खोप किन्न तनहुँका दुई पालिकाले मागे स्वास्थ्य मन्त्रालयसँग अनुमति

शुक्रबार, जेठ १४, २०७८

दमौली । सरकारले अनुमति दिए तनहुँका दुई पालिकाले कोभिडविरुद्धको खोप खरिद गर्ने भएका छन् । म्याग्दे गाउँपालिका र व्यास नगरपालिकाले कोरोना महामारीविरुद्ध आफैँ खोप खरिद गर्ने भन्दै अनुमति दिन स्वास्थ्य तथा जनसंख्या मन्त्रालयसँग माग गरेको हो । सरकारले खोप उपलब्ध गराउन समय लागेपछि आफैँले खरिद गर्ने भन्दै गाउँपालिकाले मन्त्रालयसँग अनुमति माग गरेको हो । गाउँपालिका अध्यक्ष मायादेवी राना र उपाध्यक्ष बालकृष्ण घिमिरेले मन्त्रालयलाई पत्र लेख्दै कोभिड भ्याक्सिन बाहिरबाट खरिद गर्नका लागि अनुमति दिन आग्रह गरेका हुन् ।  गाउँपालिकाले आफ्नै आन्तरिक स्रोत तथा विकास बजेट कटौती गरेर भए पनि भ्याक्सिन खरिदमा लगानी गर्ने अध्यक्ष रानाले बताए । ‘स्थानीय नागरिकबाट उक्त भ्याक्सिनको अत्यधिक माग तथा अनुरोध भई आएकाले सरकारले यथाशीघ्र भ्याक्सिन उपलब्ध गराइदिओस्, नत्र भने नागरिकको जीवनरक्षाका लागि हामी आफैँ खरिद गर्छौँ, त्यसका लागि अनुमति दिओस्,’ रानाले भने ।  गाउँपालिकाले सबै नागरिकलाई कोभिडविरुद्धको खोप दिन चाहेको र त्यसका लागि सरकारले खरिद गरेको मूल्य र मापदण्डअनुसार खोप खरिद गर्न मन्त्रालयसँग अनुमति माग गरिएको प्रमुख प्रशासकीय अधिकृत नारायणप्रसाद अधिकारीले बताए । ‘सरकारले अनुमति दिए विकास बजेट कटौती गरेर भए पनि खोप खरिद गर्छाै’, अधिकारीले भने । 
सरकारसँग खोप किन्ने स्रोतको कमी भएको सुन्नमा आएकाले गाउँपालिकाले नागरिकको जीवनरक्षाका लागि विकास बजेट कटौती गरेर खोप किन्न चाहेको उपाध्यक्ष घिमिरेले बताए । विकास निर्माणभन्दा खोपलाई प्राथमिकता दिनुपर्ने उनको भनाइ छ । ‘जनता बचेनन भने विकासको के अर्थ रहन्छ, अहिले बाटो हिँड्नै पाएका छैनन् मान्छे, घरमा थुनिएर बस्नुपरेको छ’, उनले भने, ‘पहिलो त नागरिकको जीवनरक्षा नै ठूलो कुरा हो ।’  उपाध्यक्ष घिमिरेका अनुसार खोप खरिदका लागि हालसम्म कुनै कम्पनी वा व्यक्तिसँग सम्पर्क नभए पनि अन्य स्थानीय तहसँग मिलेर खरिद गर्न सकिनेछ । 
सदरमुकामस्थित व्यास नगरपालिकाले पनि सरकारले अनुमति दिए आफैँले खोप खरिद गर्ने बताएको छ । नगरवासीलाई आवश्यक पर्ने खोप सरकारकै तर्फबाट उपलब्ध गराउन माग गर्ने र उपलब्ध हुन नसकेको खण्डमा नगरपालिकाले नै खरिद गरी लगाउने व्यवस्था मिलाउन सरकारसँग अनुमति माग गरिएको नगरप्रमुख बैकुण्ठ न्यौपानेले बताए । 
‘कोभिड–१९ को सङ्क्रमण विभिन्न भेरिएन्टमा पटक–पटक महामारीको रूपमा फैलिएको र यसको नियन्त्रणको सबैभन्दा उत्तम विकल्पका रूपमा देखिएको कोभिडविरुद्धको खोप लगाउनका लागि सरकारले विभिन्न चरणमा अभियान सञ्चालन ग¥यो’, न्यौपानेले भने, ‘तथापि यो खोप आम नागरिकको पहुँचमा सहजरूपमा पुगिसकेको छैन ।’

स्थानीय तहलाई अक्सिजन कन्सन्ट्रेटर
तनहुँको आँबुखैरेनी गाउँपालिकालाई अक्सिजन कन्सन्ट्रेटर प्राप्त भएको छ । करुणा फाउण्डेशन काठमाडौँले गाउँपालिकालाई दुई थान कन्सन्ट्रेटर सहयोग गरेको हो । कोभिड महामारीका बेला संस्थाले गरेको सहयोगले सङ्क्रमितको उपचारमा सहयोग पुग्ने गाउँपालिकाका अध्यक्ष गिरबहादुर थापाले जानकारी दिए । प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद पोख्रेलले कन्सन्ट्रेटर सहयोग गरेकामा संस्थाप्रति आभार व्यक्त गरे ।  यसैगरी लायन्स क्लब अफ तनहुँ दमौलीले व्यास नगरपालिकालाई अक्सिजन कन्सन्ट्रेटर सहयोग गरेको छ । कोरोना रोकथाम र नियन्त्रणमा सहयोग पु¥याउन क्लबले नगरपालिकालाई एक थान अक्सिजन कन्सन्ट्रेटर सहयोग गरेको हो ।  क्लबका अध्यक्ष सरोज भण्डारीलगायत पदाधिकारीले नगरप्रमुख न्यौपानेलाई उक्त अक्सिजन कन्सन्ट्रेटर हस्तान्तरण गरेको छ । समाजसेवा नै मूल मन्त्र ठानेर सामाजिककार्यमा सक्रिय युवाहरुको संस्थाले नगरवासीको जीवनरक्षाका लागि उक्त सहयोग गरेको भण्डारीले बताए । ‘नगरपालिकाले सञ्चालन गरेको आइसोलेशनमा अक्सिजन अभाव हुन नदिन रु एक लाख २७ हजारको उपकरण सहयोग गरेका हौैं’, उनले भने । नगरप्रमुख न्यौपानेले संस्थाले विगतमा गरेको सामाजिक क्रियाकलापको उच्च मूल्याङ्कन गर्दै सामाजिक काममा आफूलाई सदैव क्रियाशील राख्न आग्रह गरे ।–रासस
 

प्रकाशित मिति: शुक्रबार, जेठ १४, २०७८  ०८:२१
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार