कोरोना भाइरस सङ्क्रमण पुष्टि हुनेभन्दा निको हुने धेरै, थप १०६ जनाको मृत्यु

बिहीबार, जेठ १३, २०७८

काठमाडौं । नेपालमा थप ६,९३९ जनामा कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएको छ । चौविस घण्टाको अवधिमा १०६ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।  विगत २४ घण्टामा झन्डै २१,००० जनाको पीसीआर र एन्टिजेन परीक्षण गर्दा उक्त संख्यामा सङ्क्रमित फेला परेको हो । अहिले सङ्क्रमण पुष्टि हुनेभन्दा सङ्क्रमण जित्ने मानिसको संख्या बढी देखिन थालेको छ । सो अवधिमा ७,२२६ जना सङ्क्रमणमुक्त भएका छन् । योसँगै नेपालमा कुल सङ्क्रमितको संख्या पाँच लाख ४२,००० नाघेको छ भने मृतकको संख्या ६,९५१ पुगेको छ । तीमध्ये झन्डै आठ हजार संस्थागत आइसोलेशनमा र बाँकी घरमै एकान्तवासमा छन् ।
मन्त्रालयले प्रकाशित गरेको तथ्याङ्कअनुसार अहिले १ हजार ६४५ जना बिरामी आईसीयूमा र ४५७ जना भेन्टिलेटरमा छन् । अहिले देशभरि भएका सक्रिय सङ्क्रमितमध्ये २८ हजार जना काठमाडौं उपत्यकाका तीन जिल्लामा छन् । काठमाडौं उपत्यकाभित्र नयाँ सङ्क्रमित फेला पर्ने क्रम केही दिनयता ओरालो लागेको छ । अहिले काठमाडौंमा १,७३८, भक्तपुरमा २६५ र ललितपुरमा ३६४ जनामा कोभिड पुष्टि भएको छ । 

दाङमा पनि निको हुने धेरै
दाङमा आज कोराना सङ्क्रमित सङ्ख्याभन्दा मुक्त हुनेको सङ्ख्या बढेको छ ।  पछिल्लो २४ घण्टामा दुई सय ३३ जनाले कोरोनालाई जितेका छन् । जिल्लामा थप ३८ जनामा सङ्क्रमण देखिएको आपतकालीन कार्य सञ्चालन केन्द्र दाङले जानकारी दिएको छ ।
सङ्क्रमण मुक्त हुनेमा घोराहीका एक सय ३०, तुलसीपुरका ७१, लमहीका १५, दंगिशरणका पाँच, राप्ती र शान्तिनगर चार, चार जना, बबईका तीन र बंगलाचुलीका एक जना रहेका छन् । वैशाख यता जिल्लामा अहिलेसम्म पाँच हजार चार सय ४३ जना सङ्क्रमणमुक्त भएका छन् । यस्तै आज थप ३८ जनामा कोरोना पुष्टि भएको छ । विभिन्न प्रयोगशालामा १०० जनाको परीक्षण गर्दा १७ महिला र २१ पुरुषमा  कोरोना पुष्टि भएको जिल्ला आपतकालिन कार्य संचालन केन्द्रले जनाएको छ । जिल्लामा अहिले एक हजार एक सय ३९ सक्रिय सङ्क्रमित रहेका छन् भने  नौ सय ९३ घरमा, एक सय  ३१ सामान्य र १५ जना आइसीयुमा रहेको जानकारी दिएको छ । यहाँ वैशाखदेखि यता कोरोना सङ्क्रमणबाट एक सय ६४ जनाको मृत्यु भएको केन्द्रले जनाएको छ ।
 

प्रकाशित मिति: बिहीबार, जेठ १३, २०७८  २२:४०
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार