‘ननकोभिड’ बिरामीलाई टेलिमेडिसिन सेवा

आइतबार, जेठ १६, २०७८

झापा । कोभिड–१९ को महामारीका बेला अन्य जटिल रोगीले उपचार नपाउने अवस्था सिर्जना नहोस् भनेर यहाँका तीन पालिकामा विशेषज्ञ चिकित्सा सुविधासहित टेलिमेडिसिन सेवा शुरु भएको छ । ‘केएचडिसी नेपाल’ नामक गैरसरकारी संस्थाको आयोजना र स्थानीय पालिकाको सहकार्यमा मेचीनगर, बुद्धशान्ति र भद्रपुरमा ‘कोभिडसँगै ननकोभिडलाई सघाऔँ’ नारासहित यो सेवा शुरु गरिएको हो । मिर्गौला, मुटु, मधुमेह, उच्च रक्तचाप, डिप्रेसनलगायतका दीर्घरोग लागेकालाई टेलिमेडिसन पद्धतिमार्फत घर बसेरै धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका वरिष्ठ मुटु तथा मिर्गौला रोग विशेषज्ञ प्रा डा सञ्जीवकुमार शर्माबाट स्वास्थ्य परामर्श प्रदान गरिरहेको अभियानका प्रयोगशाला संयोजक दिलीप सुवेदीले जानकारी दिए । यो अभियान मेचीनगर नगरपालिकाका वडा नंं २, ६, १० र १४, बुद्धशान्ति गाउँपालिकाका वडा नं ४, ५, ६ र ७ तथा भद्रपुर नगरपालिकाको वडा नं ९ र १० मा सञ्चालन भइरहेको छ ।
“अहिले कोभिडका बिरामीको उपचारमा सम्पूर्णको ध्यान गइरहेको छ”, कोभिड सङ्क्रमितलाई स्वास्थ्य सामग्री निःशुल्क पु¥याउने कार्य गरिरहेको मेची अभियानका संयोजक विजय डालमियाले भने, “यस्तो विषम अवस्थामा ननकोभिड दीर्घरोगीलाई उपचारमा सकस भएको बुझेर शुरु गरिएको टेलिमेडिसिन सेवा अत्यन्त उपयोगी सावित भएको छ ।” अभियानमा आबद्ध स्वास्थ्यकर्मीले दीर्घरोगीको घरदैलोमा पुगी स्वास्थ्य अवस्था र औषधि सेवनका बारेमा ताजा जानकारी लिने गरेका छन् । त्यसपछि वडामा सञ्चालित स्वास्थ्य केन्द्रका स्वास्थ्यकर्मीले इन्टरनेट प्रविधिमार्फत धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कार्यरत विशेषज्ञ प्रा डा शर्मासँग भर्चुअल सम्पर्क गरेर थप स्वास्थ्य परीक्षण र औषधिको सिफारिस गराउँछन् । भर्चुअल माध्यमबाट विशेषज्ञ डाक्टरसँग कुराकानीसमेत गराइने भएको हुँदा बिरामीले आफ्नो स्वास्थ्य समस्या चिकित्सकसँग सुनाउन पाउँछन् । अभियानलाई गाउँकेन्द्रित बनाइएको छ । शहरको अस्पतालबाट टाढा रहेका ग्रामीण बस्तीलाई यो सेवाले लक्षित गरेको छ । अभियानका स्वास्थ्यकर्मी शनिबार एकैदिन ३० दीर्घरोगीको घरमा पुगेका र आवश्यक परामर्श प्रदान गरिएको अभियानका सचिवालय संयोजक पुष्पराज पौडेलले बताए । उनले गाउँमा केएचडिसी (मिर्गौला, उच्च रक्तचाप, मधुमेह र कार्डियो भास्कुलरका बिरामी उपचारका लागि अस्पताल जान नसकेर धेरै समस्यामा फसेको पाइएको जनाउँदै अभियानले त्यस्ता बिरामीलाई मद्दत गरिरहेको जानकारी दिए। अभियान लागू भएका पालिकाको वडास्थित स्वास्थ्य चौकीमा केएचडिसी नेपालले इन्टरनेट, कम्प्युटर र अन्य स्वास्थ्य सामग्रीले निःशुल्क प्रदान गरेर टेलिमेडिसिन सुविधाका लागि पूर्वाधार तयार पारेको छ ।–रासस

प्रकाशित मिति: आइतबार, जेठ १६, २०७८  १३:५९
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार