आक्रमणको विरोधमा स्वास्थ्यकर्मी आन्दोलित

शुक्रबार, जेठ १४, २०७८

राँझा । नेपालगञ्जस्थित भेरी अस्पतालमा बिहीबारराति चिकित्सकलगायतमाथि भएको आक्रमणको विरोधमा स्वास्थ्यकर्मी आन्दोलित भएका छन् ।  दाङका एक सङ्क्रमितको उपचारका क्रममा मृत्यु भएपछि आफन्तले काममा खटिएका चिकित्सक र स्वास्थ्यकर्मीमाथि आक्रमण गरेका थिए ।  उक्त घटनाले अस्पतालमा काम गर्ने सुरक्षा व्यवस्था नभएको भन्दै स्वास्थ्यकर्मी आन्दोलित भएका भेरी अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा प्रकाश थापाले जानकारी दिए ।  उनका अनुसार ज्यानै लिनेगरी भएको घटनामा दोषीले कडा कारबाही हुने कुराको आशङ्कामा स्वास्थ्यकर्मी सन्त्रासमा रहेका छन् । स्वास्थ्यकर्मी अस्पताल परिसरमा बाहिरै भेला भएर विरोध जनाएका छन् ।  नेपाल नर्सिङ संघ बाँकेकी अध्यक्ष लक्ष्मी केसी वलीले भेरी अस्पतालमा शृङ्खलाबद्ध रुपमा भएका आक्रमणका घटनाले काम गर्ने वातावरण नभएको जनाउँदै घटनामा संलग्न दोषीमाथि कारबाही गरी स्वास्थ्यकर्मीलाई शान्तिपूर्ण वातावरणमा निर्भिकताका साथ काम गर्ने वातावरण मिलाउन माग गरे । 
दाङको तुलसीपुर उपमहानगरपालिका–११ उरहरी निवासी ५४ वर्षीय डिल्लीबहादुर रावतको उपचारका क्रममा गएराति मृत्यु भएपछि उनका भाइ मानबहादुर रावत र छोरा भरत रावतलगायत चार÷पाँच जनाको समूहले अस्पतालका चिकित्सक तथा नर्समाथि आक्रमण गरेको थियो ।  मृतकका आफन्तको आक्रमणबाट चिकित्सक दीपक गुप्ता, चन्द्रप्रकाश साहु, समा अन्सारी तथा स्टाफ नर्स आश्विन गुरुङ, सदीक्षा गैरे र बन्दना श्रेष्ठलाई चोट लागेको अस्पतालका प्रमुख डा थापाले बताए ।
चिकित्सक र नर्समाथि आक्रमण गर्ने मृतकका आफन्त, भाइ मानबहादुर, छोरा भरत र लोकराज रावतलाई बिहीबार राति नै प्रहरीले नियन्त्रणमा लिएर जिल्ला प्रहरी कार्यालयमा राखेको प्रहरी उपरीक्षक ओमबहादुर रानाले जानकारी दिएका छन् । 
आक्रमण गर्नेलाई कारबाही गर्न स्वास्थ्य मन्त्रालयको आग्रह
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले भेरी अस्पतालका स्वास्थ्यकर्मीमाथि भएको आक्रमणका दोषीलाई कडा कारबाही गर्न सम्बन्धित निकायलाई निर्देशन दिएको छ । ड्युटीमा रहेका स्वास्थ्यकर्मीमाथि हमला गर्नेलाई कोभिड १९ संकट व्यवस्थापन अध्यादेश २०७८, मुलुकी फौजदारी ऐन २०७२ तथा  स्वास्थ्यकर्मी तथा स्वास्थ्य सुरक्षासम्बन्धी ऐन २०६६ अनुसार कारबाही गर्न अनुरोध गरेको हो । 
मन्त्रालयले आज विज्ञप्ति जारी गर्दै कोभिड महामारीमा पेशागत धर्म निभाएर संक्रमितको उपचारमा खटिएका स्वास्थ्यकर्मीमाथि भएको यस्तो सांघातिक हमला लज्जास्पद भएको भन्दै मन्त्रालयको गम्भीर ध्यानाकर्षण भएको पनि जनाएको छ । आगामी दिनमा स्वास्थ्यकर्मीलाई मनोबल उच्च राखेर काम गर्ने वातावरण बनाइदिन पनि मन्त्रालयले सबैमा अनुरोध गरेको छ ।

दुव्र्यवहारमा सङ्लग्नलाई कारबाही गर्न निर्देशन
उपप्रधानमन्त्री ईश्वर पोखरेलले बाँकेका प्रमुख जिल्ला अधिकारी शिवराम गेलाललाई टेलिफोन गरी नेपालगञ्जस्थित भेरी अस्पतालमा स्वास्थ्यकर्मीमाथि भएको दुव्र्यवहारको घटनामा सङ्लग्नलाई हदैसम्मको कारबाही गर्न निर्देशन दिएका छन् । महामारीको बेला जनताको जीवनरक्षामा खटिएका स्वास्थ्यकर्मीमाथि भएको आक्रमण ‘गम्भीर अपराध र अमानवीय’ भएको बताउँदै उपप्रधानमन्त्रीले स्वास्थ्यकर्मीको सुरक्षामा विशेष ध्यान दिन निर्देशन दिएका छन्् । घटनाको सम्बन्धमा छानबिन समिति गठन भएको छ भने ३ जना पक्राउ परिसकेका छन् ।
 

प्रकाशित मिति: शुक्रबार, जेठ १४, २०७८  १६:४८
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार