० जना कोरोना सङ्क्रमित भएका छन् । नयाँ भेरियन्टसहितको दोस्रो लहरको कोरोना फैलिएपछि तीन हजार १४२ जना सङ्क्रमित भइसकेका छन् । गत वर्ष पहिलो चरणको कोरोनाले दुई हजार ३४८ जना सङ्क्रमित भएका थिए । दोस्रो लहरले सङ्क्रमितभएकामध्ये दुई हजार २६९ जना घर फर्केका छन् । ८२८ जना अहिले पनि सक्रिय सङ्क्रमित छन् । दोस्रो लहरको कोरोनाले नगरपालिकाका ४५ जना नगरवासीको निधन भएको स्वास्थ्य शाखाले जनाएको छ । गत वर्ष पहिलो चरणको कोरोनाले भने २८ जनाको निधन भएको थियो । कोरोनाबाट ७३ नगरवासीको निधन भएको छ । हालसम्म एण्टिजेन परीक्षण दुई हजार २० र पिसीआर विधिबाट चार ७०३ को परीक्षण गरिएको स्वास्थ्य शाखाले जनाएको छ । नगर क्षेत्रमा कोरोनाको लक्षण देखिएकालाई गोकर्ण प्राथमिक अस्पतालमा सोमबार र बिहीबार स्वाब सङ्कलन गरी परीक्षणका लागि टेकु अस्पताल पठाउने गरिएको छ । यसैगरी नारायणटारस्थित शङ्खरापुर अस्पतालमा बुधबार पिसीआर परीक्षणका लागि स्वाब सङ्कलन गर्ने गरिएको छ । अत्यावश्यक भई परीक्षण गर्नुपरेमा भने एण्टिजेन परीक्षण गर्ने गरिएको नगरपालिकाले जनाएको छ । चीन सरकारबाट अनुदानमा प्राप्त भेरोसील खोप आजदेखि देशभर ६० देखि ६४ वर्षसम्मका नागरिकलाई लगाइँदै छ । हिमाली क्षेत्रमा भने १८ वर्षभन्दा माथिका सबैलाई खोप लगाउन लागिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।