प्रदेश १ र २ का बजेटको अधिवेशन शुरू

मंगलबार, जेठ २५, २०७८

जनकपुरधाम, २४ जेठ (रासस) ः प्रदेश  नं. २ को बजेट अधिवेशनका रूपमा सातौं अधिवेशन आजदेखि शुरू भएको छ । सभामुख सरोजकुमारको अध्यक्षतामा भएको बैठकको प्रारम्भमा नेपाली कांगे्रस संसदीय दलका नेता रामसरोज यादव, एमाले संसदीय दलका नेता शत्रुधन महतो ,जनता समाजवादी पार्टीका संसदीय दलका उप नेता राअशीष यादव, माओवादी केन्द्रका  संसदीय दलका नेता भरत साह  र प्रदेशसभा सदस्य सावित्री साहले शुभकामना व्यक्त गर्दे सङ्घीयता र लोकतान्त्रिक पद्धतिको रक्षा, कोरोना सङ्क्रमणको अवस्था, केन्द्रीय सरकारको विभेदकारी नीति सन्दर्भमा चर्चा गरेका थिए । बैठकमा आर्थिक मामिला तथा योजना मन्त्री विजयकुमार यादवले विनियोजन विधेयक २०७८ मा समावेश हुने बजेट तथा कार्यक्रमको सिद्धान्त, उद्देश्य र प्राथमिकता, नीति छलफलका लागि प्रस्तुत गरे । 
विनियोजन विधेयकमा कोरोना महामारीको नियन्त्रण गर्दे प्रदेशको आर्थिक गतिविधिलाई चलायमान बनाउन आर्थिक वर्ष २०७८÷७९ को विनियोजन विधेयकको सिद्धान्त, प्राथमिकता र नीति समावेश गरिएको छ । विधेयकमा कोरोना महामारी नियन्त्रणका लागि गरिएको बन्दाबन्दी र निषेधाज्ञाले अर्थ व्यवस्थामा गम्भीर असर परी राजस्व सङ्कलनमा सङ्कुचन आएको उल्लेख छ । यस विषम परिस्थितिले अर्थतन्त्रमा परेको प्रभावलाई न्यूनीकरण गर्दै आर्थिक गतिविधि गतिशील बनाउनुपर्नेमा जोड दिइएको छ ।

प्रदेश १ को बजेट अधिवेशन शुरु
प्रदेश नं १ को आठौँ तथा बजेट अधिवेशन सोमबारबाट शुरु भएको छ । बैठकमा आर्थिक कार्यविधि ऐन, २०७४ को दोस्रो संशोधन सम्बन्धी अध्यादेश सभामा पेश भएको छ । सो अध्यादेश आर्थिक मामिला तथा योजना मन्त्री टङ्क आङबुहाङ(लिम्बू)ले पेश गरेका हुन् । यसैगरी, प्रदेशसभा नियमावली, २०७४ को उपनियम निलम्बन सम्बन्धी प्रस्ताव बहुअतले पारित भएको छ । सो प्रस्ताव प्रदेशसभा सदस्य विमलकुमार कार्कीले पेश गरेका थिए ।  बैठकको प्रारम्भमा प्रदेश प्रमुख सोमनाथ अधिकारी ‘प्यासी’बाट प्राप्त प्रदेश सभाको आठौँ तथा बजेट अधिवेशन आह्वान सम्बन्धी पत्र सभामुख प्रदीपकुमार भण्डारीले सदनमा पढेर सुनाएको थिए ।
सभामा प्रदेश नं १ का मुख्यमन्त्री एवं नेकपा(एमाले) संसदीय दलका नेता शेरधन राईले कोभिड–१९ को दोस्रो लहरबाट आमनागरिकलाई जोगाउन सरकार गम्भीर रहेको बताएका थिए । कोभिड–१९को पहिलो र दोस्रो भेरियन्टका कारण जनजीवन, अर्थतन्त्र र उद्योग व्यापार सबै क्षेत्रमा गम्भीर असर परेको जानकारी दिँदै मुख्यमन्त्री राईले कोभिडबाट हामीले धेरै पाठ सिक्यौँ र यसैको माध्यमबाट नयाँ आधार खडा गर्ने कुरामा जोड दिए । उनले सरकारले सदन छल्न नचाहेको प्रष्ट पार्दै छोटो समयममा नै बजेटको पूर्व छलफल सही ढङ्गले हुने धारणा राखे । उनले पहिलो चरणमा प्रदेशमा एक लाख ४५ हजार ४०० डोज खोप आएको र दोस्रो चरणमा ५२ हजार नागरिकले खोप लगाई सकेको बताउँदै खोप लगाउने कुरामा कतै पनि अनियमितता नभएको प्रष्ट पारे । 
उनले कोभिड उपचारमा कोशी अस्पताल, मेची अस्पताल भद्रपुर र कोभिड–१९ अस्पताल विराटनगरले राम्रो काम गरिरहेको जानकारी दिँदै अब आउने बजेट यथार्थपरक आउने कुरामा जोड दिए । उनले प्रदेशको नामकराण सरकारको कारणले नभई राजनीतिक दलकै कारण सभामा पेश हुन नसकेको भन्दै अब नामकरणको प्रस्ताव सदनमा छिट्टै पेश हुने धारणा राखे । 
नेपाली कांग्रेस संसदीय दलका नेता राजीव कोइरालाले चालु आर्थिक वर्षका लागि रातो किताबमा उल्लेखित योजनाका बजेट कहाँ हरायो भन्ने प्रश्न गर्दै सरकारबाट आर्थिक अपराधको काम भएको दाबी गरे । उनले चुरे दोहन गरेर बजेट घाटा कम हुन्छ भत्रु गलत हो भन्दै सरकारले ल्याउने  आगामी बजेटको बृहत छलफल गर्नुपर्नेमा जोड दिए । 
नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रका संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोले सरकारले बजेटको सिद्धान्त र प्राथमिकतामा छलफल नगरेकोमा आपति जनाए । उनले कोभिड–१९ को दोस्रो लहरमा सरकार नदेखिएको उल्लेख गर्दै सरकारले जनतालाई राहत दिनु पर्ने कुरामा जोड दिए । जनता समाजवादी पार्टीका संसदीय दलका नेता जयराम यादवले जनताले कोभिडबाट बच्न खोप नपाएको, जनतामा खाद्यात्रको अभाव देखिएको जानकारी दिँदै कोरोनाबाट आमनागरिकलाई बचाउन सरकार गम्भीर हुन नसकेको आरोप लगाए । राष्ट्रिय प्रजातन्त्र पार्टी संसदीय दलका नेता इन्दिरा राई र सङ्घीय लोकतान्त्रिक राष्ट्रिय मञ्च संसदीय दलका नेता विष्णु तुम्बाहाम्फेले प्रदेश सरकार कमजोर भएमा भ्रष्टाचार मौलाउने भन्दै न्यायालयमा खुल्ला राजनीति गर्न नहुने धारणा राखेका थिए । उनीहरुले सरकारले कोभिडबाट आमनागरिकलाई जोगाउन योजनाबद्ध लाग्नुपर्ने कुरा जोड दिएका थिए ।

प्रकाशित मिति: मंगलबार, जेठ २५, २०७८  ०६:४०
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार